मेलबर्न एयरपोर्टमा अलपत्र परेकी नेपाली हजुरआमालाई मद्दत गर्ने यी सहृदयी

केही सहयोगी मन भएका मानिसहरूको जागरूकता र सामाजिक सञ्जालको मद्दतले एक नेपाली वृद्धा सकुशल आफ्नो परिवार कहाँ पुगेकी छिन्।

Hari Aryal Melbourne

Hari Aryal helped a needy and elderly traveller at the Tullamarine Airport in Melbourne. Source: Hari Aryal and AAP

नेपालबाट मलेसिया हुँदै मेलबर्न र त्यहाँबाट केर्न्स पुग्नु पर्ने ७४ वर्षीय नरमाया खाती मेलबर्नको टलामरिन अन्तर्राष्ट्रिय विमानस्थलमा मङ्गलवार अलपत्र परेकी थिइन्।

खातीलाई स्थानिय समयानुसार मङ्गलवार बिहान करिब ०८:३० बजे विमानस्थलको आगमन कक्षमा रुँदै बसेको अवस्थामा एक सहृदयी हरि अर्यालले भेटेका थिए।

अर्यालका अनुसार खातीसँग रहेको मोबाइल फोन अफ थियो र चार्ज गर्ने विकल्प नभएको हुनाले त्यसको प्रयोग गरेर उनको आफन्तसँग सम्पर्क गर्न मिलेन।  

उनी आफै पनि नेपालबाट आएका आफन्तजन लिन विमानस्थल पुगेको बताउँछन्।

"म मेरो आफ्नो फ्यामिली लिनको लागि एयरपोर्ट गएको थिएँ, अनि त्यही अन्तराल चाहिँ एक जना आमा भेट्नु भयो - रुँदै बस्नु भएको," अर्यालले एसबीएस नेपालीसँगको कुराकानीमा बताए।

"अनि मैले नेपाली जस्तो लागेर मैले सोधेँ - 'आमा' भनेर बोलाउँदा खेरी 'मेरो छोरी लिन आइन मलाई' भन्नु भयो।"

Australia has amended its Biosecurity Act
International passengers arrive at Melbourne Airport in Melbourne. Source: AAP

नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्वालालम्पूरको विमान चढेकी नरमाया खाती भने त्यहाँबाट मेलबर्नलाई ट्रान्जिट बनाउँदै, १३:०५ बजे केर्न्स पुग्नु पर्ने थियो।

उता, दिउँसो १३:०५ बजे तिर केर्न्स पुग्नु पर्ने आमालाई लिन छोरी मिनाकुमारी खाती स्थानिय विमानस्थल पुगिसकेकी थिइन्। 

तर, आमा यता मेलबर्नमा अलपत्र परेको कुनै सुईँको आफूलाई नभएको खातीले एसबीएस नेपालीलाई बताईन्।

“१३:०५ मा यहाँ आइपुग्ने भनेर टिकटमा लेखेको छ, त्यही अनुसारले म पनि त्यहाँ लिन गएँ,” उनले भनिन्। 

यता, हरि अर्यालले भने विमानस्थलको हेल्पडेस्कसँग कुरा गरेर क्वान्टासको विमानमा साँझ १७:३० बजे केर्न्स पुग्ने व्यवस्था मिलाइदिए र “यी आमा मेलबर्न एयरपोर्टमा रुँदै बस्नु भएको थियो...” भन्दै एक फेसबुक ग्रुपमा आफ्नो सम्पर्क नम्बर सहित पोस्ट गरे।

“‘उहाँलाई व्हिलचेयरमा राखिदिनुस्, उहाँको सम्बन्धित मान्छे नआउँदासम्म र नेपाली बोल्न आउने मान्छे यदि एयरपोर्टमा भेटे भनी मात्र छोड्नुस्...’ भनेर उहाँलाई छोडेर आएको थिएँ,” अर्यालले एसबीएस नेपालीलाई भने।  

“आमाको उद्धार सफल होस्” भन्दै उनले गरेको पोस्टले आखिर काम गर्‍यो।  

उक्त फेसबुक पोस्ट देख्ने र मद्दतको लागि कमेन्ट गर्ने धेरै मध्ये क्वीन्सल्यान्डका धिरेन्द्रराज थापाले अर्याललाई सम्पर्क गरेका थिए।  

घटनाको बारेमा बुझे पछि उनले आफूले चिनेको केर्न्सका नेपाली भाषी भद्र गुरुङलाई तुरुन्तै सम्पर्क गरेर, खातीको आफन्तको बारेमा पत्ता लगाउन आग्रह गरे।

Details of the flight from Melbourne to Cairns.
Details of the flight from Melbourne to Cairns. Source: Facebook

“भुटानी समाजको एक जना साथीलाई मैले सम्पर्क गरेँ अनि ‘उहाँको छोरीहरू चाहिँ एयरपोर्ट जानु भएको छ’ भनेर उहाँले मलाई भन्नु भयो’,” गुरुङले एसबीएस नेपालीसँगको कुराकानीमा बताए।  

नेपालबाट आउँदा आफ्नो नम्बर या ठेगाना केही कागजमा लेखेर पठाउने कुरा ध्यानमा नआएको मिनाकुमारी खाती बताउँछिन्।  

“अब पहिलो चोटि हो, के थाहा र हौ। पर्दा मात्र थाहा हुँदो रैछ, नपर्दा के थाहा र,” उनले भनिन्।

“सबैले मद्दत गर्दे, जे होस्, नेपाली भाइहरूले गर्दिएछन् - धेरै धेरै धन्यवाद उहाँहरूलाई।”

नरमाया खाती हिजै साँझ सकुशल परिवार समक्ष पुगिसकेको पुष्टि उनका आफन्तजनले गरेका छन्।

नेपालबाट उनलाई व्हिलचेयरमा (विशेष हेरचाह कोटीमा) राखेर पठाइएको भएता पनि मेलबर्न आइपुग्दा उनी किन अलपत्र परिन् भन्ने बारे एसबीएस नेपालीले मेलबर्न एयरपोर्टसँग सम्पर्क गरेको थियो। 

एयरपोर्टकी एक प्रवक्ताले भनिन्,"एयरपोर्टका कर्मचारीहरूलाई यस घटनाको बारेमा थाहा दिइएको थिएन।"

विशेष हेरचाह हेरचाह कोटी या व्हिलचेयरमा रहेका यात्रुहरू वायुसेवा कम्पनीको जिम्मेवारी रहेको उनको भनाइ थियो। 

खातीलाई केर्न्ससम्म पुराएको उडानमा क्वान्टासले पूर्ण ख्याल राखेको र त्यसभन्दा अगाडीको यात्राका बारे भने उनी चढेको वायुसेवा जिम्मेवार रहेको क्वान्टसले बताएको छ। 

यस बारे एसबीएस नेपालीले मलेसिया एयरलाइन्सलाई सम्पर्क गरेपछि उक्त विमानसेवाद्वारा घटनाको अनुसन्धान सुरू गरेको जानकारी दिएको छ।


Share

3 min read

Published

Updated

By Dinita Rishal




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now