सो घटनासँगै अस्ट्रेलियामा बन्दुक नियन्त्रण गर्नुपर्छ भन्ने अभियन्ताहरूले, यो अवसरलाई देशले गत साँढे दुई दशकमा यस विषयमा प्राप्त गरेको सफलतालाई बचाउँदै अगाडि बढ्नु पर्ने बताएका छन्।
सन् १९९६ को अप्रिल २८ आइतबारका दिन डा. ब्रायन वालपोल रोयल होबार्ट अस्पतालमा आफ्नो काम सकेर घर भित्र मात्र के छिरेका थिए, उनको फोन बज्यो।
अस्पतालमा नयाँ स्वास्थ्यकर्मीहरूलाई ट्रमा सम्बन्धी तालिम दिने काम सक्दा दिउँसोको करिब १ बजेको उनले बताए।
"घर के छिरेको मात्र थिए, लौ तत्काल अस्पताल फर्किनुपर्यो भन्दै फोन आयो," वालपोल भन्छन्।
ब्रायन वालपोल अगाडि भन्छन् कि उनी फेरी अस्पताल पुग्दा के आइलाग्यो भनेर कसैलाई थाहा थिएन।
"ठुलो स्तरमा तयारी चलिरहेको थियो, हामीलाई केवल के थाहा थियो भने जे भएको छ, त्यो निकै भयानक छ।"

पोर्ट आर्थर हत्याकाण्ड घट्नु अघिसम्म वालपोलको चिकित्सकीय जीवनलाई बन्दुक सम्बन्धी हिंसाले गाँजेको थियो।
उनी भन्छन् कि सन् १९७५ मा मेलबर्नबाट आपतकालिन चिकित्सा सेवा सुरु गर्दा खेरिको घटना उनको मस्तिष्कमा अझै ताजा छ।
"त्यो दिन युगोस्लाभियाकी एक २४ वर्षे युवतीलाई गोली लागेर आपतकालिन विभागमा ल्याइएको थियो, उनमा न रगत बाँकी थियो न जीवन नै," डा वालपोलले भने।

आफ्नो घरको 'ब्याकयार्ड'मा निशाना लगाउने अभ्यास गरिरहेका एक मानिसको गोली लागेर दुई सन्तानकी आमा समेत रहेकी उक्त महिलाको ज्यान गएको थियो।
त्यस घटनाले अस्ट्रेलियामा बन्दुक सम्बन्धी कानुन परिवर्तन हुनुपर्छ भन्ने कुरा उनको मनमा पार्यो।
अनि, अस्ट्रेलियन मेडिकल एसोसिएसनमा रहेका केही साथीहरूसँग मिलेर आफूहरूले बन्दुकद्वारा आफ्नो व्यावसायिक जीवनमा पारेको गलत प्रभाव बारे उक्त सङ्गठन समक्ष वालपोलले कुरा राखे।
तर, टास्मानियाको राजधानी होबार्टभन्दा पूर्वोत्तरमा रहेको ऐतिहासिक एवम् पर्यटकीय स्थल पोर्ट आर्थरमा गोली काण्ड हुनु अघिसम्म अस्ट्रेलियामा बन्दुक नियन्त्रण सम्बन्धी नीति खासै प्रभावकारी रहेनन्।

त्यस कालो दिन, हत्याराले अर्धस्वचालित बन्दुक लिएर पूर्व बन्दी गृह रहेको ऐतिहासिक स्थल पुगे र ३५ जनाको ज्यान लिनुका साथै ती व्यक्तिले अन्य २३ जनलाई घाइते तुल्याए।
डा ब्रायन वालपोल भन्छन् कि पोर्ट आर्थर हत्याकाण्ड भन्दा अघिसम्म हरेक पल्ट गोली चलेर मानिसहरूको ज्यान जाँदा उनीहरू यस बारे चर्चा गर्थे तर बन्दुक नियन्त्रण राज्य अन्तर्गतको मुद्दा भएकाले आफ्नो हात बाँधिएको महसुस हुन्थ्यो।
पोर्ट आर्थर घटनाको भोलि पल्ट भने उनलाई तत्कालीन टास्मानियाली प्रिमियर टोनी रन्डलले आफ्नो कार्यालयमा बोलाए।
रन्डलले बन्दुक नियन्त्रण हुनुपर्छ भन्ने एक गठबन्धनका सदस्य रोल्यान्ड ब्राउन नाम गरेका वकिललाई पनि डाँकेका रहेछन्, वालपोल भन्छन्।
डा वालपोलले रन्डलद्वारा बोलाइएको उक्त बैठकमा जाँदा बन्दुक नियन्त्रण नीतिको प्रतिलिपि पनि साथै लगेका जसमा अनुमति पत्र, दर्ता, सुरक्षित भण्डारण, नियम लागू नहुने अवधि लगायतका बुँदाहरू थिए।

