कोरोनाभाइरस महामारीका लागू विविध प्रतिबन्ध पछि विदेशमै रहन बाध्य भएका तथा उच्च माग रहेका दक्ष कामदारहरूलाई अस्ट्रेलिया फर्किन विशेष छुट प्रदान गर्ने सङ्केत कार्यवाहक अध्यागमन मन्त्री एलन टजले बुधवार दिएका हुन्।
टजका अनुसार सरकारले छिट्टै सार्वजनिक गर्ने नीति अन्तर्गत यसरी विशेष छुट पाएर अस्ट्रेलिया फिर्ने अस्थायी भिसा धारकहरूले १४ दिने क्वारेन्टिन सम्बन्धी सम्पूर्ण खर्च स्वयम्ले नै व्यहोर्नु पर्नेछ।
तर, देशको बेरोजगारी दर अभूतपूर्व रूपमा १३ प्रतिशतसम्म पुग्ने अनुमान गरिँदै गर्दा अस्ट्रेलियामा दक्ष कामदारहरूको बसाइँ सराई सम्बन्धी "स्किल्ड माइग्रेसन" योजनालाई लिएर बहस सुरु भएको छ।

प्रमुख प्रतिपक्षी दल लेबरकी गृह मामिलाका प्रवक्ता क्रिस्टिना कनेलीले सरकारद्वारा खाँचो परेका सीपको अभाव पूरा गर्न, यहाँ उपलब्ध जनशक्तिलाई नै आवश्यक प्रशिक्षण दिनुपर्ने बताएकी छिन्।
उनले पत्रकारलाई भनिन्, "हामी एक देशको रूपमा स्वीकार गर्दछौँ कि यहाँ सिप युक्त दक्ष कामदारको कमी छ," उनले पत्रकारहरूलाई भने।
"तर, सरकारका लागि, साँच्चै अर्थमा भन्ने हो भने, ती उच्च माग भएका पदहरू पूर्ति गर्न अस्ट्रेलियालीहरूलाई कसरी सीप सिकाउने र प्रशिक्षण गर्ने चुनौती नै सबैभन्दा ठुलो हो।"
मन्त्री टज भने आफ्नो कार्यक्रमले कोरोनाभाइरसद्वारा सृजित आर्थिक मन्दीबाट निस्कन, अति माग भएका दक्ष जनशक्तिको आवश्यकता पुरा गर्ने केही पेसाहरूलाई मात्र प्राथमिकता दिइएको बताउँछन्।
"हाम्रो प्राथमिकता अस्ट्रेलियालीलाई काममा फर्काउनु हो," टजले भने।

सरकारको सो नयाँ प्रस्तावमा १७ पेसाहरू प्राथमिकतामा परेका छन् र यस सुचीलाई नियमित रूपमा समीक्षा गरिने र यो प्रक्रिया श्रम बजारका आवश्यकताहरू हेरेर निर्दृस्ट हुने बताइएको छ।
प्राथमिकता परेका पेसाहरूको सुची
- प्रमुख कार्यकारी वा प्रबन्ध निर्देशक (चीफ एक्जिक्युटिभ वा म्यानेजिङ डाइरेक्टर)
- निर्माण योजना प्रबन्धक (कन्स्ट्रक्सन प्रोजेक्ट म्यानेजर)
- मेकानिकल इन्जिनियर
- साधारण डाक्टर (जनरल प्र्याक्टिस्नर)
- आवासीय चिकित्सा अधिकृत (रेजिडेन्ट मेडिकल अफिसर)
- मनोचिकित्सक (साइकिआट्रिस्ट)
- चिकित्सक (मेडिकल प्र्याक्टिस्नर)
- सुँडेनी (मिडवाइफ)
- नर्स (रजिस्टर्ड नर्स - एज्ड केयर)
- नर्स (रजिस्टर्ड नर्स - क्रिटिकल केयर एन्ड इमरजेन्सी)
- नर्स (रजिस्टर्ड नर्स - मेडिकल)
- नर्स (रजिस्टर्ड नर्स - मेन्टल हेल्थ)
- नर्स (रजिस्टर्ड नर्स - पेरिओपेराटिभ)
- नर्स (अन्यत्र समावेश नभएका - रजिस्टर्ड नर्सेज नट क्लासिफाइड एल्सव्हेर)
- सफ्टवेयर विकासकर्ता (डिभेलेपर - प्रोग्रामर)
- सफ्टवेयर इन्जिनियर
- मर्मत सम्भार योजनाकर्ता (मेन्टिनेन्स प्लानर)
नागरिक तथा स्थायी भिसा धारक बाहेकका हकमा हाल अस्ट्रेलिया भित्रनु परे अस्थायी भिसा धारकहरूले यात्रामा छुट पाउन आवेदन हाल्नुपर्ने प्रावधान छ र सरकारले दक्ष पेसाहरूको सूचिलाई, महामारी सुरु भएयता रोक्का हुन पुगेको स्किल्ड माइग्रेसन योजना सुचारु हुने क्रमको पहिलो चरण रहेको बताएको छ।
उता, अध्यागमन विभागका एक जना पूर्व अधिकृत - अब्दुल रिज्भी भने झन्डै १९,००० नागरिक तथा पी आर धारकहरू नै अस्ट्रेलिया फर्कन बाँकी रहेकाले स्किल्ड भिसामा प्रवेश हुनेहरूको सङ्ख्या निकै कम सीमित हुने बताउँछन्।
एसबीएस समाचारसँग कुरा गर्दै उनले भने कि स्किल्ड भिसामा अस्ट्रेलिया आउन खोज्ने मानिसहरूको सङ्ख्या तत्काल धेरै हुने सम्भावना छैन।
क्वारेन्टिनमा हुने दबाबलाई कम गर्न हाल प्रति सप्ताह ४,००० यात्रु मात्रलाई सरकारले प्रवेश अनुमति दिने गरेको छ।
"यसको प्रभाव निकै ठुलो हुनेछ," रिज्भीले भने।
"मेरो बिचारमा कोरोनाभाइरसको प्रभावबाट देशलाई पुन सामान्य अवस्थामा फर्काउन आप्रवासनले अझै ठुलो भूमिका खेल्न सक्छ तर यो विवेकपूर्ण हिसाबमा लागू गरिनुपर्छ।"
अस्ट्रेलियामा मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।
मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्:
