गत सेप्टेम्बर महिनामा मात्र अस्ट्रेलियामा ६.९ प्रतिशत अर्थात् ९३७,४०० जना मानिसहरू बेरोजगार थिए।
त्यस्तै, आफ्नो क्षमता भन्दा कम दक्षता चाहिने पेसामा काम गर्न बाध्य भएकाहरूको सङ्ख्या ११.४ प्रतिशत पुगेको अस्ट्रेलियाली तथ्याङ्क विभागद्वारा (एबीएस) प्रकाशित रिपोर्टमा बताइएको छ।
यस अवस्थामा रहेका कैयौँ व्यक्तिहरू अहिले कामको खोजीमा या आफ्नो पेसा बदल्ने तरखरमा लागिरहेका छन्। आफू पहिलो पटक अस्ट्रेलिया आउँदाको अनुभव अझै राम्ररी याद छ राम गौतमलाई।
भुटानमा जन्मिएका ५४ वर्षीय गौतम सन् २०१० मा आफ्नी पत्नी र चार छोराछोरीको साथमा बसोबासका लागि अस्ट्रेलिया आएका थिए। त्यसभन्दा अघि २० वर्षसम्म नेपालका शरणार्थी शिविरहरूमा बिताएको कठिन समय सम्झँदै गौतमकी पत्नी रनमाया गौतम भन्छिन् -
प्लास्टिकको छानामा २० वर्षसम्म निकै दुख गरेर हामीले जिन्दगी बिताएका थियौँ।

अस्ट्रेलिया आए पछि भने बालबच्चा साना भएकाले र अङ्ग्रेजी भाषा राम्ररी नआएको कारण मुस्किल भएको उनीले एसबीएस नेपालीसँगको कुराकानीमा बताइन्।
"पहिले त हामीलाई अलि गारो नै थियो। आफन्तहरूले सहयोग गर्नु भए तापनि हाम्रा बच्चाहरू साना नै थिए, र म र मेरो श्रीमानलाई अङ्ग्रेजी राम्ररी आउँथेन।
सुरुसुरुमा ट्रेनको टिकट किन्न र सामानहरू किनमेल गर्न पनि गाह्रै हुन्थ्यो।",अस्ट्रेलिया आए पछिका केही कठिनाइहरूलाई याद गर्दै उनले बताइन्।
सेन्टरलिङ्कको सहयोगबाट उनीहरूले सिड्नीको टेफमा अङ्ग्रेजी भाषाका कक्षाहरू लिएका थिए।
अस्ट्रेलियामा रोजगारको खोजी
अङ्ग्रेजी भाषाको कक्षासँगै रामले टेफमा कृषि सम्बन्धी तालिम प्राप्त गर्ने मौका पाएपछि सन् २०१२ मा तरकारी खेतीको काम सुरु गरेका थिए।
भाषा सिक्न गाह्रो भएकाले अरू काम नपाएपछि रनमायाले पनि सोही तरकारी खेतीको काम गर्न थालिन्।
"वहाँले काममा लागे पछि, मलाई चाहिँ अङ्ग्रेजी भाषाबाट कामै गर्न नआउने भयो। म काम गर्छु भन्दा ,अङ्ग्रेजी छैन, कसरी काम गर्ने भन्दा, बिस्तारै बिस्तारै काममा बोल्दा बोल्दै सिकियो। र अहिले हामीलाई काममा चाहिँ गाह्रो हुँदैन। अह्राएको कुराहरू सबै बुझिन्छ।"
वर्तमान समयसम्म सोही काममा आबद्ध रहेका गौतम दम्पती, हाल दक्षिण पश्चिमी सिड्नीमा रहेको आफ्नो घरमा खुसीसाथ जिन्दगी बिताउँदै आएका छन्।

