सन् २०१७को मे र जुन महिनामा गरेर दुई पटकमा ५० करोड लिटरभन्दा बढी प्रशोधन नगरिएको ढल मिल स्ट्रिम हुँदै बोटनी बीचसम्म पुगेको घटनाको दोषी पाईयेपछी सिड्नी वाटरलाई करिब दुई लाख सत्तरी हजार डलर जरिवाना गरिएको छ।
न्यु साउथ वेल्स राज्यको वातावरण संरक्षण प्राधिकरण (ईपीए)द्वारा ती दुई घटनामा सफा पानीलाई सिड्नी वाटरले दूषित गरेको भन्दै भूमि तथा वातावरण अदालतमा उजुरी दिएको थियो।
यसका साथै, सिड्नी वाटरद्वारा आफ्नो सञ्चालन अनुमति पत्रमा रहेको वातावरण संरक्षण सम्बन्धी सर्त तोडेको आरोप पनि प्राधिकरणले लगाएको थियो।

सिड्नी वाटरले माथि उल्लिखित तीनै आरोपमा आफ्नो गल्ती स्वीकार गरेपछी उसलाई भूमि तथा वातावरण अदालत दोषी ठहर गरेको हो।
आफ्नो निर्णय सुनाउने क्रममा न्यायाधीश रेचल पेप्परले ढल बोटनी बे स्थित फोर्शो बीचसम्म पुगेको र त्यहाँको पानी दूषित गरेको उल्लेख गरिन्।
“फोर्शो बिचमा उपलब्ध सुविधाहरू दुर्गन्धित भएका थिए र २६ जुन २०१७ सम्म (मे देखी) त्यो ढल मिसिएको पानीको सम्पर्कमा आएका मानिसहरूको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने खतरा पनि वृद्धि भएको थियो,” अदालतको दस्ताबेजमा लेखिएको छ।
ती दस्ताबेजका अनुसार, उक्त प्रशोधन रहित ढलका कारण सामुद्रिक पर्यावरणमा हानी पुगेको थियो।

फोर्शो बिच नजिकैको पानीमा बस्ने जीवजन्तुलाई असर पुगेको तथा त्यहाँसम्म मिल स्ट्रिम भएर बग्ने पानीको गुणस्तरमा पनि निकै ह्रास आएको अदालतका ती कागजपत्रहरूले उजागर गरेका छन्।
ईपीएका प्रमुख कार्यकारी मार्क गिफर्डका अनुसार अनियन्त्रित रूपले प्रशोधन नगरिएको ढल अत्यधिक रूपमा बहेका ती दुई घटनालाई अर्थपूर्ण रूपले हेर्न्नु आवश्यक रहेको जनाएका छन्।
“बोटनी बेमा पौडिन आउने मानिसहरू गम्भीर रूपमा बिरामी हुन सक्थे,” उनले एक वक्तव्य मार्फत बताएका छन्।
अदालतको निर्णयलाई स्वागत गर्दै उनले ठुलो धनराशि जरिवाना गरेर आफूहरूको डर सही साबित भएको बताएका छन्।
अब सिड्नी वाटरले के-के गर्नुपर्छ त?
जरिवानाको कूल रकम मध्य डेढ लाख बेसाइड काउन्सिललाई र बाँकी ११९,५०० डलर वातावरणीय गुठीलाई तिर्न आदेश उक्त अदालतले गरेको छ।
साथै, ईपीएको कानुनी शुल्क पनि सिड्नी वाटरले नै तिर्नुपर्नेछ।
अनि, विभिन्न पत्रपत्रिकाहरू लगायत सामाजिक सञ्जालका माध्यमहरूबाट पनि उसले के भएको हो र त्यसमा आफ्नो के दोष थियो भन्ने बारे सम्पूर्ण विवरण सार्वजनिक गर्नुपर्नेछ।
माफ पाउँ
यसै बिच सिड्नी वाटरले एक विज्ञप्ति मार्फत उक्त घटना बारे खेद प्रकट गर्दै आफूहरूद्वारा ढल सम्बन्धी सतरोनत्ति गर्दा त्यस्तो हुन गएको बताएको छ।
ईपीएलाइ उक्त घटना भए लगत्तै आफूहरूले सूचित गरेर प्रदूषण भएको ठाउँहरू सफा गर्न आवश्यक कदम चालेको पनि उसले बताएको छ।
