कोरोनाभाइरसको महामारीका कारण गत चार महिना देखि बन्द रहेको न्यु साउथ वेल्स र भिक्टोरिया बीचको सीमा पूर्ण रूपमा खुल्नुका साथै दुई राज्य बीचको हवाई सेवाहरु पनि सुचारु भएका छन्।
भिक्टोरियामा कोरोनाभाइरस बाट सङ्क्रमित हुनेहरुको संख्या बढ्दै जाँदा आफ्नो राज्यमा पनि त्यस्तो अवस्था सिर्जना हुन नदिन भन्दै गत जुलाई ८ देखि छिमेकि राज्यसंगको आफ्नो सीमा बन्द हुने घोषणा प्रिमियर ग्लाडिस बेरेजिक्लियनले गरेकी थिइन्।
मुख्य विषय
- भिक्टोरियाबाट आउनेहरु क्वारेन्टिनमा बस्न नपर्ने
- हवाई सेवा सुचारु
- व्यवसायहरुले QR कोड प्रयोग गर्न अनिवार्य
सीमा खुल्नुको मतलब अब भिक्टोरिया बाट आउनेहरुले क्वारेन्टिनमा समय बिताउनु पर्ने छैन।
यसका साथ् देशका कुनै राज्य वा प्रदेशका लागि आफ्नो सीमा बन्द नरहने एक मात्र राज्य न्यु साउथ वेल्स बनेको छ।
र मध्यरात देखि सीमावर्ती सहर अल्बरी स्थित राजमार्गमा रहेको प्रहरी चेकपोइन्ट हटाइने बेला एक डिजे ले नयाँ वर्षको पूर्व संध्या झैं काउन्टडाउन पनि गरेका थिए। जसलाई प्रहरी द्वारा आफ्ना गाडीहरुको साइरन बजाउदै साथ् दिएका थिए।
हवाई सेवा सुचारु
न्यु साउथ वेल्स र भिक्टोरिया बीचको सीमा खुले देखि क्वान्टस र जेटस्टार द्वारा सिड्नी र मेलबर्न बीच १७ ओटा रिटर्न फ्लाइट संचालन गर्दै छन्।
कोरोनाभाइरसका कारण बन्द हुन बाट जोगिएको भर्जिन अस्ट्रेलियाले चाहिं हाल दैनिक ४ रिटर्न फ्लाइट वा हप्ताको २८ ओटा फ्लाइट संचालन गर्ने बताएको छ।
साथै क्रिसमसको बिदा सुरु हुनु अगाडी दैनिक फ्लाइट संख्यालाई पनि चरणबद्ध रूपमा बढाउदै जाने पनि भर्जिनको भनाइ छ।
लकडाउनको समयमा अस्ट्रेलियाकै सबै भन्दा व्यस्ता हवाई रूट भनिने सिड्नी र मेलबर्न बीच दैनिक एउटा मात्र पनि फ्लाइट संचालन भएका थिए।
दुवै राज्य बीचको सीमा पूर्ण रूपमा खुल्ने भनि न्यु साउथ वेल्स सरकार द्वारा घोषणा गरिएको ४८ घण्टा भित्र क्वान्टस र जेटस्टारले २५ हजार सीटहरु बिक्री गरिसकेका थिए।
आइतबार भिक्टोरियाली सीमा नजिज रहेको वोडोङ्गा नामक न्यु साउथ वेल्स सहर पुगेकी प्रिमियर ग्लाडिस बेरेजिक्लियनले सीमा बन्द रहंदा स्थानीय वासिन्दाहरुले निभाएको भूमिकाको प्रसंसा गर्दै, भविष्यमा यसरी सीमा बन्द भएको आफुले कहिले हेर्न नचाहेको बताइन।
न्यु साउथ वेल्स प्रहरीका कमिशनर मिक फुलरले १३८ दिन सम्म संचालनमा रहेको सीमा प्रहरी चेक पोइन्टमा प्रहरीहरुले एक लाख शिफ्ट पूरा गर्नुका साथै पचास लाख सवारी साधनहरुले सीमा पार गरेका थिए।

व्यवसायहरुले QR कोड प्रयोग गर्न अनिवार्य
यसैक्रममा न्यु साउथ वेल्समा संचालन हुने सम्पूर्ण व्यवसायहरु जसले ग्राहक सेवा प्रदान गर्दछन्, ती व्यवसायहरुले आफ्ना ग्राहकहरुको विवरण संकलन गर्न QR कोड प्रयोग गर्नुपर्ने भएको छ।
कोरोनाभाइरस सङ्क्रमित व्यक्तिहरुको सम्पर्कमा आएकाहरुलाई छिटो सम्पर्क गर्न अधिकारीहरुलाई यसले सहयोग पुग्ने सरकारको भनाइ छ।
यसअन्तर्गत अब देखि हस्पिट्यालिटी स्थल देखि, कर्पोरेट कार्यक्रम, विवाह र अन्त्यष्टि सभा जस्ता गतिबिधिहरुमा उपस्थित हुने मानिसहरुले पनि अब देखि कागजमा आफ्नो नाम लेख्न नमिल्ने नियम पनि लागु भएको छ।
भिक्टोरियामा लगातार गए २३ दिन देखि एक जनामा पनि कोरोनाभाइरसको सङ्क्रमण भेटिएको छैन भने न्यु साउथ वेल्समा चाहिं गए १५ दिन देखि कोरोनाभाइरसको एउटा पनि सामुदायिक सङ्क्रमण पुष्टि भएको छैन।
हाल पुष्टि भएका सङ्क्रमणहरु सबै विदेश बाट फर्किएर होटेल क्वारेन्टिनमा रहेका व्यक्तिहरु भएको न्यु साउथ वेल्स हेल्थको भनाइ छ।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस् । न्यू साउथ वेल्स,भिक्टोरिया,क्विन्ल्यिाण्ड,वेस्र्टन अस्ट्रेलिया,नदर्न टेरीटरी,एसीटी,तास्मेनिया ।