आप्रवासी हुनाले रोजगारको अवसरमा कत्तिको असर पर्छ?
नयाँ देशमा जागिर पाउन धेरैको लागि कठिन हुन सक्छ। थुप्रै आप्रवासीहरू आफ्नो दक्षताभन्दा कम सीपको आवश्यकता भएका कामहरू पनि बाध्य भएको देखिन्छ।
नेपालमा जन्मिएका गोविन्द पाण्डे क्विन्सल्याण्डस्थित एक प्रविधि कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रूपमा आबद्ध छन्। आफू अस्ट्रेलिया आउनु अघि नै यहाँ जागिर पक्का भइसके तापनि, काम त्यस काम पाउने प्रक्रियामा भने निकै कठिनाइ झेल्नु परेको उनी बताउँछन्।
"मैले अस्ट्रेलिया आउनु अघि काम पाइसकेको थिएँ। तर यहाँको काम खोज्ने प्रक्रिया भने निकै नै गाह्रो रहेछ भन्ने मैले बुझेँ।", उनले भने।
हाल जेम्स कुक विश्वविद्यालयमा सहप्राध्यापकको रूपमा पनि काम गर्दै आएका पाण्डे सन् २००६ मा अस्ट्रेलिया आएका थिए।
एप्लिकेसन प्रक्रियादेखि लिएर थुप्रै मापदण्डहरू पुरा गर्नु पर्ने हुन्छ, र हरेक रोजगारदातालाई स्थानीय अनुभव भएको कर्मचारीको खाँचो हुन्छ।
जागिर नपाइकन स्थानीय अनुभव बटुल्न असम्भव नै हुन्छ। आफ्नो गैर स्थानीय अर्थात् आफ्नै देशमा या अरू कुनै ठाउँमा काम गरेको अनुभवलाई यहाँका रोजगारदाताहरूको माग र मापदण्डसँग ढाल्नु निकै नै जरुरी रहेको उनी बताउँछन्।

कोभिड-१९ पछि जागिर खोज्नेहरू बीच बढ्दो प्रतिस्पर्धा
आफ्नो करियरको सन्दर्भमा चार मुख्य कुराहरूमा ध्यान दिनु पर्ने अन्जना रेग्मी बताउँछिन्। रेग्मी एक अनलाइन प्रशिक्षण सेवाकी संस्थापक हुन्, जसले मानिसहरूलाई आफ्नो व्यावसायिक लक्षहरूलाई पूरा गर्न मद्दत गर्दछ।
आफ्नो कामको क्षेत्रका मानिसहरूलाई चिन्न अर्थात् "प्रोफेसनल नेटवर्क" कायम राख्न अत्यावश्यक रहेको उनको भनाइ छ। रेग्मी आफू पनि सन् २००७ मा अन्तराष्ट्रिय विद्यार्थीको रूपमा अस्ट्रेलिया आएकी थिइन्।
त्यस्तै, आफ्नो 'नेटवोर्किंग प्रोफाइल' निर्माण गर्नेदेखि लिएर सम्बन्धित प्लेटफर्महरूको सदस्य बन्ने गरेमा रोजगारका अवसर हात पार्न सजिलो हुने पनि उनले बताइन्।

आफ्ना सीपहरू प्रति ध्यान दिनुहोस्
आफ्ना सानो भन्दा सानो सीप के-के छन् भन्ने कुरामा ध्यान दिन निकै जरुरी रहेको रेग्मी बताउँछिन्। त्यसका लागि आफूले एक वर्षमा या कुनै समय अवधिभित्र सिकेका कुराहरूको सूची बनाउँदा कुनै रोजगारमा आवेदन दिने बेलामा सजिलो हुने उनको सल्लाह छ।
"हामीले पछि याद गरौँला भन्ने सोच्छौँ, तर लेख्ने बानी गरेमा पछि कुन सीप कति बेला काम आउँछ भनेर छुटाउन सजिलो हुन्छ। एउटै सीभी (CV/Resume) भिन्न कामहरूको लागि प्रयोग गर्न नमिल्ने हुनाले यसरी जर्नल लेख्ने बानी गर्नु पर्छ।"
त्यस्तै, क्विन्सल्याण्डका प्राध्यापक पाण्डेले भने समय र परिस्थिति अनुसार आफूलाई ढाल्न सिक्नु पर्ने सुझाव दिन्छन्।
उनी भन्छन् - "हामी धेरैजसो आफूले पढेकै विषयमा मात्र काम खोज्छौँ, जुन नराम्रो अवश्य होइन - तर अन्य क्षेत्रहरूमा थुप्रै फलदायी कामका अवसरहरू हुन्छन्।"
जागिर खोज्ने क्रममा, विशेष गरी अहिले, हामीले अन्य उद्योगहरूमा पनि अवसरको लागी हेर्नु पर्छ। सधैँको भन्दा भिन्न बाटोमा पनि हेर्नु पर्छ।
ट्रकजस्ता गाडीहरूको इजाजत पत्र बनाइ त्यस सम्बन्धी काम गर्न थाल्ने या आफ्नै व्यवसाय सुरु गर्ने यसका केही उदाहरण हुन्।

