एन्थोनी साम्पिएरीले ती बालिकालाई डान्स स्टुडियोको शौचालयमा सन् २०१८को नोभेम्बरमा बलात्कार गर्दै गर्दा, भिडियो समेत खिचेको बताइएको छ।
आफ्नो फैसला सुनाउने क्रममा न्यायाधीश पल क्न्लनले ५६ वर्षका साम्पिएरीद्वारा गरिएको उक्त कार्य एकदमै निकृष्ट रहेको बताउँदै सबैभन्दा धेरै समयावधि रहेको जेल सजाय सुनाएका थिए।
चक्कुको प्रयोगले ती अबोध बालिका माथि हाबी भएको र आफ्नो नियन्त्रणमा राखेको भन्दै न्यायाधीश क्न्लनले साम्पिएरीद्वारा प्राथमिक तहमा अध्ययनरत बालिकाको अस्तित्वलाई हदैसम्म अवहेलना गरेको आफ्नो फैसला पत्रमा उल्लेख गरेका छन्।
परोलमा जेलबाट निस्केका साम्पिएरीले बलात्कारको समय आइस नामक लागू औषधबाट धुत रहेको र कोग्राह स्थित उक्त डान्स स्टुडियोमा अनायासै छिरेर ती बालिकालाई समातेको बताइएको छ।
Source: Supplied
उनले ती बालिकाको अनुहारमा मुक्का प्रहार गरेपछि चक्कु देखाएर उनलाई तर्साउँदै तारले उनको घाँटी बाँधेर उक्त डान्स स्टुडियोको पुरुष शौचालयमा ४० मिनेटसम्म बलात्कार गरेको अदालतले सुनेको थियो जस मध्ये घटनाको साँढे चार मिनेट उनले आफ्नो मोबाइल फोनमा भिडियो रेकर्ड गरेका थिए।
ती बालिकालाई उक्त डान्स स्टुडियोमा रहेका अन्य अभिभावकले शौचालयको ढोका फोरेर बचाएको पनि अदालतमा बताइएको थियो।
५६ वर्षका साम्पिएरीले आफू माथि लागेका सम्पूर्ण आरोपहरू स्वीकार गरेका छन्। उनी माथि बलात्कारसँग सम्बन्धित १० वटा आरोप सहित नाबालिगसँग यौन सम्पर्क राखेको तीन फरक-फरक आरोपहरू लागेको थियो।
उनले आफ्नो दोष लागू औषध माथि लगाउँदै माफी मागेका छन्।
“म आफूले गरेको कामको लागि माफी चाहन्छु,” साम्पिएरीले भने।