तासमेनियाका दक्षिण तर्फका केही सबर्बहरू अस्ट्रेलियाकै सबैभन्दा बढी चुरोट खाइने स्थानहरूमा पर्दछ।
जानकारहरूले आप्रवासी समुदायहरू भएको स्थानमा चुरोट सेवन गर्नेहरूको सङ्ख्या उच्च रहेको पाइएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
यो तथ्याङ्क भिक्टोरिया विश्वविद्यालयको स्वास्थ्य नीति सम्बन्धी विषयमा खोज गर्ने मिचेल इन्स्टिच्युटबाट प्राप्त भएको हो।
न्यु साउथ वेल्सको माउन्ट ड्रुट ३१.२ प्रतिशत चुरोट प्रयोग कर्ताहरूका साथ तेस्रो स्थानमा रह्यो र माउन्ट ड्रुट भन्दा केही मात्र कम अर्थात् ३१.१ प्रतिशत चुरोट सेवकहरू रहेका छन् दक्षिण अस्ट्रेलियाका सबर्बहरू एलिजाबेथ, स्यालस्बरी र एलिजाबेथ नर्थमा।
इन्स्टिच्युटको सो अध्ययनका लेखक मध्येका एक बेन ह्यारिसले एबीसीसँग कुरा गर्दै चुरोट सेवन छोड्ने अभियान त्यस्ता केही समुदायहरूमा लागू गर्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिएका छन्।
सबैभन्दा कम चुरोट सेवन गरिने सबर्बहरूमा पश्चिम सिड्नीका गोर्डन, किलारा र पिम्बल परेका छन्।
ती सबर्बहरूमा चुरोट सेवन दर ६.६ प्रतिशत मात्र भएको पाइएको छ।
छिमेकी सबर्बहरू लिन्डफिल्ड र रोज्भिल ७.२ प्रतिशतका साथ चुरोट प्रयोगका हिसाबले दोस्रो राम्रो अवस्थामा रहेका स्थानहरू मध्ये परेका छन्।
कम चुरोट प्रयोग हुने सबर्बहरूको सुचीमा तेस्रो स्थान ओगटेका छन् पश्चिम सिड्नीकै एपिंग, पश्चिम एपिंग, पेनेन्ट हिल्स र चेटनह्यामले ।
सामान्य जनसङ्ख्या भन्दा केही न केही हिसाबले मानसिक स्वास्थ्य समस्या रहेका अस्ट्रेलियालीहरूले दुई गुणा बढी चुरोट सेवन गर्ने सम्भावना रहेको खोजले देखाएको छ।

भिक्टोरियाको क्यान्सर काउन्सिलले गरेको एक अध्ययनका अनुसार आप्रवासी पृष्ठभूमिमा पनि चुरोट प्रयोग गर्ने दर फरक- फरक रहेको छ।
जस्तै चीन, भियतनाम, उत्तर अमेरिका र मध्य पूर्वी राष्ट्रका मानिसहरूमा यो बानी बढी रहेको पाइन्छ।
क्विट भिक्टोरियाकी निर्देशक सेरा ह्वाइट यस्ता क्षेत्रहरूमा थप अध्ययनको आवश्यकता रहेको बताउँछिन्।
"प्रत्येक समूह आ-आफ्नै प्रकृतिका हुन्छन्, पक्कै पनि यो उनीहरू कुन देशबाट आएका हुन् , अस्ट्रेलिया आउँदा कत्तिको शिक्षित थिए जस्ता कुरामा निर्भर हुन्छ।"
डा. ह्वाइट भन्छिन् केही समुदायका मानिसहरूले अस्ट्रेलियालीहरूले बुझेको जस्तो धूम्रपानका असरहरूका बारेमा बुझेका छैनन्।
उनले उदाहरणका रूपमा भिक्टोरियामा बसेका अफ्रिकी हर्न समुदायलाई लिएकी छन्।
अध्ययनले सो समुदायमा सांस्कृतिक रूपमा नै धूम्रपानलाई स्वीकारेको पाइएको छ।
र यही अवस्था अन्य पृष्ठभूमिका आप्रवासीहरूमा रहेको हुन सक्ने उनको भनाइ रहेको छ।
धूम्रपानमा नेपाल र नेपाली
नेपालमा हिन्दु समुदायले मनाउने शिबरात्री पर्वमा पनि धेरै आलोचनाका वावजुद पनि गाँजा प्रयोग पूर्ण तया नियन्त्रण हुन नसकेको बताइदा धर्म र संस्कृतिको आडमा विसंगति फैलाइएको आरोप लाग्ने गरेको छ।

