भिक्टोरियामा जातिय रंगभेदका उजुरीमा देखिएको यो तरङ्गको पछाडी राजनीतिक दलका नेताहरुको उत्तेजक भनाइ र संचार माध्यमहरुले त्यस्ता भनाइलाई सम्प्रेषण गर्नु कारक रहेको भन्ने आरोप छ।
समान अवसर र मानब अधिकार आयोगको तथ्याङ्कमा जातियतासंग सम्बन्धि उजुरीहरुमा गत वर्ष भन्दा ३४ प्रतिशतले वृद्धि भएको र आधिकारिक उजुरीहरूमा ७६ प्रतिशतले वृद्धि भएको देखिन्छ।
आयोगको सर्बसाधारणहरुका लागि उपलब्ध सोधपुछ गर्ने लाइनमा आएका जातिय रंगभेदबारेका सुचनाहरुलाई हेर्ने हो भने २०१६/१७ मा ४७० भएकोमा २०१७/१८ मा बढेर ६३० पुगेको देखाउछ।
यहि समयावधिमा आधिकारिक रुपमा दर्ता गरिएका उजुरीहरु पनि ७७ बाट बढेर १३६ पुगेको छ।
मानब अधिकार आयोगकि क्रिस्टिन हिल्टन यति धेरै संख्यामा वृद्धि हुनुलाई अस्वभाविक र भयाबह भएको बताउछिन। "उजुरीको संख्यामा आएको यो वृद्धि बिशेष गरि 'अफ्रिकाको गिरोह संकट' का नाममा जसरि संचार माध्यम र राजनीतिक दलका नेताले टिप्पणी गरे त्यस कारण विभिन्न समुदायले यस बिषयमा हामीसंग कुरा गरेका कारण पनि बढेको हो।"
भिक्टोरिया राज्यको जातिय समुदायको काउन्सिलकि अध्यक्ष क्रिस पाभ:लिदिज यो तथ्याङ्कले भिन्न जातिय पृष्ठभूमिका मानिसहरुलाई खासै आश्चर्यमा नपार्ने बताउछिन।
उनका अनुसार "सांस्कृतिक समुहहरुलाई हेर्ने हो भने यसले अचम्मित र निराश बनाउछ, मेरो बिचारमा समुदायहरुले यसको अर्को पाटो देखाउन धेरै मेहनत गरेका छन् बिशेष गरि सामुदायिक काउन्सिलसंग मिलेर।"
उनका अनुसार यसले अस्ट्रेलियाको समाबेशीताको प्रतिष्ठालाई कमजोर तरिकाले प्रतिबिम्बित गर्छ।
जातिय विभेदी उजुरीहरुको तथ्यांकलाई छ महिनामा विभाजित गरेर हेर्दा ७५ वटा उजुरी वर्ष २०१८ को पहिलो छ महिनामा परेको देखिन्छ जुन समयावधिमा २०१७ मा ३३ वटा उजुरी परेको थियो।
उक्त तथ्यांकले केहि महिनासम्म चलेको बिबादास्पद मेलबर्नमा अफ्रीकन गिरोहका बिषयमा संचार माध्यम र राजनीतिक दलका नेताहरुको अभिव्यक्तिहरुलाई पनि समेटेको छ।
मानिसहरु अफ्रिकन गिरोहका कारण बाहिर गएर साँझको खाना खान डराउने गरेको अभिव्यक्ति दिएपछि संघिय गृह मामिला मन्त्रि पिटर डटनको जनवरी महिनामा आलोचना भएको थियो।
क्रिस्टिन हिल्टन यो तथ्यांक त्यसरी जाति विभेदी अभिव्यक्ति दिने राजनीतिक नेताहरुका लागि झक्झक्याउने किसिमको भएको बताउछिन।
भर्खरै मात्र गएको शुक्रबार जुलाई १३ मा पनि भिक्टोरिया राज्यका लिबेरल पार्टीले निर्बाचनको समयमा 'ग्याङ्ग्स हनटिङ्ग इन प्याक्स' भनेर सचेत गराइएको पत्रहरु बाडीएकोमा जातिय विभेद गरेको भन्दै आलोचना भएको थियो।
ति प्रचारमा कुनै जाति वा समुदाय विशेषको उल्लेख नभएता पनि आलोचकहरुले त्यसमा प्रयोग भएका भाषा र सांकेतिक पक्षहरु शंकास्पद रहेको बताएका थिए।
उक्त प्रचार पत्रमा पांचजना युवाहरु टोपियुक्त ज्याकेट लगाएर भेला भएको तस्बिर राखिएको थियो जुन तस्बिर २०१२ को लण्डनको एक पत्रिकाबाट लिइएको थियो।
आपराधिक क्रियाकलाप बारे समाचार सम्प्रेषण गर्दा रंग तथा जातियतालाई कम प्राथमिकता दिनु पर्ने क्रिस्टिन हिल्टनको भनाइलाई समर्थन गर्दै सामुदायिक काउन्सिलहरुको छाता संगठनकि अध्यक्ष मेरी पटेट्सस् विभेदकारी टिप्पणीहरुलाई धेरै प्राथमिकता दिन नहुनेमा जोड दिन्छिन।
साथै उनले अस्ट्रेलियाले यसको बहुसांस्कृतिक समुदायहरुलाई स्वागत गर्दै यसलाई उत्साहका साथ् हेर्नु पर्ने बताइन।
