प्रमुख विषय:
- सिड्नीमा थप १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि
- जोखिम रहेका केही मुख्य स्थानहरू
- नर्दन बीचेस बुधवार मध्य रातसम्म लकडाउनमा
सिड्नीमा पछिल्ला केही दिनमा देखिएका कोभिड-१९ मामिलाहरू श्रोतको अनुसन्धान जारी रहँदा थप १५ जनामा सङ्क्रमण पुष्टि भएको छ।
नर्दन बीचेसको प्रकोपसँग अब कमसेकम ८३ सङ्क्रमितहरू फेला परेको न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियनले सोमबार बताइन्।
यी नयाँ १५ सङ्क्रमितहरू आइतबार राति आठ बजेको २४ घण्टा पछि पत्ता लागेका हुन्। ३८,००० को भारी सङ्ख्यामा मानिसहरूले आफ्नो परीक्षण गरेका थिए।
क्रिसमस आउन केही दिन मात्र बाँकी रहँदा राज्यमा नयाँ प्रतिबन्धहरू लागु गरिएका छन्। केही दिन अघि ३० नयाँ सङ्क्रमित फेला परेका थिए भने, अहिले यो १५ सम्म घटेको हो।
"सङ्क्रमितको सङ्ख्या दिन प्रति दिन यस्तै गरी घट्नका लागि हामी निरन्तर मिहिनेत गर्दै छौँ।", प्रिमियर बेरेजिक्लियनले भन्छिन्। "तर महामारीमा अवस्था छिट्टै अप्रत्याशित रूपमा छिट्टै बिग्रन सक्छ भन्ने हामी सबैलाई थाहा छ।"
सोमबार पत्ता लागेको यस नयाँ सङ्ख्यामा कमी आएको देखिए तापनि न्यु साउथ वेल्स बासिन्दाहरूले आफ्नो परिवारसँग क्रिसमस मनाउन पाउने या नपाउने कुरा भने अहिले निश्चित नभएको उनको भनाइ छ।

नर्दन बीचेससँग सम्बन्धित सङ्क्रमितहरू त्यस क्षेत्र भन्दा बाहिर अन्य स्थानहरूमा पनि गएको राज्यकी प्रमुख चिकित्सा अधिकारी केरी च्यान्टले बताएकी छिन्।
पाँच जना व्यक्तिहरू टरामरा स्यालन फर हेयरमा गएको, र १५ देखि १८ डिसेम्बरको बिच त्यहाँ गएका सबै जनालाई तुरुन्तै सेल्फ-आइसोलेसनमा बस्न र परीक्षण गर्न आग्रह गरिएको छ।
त्यस्तै, दुई जना अर्सकिनभिलको रोज अफ अस्ट्रेलिया होटेलमा गएको पुष्टि भएको छ। उक्त होटेलमा १५ डिसेम्बरमा साँझ ७ बजेदेखि ९ बजेसम्म गएका व्यक्तिहरूलाई पनि तुरुन्तै सेल्फ-आइसोलेसनमा बस्न र परीक्षण गर्न आग्रह गरिएको छ।
जोखिममा रहेका सबै स्थानहरूको पछिल्लो सुचीका न्यु साउथ वेल्स हेल्थको वेबसाइटमा यहाँ जानुहोस्।
अहिलेसम्म पत्ता लागेका सबै सङ्क्रमितहरू एभलोनको प्रकोपसँग सम्बन्धित रहेको र तर ग्रेटर सिड्नीका अन्य क्षेत्र र सम्पूर्ण न्यु साउथ वेल्समा नफैलिनका लागि यसलाई गम्भीरतापूर्वक लिनु पर्ने डाक्टर च्यान्टले बताइन्।
भाइरस अमेरिकाबाट आएकी एक महिलाबाट सरेको हुन सक्ने जेनोमिक परीक्षणबाट पत्ता लागेको, तर यो अझै निश्चित नभएको उनले बताइन्।
अन्तराष्ट्रिय यात्रुबाट समुदायमा कसरी सङ्क्रमण फैलियो भन्ने विषयमा "विस्तृत अनुसन्धान" भइरहेको, र त्यसका लागि सिसिटिभी क्यामेराका साथ साथै ती महिलाको सम्पर्कमा आएका सबै कर्मचारीहरूको परीक्षण भइरहेको छ।
त्यस्तै, अमेरिकाबाट आएका अन्य मानिसहरूमा उक्त भाइरस हुन सक्ने उनले बताइन्।
बुधवार मध्य रातसम्म नर्दन बीचेसमा लकडाउन लागु गरिएको छ, जसको मतलब त्यहाँका बासिन्दाहरू व्यायाम, आवश्यक खाद्य सामाग्री किन्न, विद्यालय या काम जान, स्वास्थ्य समस्याका कारण, र बिरामी या नजिकको व्यक्तिको देख भाल गर्नका लागि मात्र घरबाट निस्कन पाउने छन्।

सम्पूर्ण सिड्नी, ब्लु माउन्टेन्स र सेन्ट्रल कोस्ट क्षेत्रहरूमा घर भित्र १० जनासम्म मात्र भेला हुन पाउँदछन्।
भवन भित्र भेला हुने स्थानहरूमा र पूजा पाठका स्थानहरूमा प्रत्येक चार वर्ग मीटरमा एक व्यक्ति हुँदै कुल ३०० जना एक पटकमा भेला हुन पाउँछन्।
त्यस्तै, पूजा पाठका स्थानहरूमा नाच्न, गाउन र जप गर्न निषेधित छ। यी प्रतिबन्धहरू बुधवार मध्य रातसम्म जारी हुने छन्।
स्वास्थ्य अधिकारीहरूले न्यु साउथ वेल्सका सबै बासिन्दाहरूलाई भवन भित्र, शपिङ्ग सेन्टर, सुपर मार्केट, सार्वजनिक यातायात, स्वास्थ्य सेवा केन्द्र तथा वृद्ध हेरचाह केन्द्रहरूमा सके सम्म मास्कको प्रयोग गर्न आदेश दिएका छन्।
समुदायमा सङ्क्रमणको ठोस श्रोत अझै पत्ता नलागेको कारण सबै जना सावधान रहनु पर्ने प्रिमियर बेरेजिक्लियनले बताइन्।
यसै बिचमा, अस्ट्रेलिया भरका सबै राज्य र टेरिटोरीहरूले पछिल्लो समयमा ग्रेटर सिड्नी गएका मानिसहरूको लागि र न्यु साउथ वेल्स राज्यका नयाँ कडा प्रतिबन्धहरू, यात्रा अनुमति र अनिवार्य निरीक्षित क्वारेन्टिन लागु गरेका छन् - त्यसको बारेमा जान्न यहाँ जानुहोस्।
आफ्नो भाषामा कोभिड-१९ बारे पछिल्ला समाचार र स्वास्थ्य आदेशका लागि sbs.com.au/coronavirus मा जानुहोस्।