विश्व स्वास्थ्य सङ्गठनले २००६ मा गरेको स्वास्थ्य अध्ययनले नेपालमा ३५.५ प्रतिशत पुरुष र १५ प्रतिशत महिलाले धूम्रपान गर्ने गरेको देखाएको छ।
त्यस्तै चुरोट बाहेक अन्य सुर्ती जन्य पदार्थ सेवन गर्ने पुरुषहरूको प्रतिशत ३१.२ र ४.६ महिलाहरू रहेका छन्।
१५ देखि ६५ वर्ष उमेर समूहका नेपालीहरूमा गरिएको उक्त अध्ययनले कुनै न कुनै प्रकारले सुर्तीजन्य पदार्थ सेवन गर्ने पुरुषहरू ५६.५ र महिलाहरू १९.६ रहेको देखाएको छ।
अस्ट्रेलियामा बसोबास गर्ने नेपाली पृष्ठभूमिका मानिसहरूले कत्तिको धुम्रपान गर्छन भन्ने तथ्याङ्क नभए पनि चुरोट सेवनका विषयमा उठ्ने धेरै प्रश्नहरू जनगणनामा राख्न प्रयास गरिरहेको ह्वाइटको भनाइ रहेको छ।
"ताकि उनीहरूको जन्म भएको राष्ट्र र अस्ट्रेलियामा पनि पोस्ट कोड लगायतका जानकारी प्राप्त गर्न सकियोस्।"
एक अध्ययनले गैर-आदिवासी अस्ट्रेलियाली भन्दा झन्डै दोब्बर सङ्ख्यामा आदिवासीहरूले धूम्रपान गर्ने गरेको देखाएको थियो र डा ह्वाइटले त्यही समुदायलाई लक्षित अभियान सञ्चालन गरिएपछि त्यो सङ्ख्या घटेको बताएकी छन्।
विश्व स्वास्थ्य सङ्गठन का अनुसार विश्वभर वार्षिक ८० लाख मानिसहरूको सुर्तीजन्य पदार्थ सेवन गरेका कारण मृत्यु हुने गर्दछ।
जसमध्ये ४० प्रतिशतले फोक्सो सम्बन्धी रोगहरूका कारण ज्यान गुमाउनु परेको छ भने निष्क्रिय धूम्रपान वा अप्रत्यक्ष रूपमा सुर्तीजन्य धुवाँको सम्पर्कमा रहेकाहरूले १० लाखको सङ्ख्यामा ज्यान गुमाउँछन्।

सङ्गठनको नसर्ने रोगहरू सम्बन्धी शाखाका निर्देशक विनायक प्रसाद धूम्रपान विरुद्धका अभियानहरूको प्रभाव धनी राष्ट्रहरूमा राम्रो देखिएको बताउँछन्।
तर उनका अनुसार यसको प्रभाव गरिब राष्ट्रहरूमा कम परेकाले सुर्तीजन्य उद्योगहरूले त्यस्ता राष्ट्रहरूमा नै आफ्नो व्यवसाय केन्द्रित गर्न थालेका छन्।
इ-सिगरेट नि?
प्रसाद इ-सिगरेट वा विद्युतीय चुरोट पनि कुनै हिसाबले राम्रो नभएको बताउँछन्।
उनले इ-सिगरेट लाई पनि अन्य सुर्तीजन्य उत्पादनहरूमा जस्तै प्रतिबन्ध लगाइनु पर्नेमा जोड दिएका छन्।
"इ-सिगरेट धुवाँ रहित हुँदैन, यी पनि सुर्तीजन्य उत्पादन नै हुन्।"
त्यसैले दुई महत्त्वपूर्ण कुराहरू छन्: एक यी सुर्तीजन्य हुन् र विश्व स्वास्थ्य सङ्गठनले यसलाई सुर्तीजन्य पदार्थ कै रूपमा नियम लगाउनु पर्ने सुझाव दिएको छ। त्यस्तै यी उत्पादन कम हानिकारक हुन्छन् भन्ने दाबी छ जुन सत्य हो भन्ने हामीलाई थाहा छैन।"
गत हप्ता मात्र १०० भन्दा बढी सङ्गठनहरूले सामाजिक सञ्जाल सञ्चालकहरूलाई सामाजिक सञ्जालहरूमा हुने सुर्तीजन्य उत्पादनको विज्ञापनमा रोक लगाउन आह्वान गरेका थिए।
चुरोट उत्पादक कम्पनी फिलिप मोरिस इन्टरनेशनलले इन्स्टाग्राम मार्फत युवाहरूलाई नयाँ उत्पादन 'हिटेड टोब्याको' बिक्रीका लागी प्रयोग गरेको खुलासा भएपछि उक्त आह्वान गरिएको हो।
धूम्रपान त्याग्न चाहनु हुन्छ भने राष्ट्रिय हेल्प लाइनको १३ ७८ ४८ नम्बरमा फोन गर्नुहोस्, त्यहाँ दोभासे सेवा पनि उपलब्ध छ।
