भोली नयाँ बर्षको पहिलो दिन। धेरैले नयाँ अठोटका साथ नयाँ बर्षमा जाने आन्तरिक प्रण गरेका हुन्छन।
धेरै अस्ट्रेलियालीहरु यो नयाँ सालमा आफ्नो स्वस्थ्यको रेख-देख गर्ने वाचा आफैसँग गरेका छन्। व्यायम र पौष्टिक खानामा विशेष ध्यान दिने उनीहरुले बताएका छन्। तर लक्ष्य लिंदा पुर्याउने किसिमको लिनु पर्छ भनि बिज्ञहरुले सल्लाह दिएका छन्।
चिकित्सक क्रेग डंकन शारीरिक क्षमता सम्बन्धिका विज्ञ हुन्। उनका अनुसार नयाँ सालमा लिएका धेरै प्रणहरु केहि समय पछिनै हराउँछन्। “आफूलाई सुहाँदो, र दैनिक जिबनमा फरक नपर्ने किसिमको अठोटहरु लिएको उचित हुन्छ,” उनले भने।
यता सिड्नीमा आज दिउसो निकै गर्मी भएपनि- अहिले भने शितल हुन शुरु भईसकेको छ। हजारौं मानिसहरु अहिले हार्बर ब्रिजको छेउछाउ जम्मा भईसकेका छन्।
केहि दिन देखि सिड्नीमा हुने आतिशबाजी हुने कि नहुने टुङ्गो लागि नसक्दा अन्यौल निकै बढेर गएको थियो। हिजो मात्र सिड्नी काउन्सिलले आधिकारिक रुपमा आतिशबाजी हुने घोषणा गरेको थियो।
उता न्यु साउथ वेल्स राज्यको दक्षिणी तटमा भने त्यहाँ सल्केको डढेलोले बाबु र छोरा गरी दुई जनाको ज्यान लिएको समाचार आएको छ। कडा हावाहुरीका कारण हावाको वहाब ठम्याउन गाह्रो भएको र यसले डढेलोलाई झनै खतरापूर्ण बनाएको अधिकारीहरुले बताएका छन्।
राज्यमा सयभन्दा बढी डढेलो अझै सल्किरहेको र बेट्स्म्यान बे लगायतका ठाउँहरुमा विधुत आपूर्ति पनि भन्द भएको छ।

यसैगरी विक्टोरिया राज्यको विभिन्न स्थानहरुमा डढेलोले गर्दा जनजीवन अस्तव्यस्त रहेको छ।त्यहाँ रहेको मल्लाकुटा नामक स्थानमा त बिहान नौ बजे अध्याँरोनै रहेको र आकाश नै रातो देखिएको थियो।
विक्टोरियाको पूर्वी जिप्सल्याण्डमा लागेको डढेलोले २ लाख हेक्टर जमीन प्रभावित भएको छ, र अहिले पनि स्थिति साम्य पार्न एक हजारभन्दा बढी अग्नि नियन्त्रकहरु सक्रिय रहेका छन्।