स्वयंसेवी गतिविधिहरू
"अस्ट्रेलिया र अमेरिकामा स्वयंसेवी गतिविधिहरूलाई पेशेवर गतिविधिको बराबर नै ठानिन्छ।", रेग्मी भन्छिन्।
स्वयंसेवीको रूपमा काम गर्दा नेतृत्व, सामुदायिक समस्या समाधान, घटना व्यवस्थापन, आर्थिक व्यवस्थापन लगायत अन्य थुप्रै सीपहरू सिकिन्छ, जुन पछि गएर कार्यस्थलमा पनि काम आउँदछन्।
'म के गर्नमा राम्रो छु?' भनेर जान्नुहोस्
आफू के काम गर्नमा सिपालु छु भनेर जान निकै जरुरी हुन्छ - र यो कुनै साधारण घरायसी काम पनि हुन सक्छ।
रेग्मी भन्छिन् -
पछि गएर ठुलो रेस्टुरेन्ट नै खोल्छु भनेर पनि सोच्नु पर्दैन। आफूले गर्न सक्ने सानो भन्दा सानो जे कुरा पनि हुन सक्छ।
यसरी आफू के गर्नमा खप्पिस छु भनेर जान्दा रोजगारदाताहरूको "तपाईँ कसरी अरू भन्दा अलग हुनुहुन्छ?" भन्ने प्रश्नको जवाफ दिन सकिन्छ।
त्यसै गरी, हाल धेरै सङ्गठनहरूले अनलाइन अर्थात् इन्टरनेटको माध्यमबाट हजारौँ निवेदकहरूको भिडबाट उपर्युक्त व्यक्तिको छनोट गर्ने भएकाले आफ्ना सीपहरूलाई प्रभावकारी रूपमा उल्लेख गर्न जरुरी हुन्छ।

हार नमान्नुहोस्
नयाँ देशमा आउँदा भाषादेखि लिएर विभिन्न पक्षहरूले कठिन हुन सक्छ, तर आफ्नो देशबाट सिकेको नैतिकता र सीपहरू नयाँ वातावरणमा घुलमिल गर्दा निकै नै उपयोगी हुन्छ।
"म कसैलाई पनि काम नपाएमा नआत्तिन, सहयोग माग्न नहिचकिचाउन सल्लाह दिन्छु। यहाँ मद्दत गर्ने सङ्घसंस्थाहरू थुप्रै छन्।", सिड्नीकी रनमाया गौतमले भनिन्।
दुखमा नआत्तिनु, खुसीमा नमात्तिनु।
आफू र आफ्ना पति पनि एउटै काममा ८ वर्षसम्म लागेको हुनाले सबैलाई इमानदारिता र धैर्यताका साथ काम गर्न उनी सल्लाह दिन्छिन्।

सन् २०२०-२१ को अस्ट्रेलियाली संघीय बजेटले कोरोना भाइरस महामारीका मर्कामा परेका साना व्यवसायहरूको मद्दतका लागि विभिन्न कार्यक्रमहरू तयार पारेको छ।
त्यस्तै, संघीय सरकारको जबएक्टिभ योजनाले पनि काम खोजिरहेका मानिसहरूलाई र कर्मचारीको खोजीमा रहेका व्यवसायहरूलाई सहयोग पुराउँदछ।
यदि तपाईँ कामको खोजीमा हुनुहुन्छ भने जबसीकरको हटलाइनमा सम्पर्क गर्न सक्नु हुन्छ: रोजगार सेवा प्रदायक साथमा हुनुहुन्छ भने १८०० ८०५ २६० मा सम्पर्क गर्नुहोस्, र अनलाइन रोजगार सेवाहरूको प्रयोग गर्दै हुनुहुन्छ भने १८०० ३१४ ६७७ मा सम्पर्क गर्नुहोस्।