"यो नै जन् हावर्डको बन्दुक नियन्त्रण कार्यक्रमको आधार बन्यो," उनले भने।
हत्याकाण्डको १२ दिन पछि नै ऐतिहासिक कदम चाल्दै तत्कालीन अस्ट्रेलियाली प्रधानमन्त्री जन् हावर्डले बन्दुक नियन्त्रण सम्बन्धी कानुन परिवर्तन गरे।
हावर्डले कानूनमा सुधार गर्दै समुदायमा भएका बन्दुक सरकारले पुनः खरिद गर्ने, बन्दुक राख्दा दर्ता गरेको हुनुपर्ने, २८ दिने म्याद लगायत बन्दुक सुरक्षित रूपमा भण्डारण गरिनुपर्ने जस्ता प्रावधानहरू लागू गरे।

ब्रायन वालपोल जस्तै रिबेका पिटर्स पनि अस्ट्रेलियाको बन्दुक नियन्त्रण कानुन बन्न सघाउने पात्र हुन्।
यस काममा लागे बापत उनलाई सन् २०१६मा अस्ट्रेलियाको 'अर्डर अफ अस्ट्रेलिया' सम्मान पनि प्रदान गरिएको थियो।
पिटर्स भन्छिन् कि पोर्ट आर्थरमा गोलीवारि भएको सुन्ने बित्तिकै अरू मानिसहरू जस्तै उनी पनि एकदमै स्तब्ध भएकी थिइन्।
"जति सङ्ख्यामा मानिसहरूको हताहत भयो, त्यसबाट यो काम सेमी अटोमेटिक हतियारबाट मात्रै हुनसक्छ भन्ने मैले बुझिहाले," उनले भनिन्।

सो दुर्घटनाको २५ औँ वर्ष पुग्दा रिबेका पिटर्सलाई हावर्डद्वारा लागू गरिएका परिवर्तनहरू खतरामा परेको त छैन भन्ने त्रासले सताउन थालेको छ।
उनका अनुसार राष्ट्रिय बन्दुक सहमति निकै द्रुत गतिमा बनेको थियो जसमा राज्यहरूले पनि आ-आफ्ना कानुनको पुनर्विलोकन गरेर यथोचित रूपमा परिमार्जन गर्दै एक निश्चित मापदण्ड पुरा गर्ने उल्लेख थियो।
"तर, कानूनलाई मान्य बनाइराख्न भने चाहिँ उक्त सहमतिमा केही वाध्यात्मक व्यवस्था थिएन," पिटर्स भन्छिन्।
"राज्यहरूले यस बारे फेरी आफ्नो कानुन परिवर्तन नगरुन् भन्नका लागि कुनै सङ्घीय व्यवस्था वा कानुन छैनन्, यो चिन्ताको विषय हो।"
रिबेका पिटर्स यो २५ औ स्मृति दिवस युवा अस्ट्रेलियालीहरूले लागि ती मरेर जाने ३५ जनाको सम्झना र देशको बन्दुक नियन्त्रण सम्बन्धी कानूनलाई बचाई राख्न प्रयोग गर्नुपर्ने बताउँछिन्।
"अस्ट्रेलियामा रहेका थुप्रै युवापिढीका मानिसहरूलाई यहाँ पनि धेरै जनाको ज्यान जाने गरी बन्दुक हमला भएको थियो भन्ने कुरा थाहै छैनन्। उनीहरूलाई अस्ट्रेलियामा कुनै समय बन्दुक लगायतका हतियारहरू खुल्ला रूपमा किन्न पाइन्थ्यो भन्ने पनि थाहा छैन। बन्दुकद्वारा हुने हिंसा अस्ट्रेलियाको कुनै समस्या नै होइन भनेर उनीहरू सोच्छन्।"
पिटर्सका अनुसार यस्तो सोच राम्रो भएता पनि उनीहरूले यस बारे नसोच्दा बन्दुक नियन्त्रण सम्बन्धी कानुन माथि सधैँ खतरा मडारिरहने छ।
