जनगणनाको तथ्याङ्कका अनुसार आधाभन्दा बढी अस्ट्रेलियालीहरू पहिलो या दोस्रो पुस्ताका आप्रवासीहरू हुन्।
सन् २०२१ मा गरिएको जनगणनाको नतिजालाई अस्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस)ले मङ्गलबार सार्वजनिक गरेको हो।
त्यस अनुसार ४८.२% अस्ट्रेलियाहरूको एक जना अभिभावक विदेशमा जन्मिएको, र २७.६% अस्ट्रेलियालीहरू देश बाहिर जन्मिएको देखिएको छ।
आफ्नो घरमा अङ्ग्रेजी बाहेक अन्य भाषा बोल्ने मानिसहरूको सङ्ख्या लगभग आठ लाखले बढेर, ५५ लाख नाघेको छ।
एसबीएसाको अनुसार अस्ट्रेलिया एक “छिटो परिवर्तनशील, बढ्दो र सांस्कृतिक विविधतायुक्त राष्ट्र” यस तथ्याङ्कले देखाउँदछ।
सन् २०२१ को जनगणनामा अस्ट्रेलिया भरका २,५४,२२,७८८ जना मानिसहरू समावेश भएका छन्। विदेशी आगन्तुकहरू समावेश छैनन्।
यस तथ्याङ्कले सांस्कृतिक विविधता, परिवार र घर, र महामारीले कसरी देशलाई परिवर्तन गर्यो भनी देखाएको छ।
पचास वर्ष अघि सन् १९७१ को जनगणनामा यसको आधा - १,२४,९३,००१ जनाको गिन्ती भएको थियो।

अस्ट्रेलिया बाहिर जन्मिएका बासिन्दाको वृद्धि
जनगणनाले देशको सांस्कृतिक विविधता, बासिन्दाको जन्म मुलुक, वंश र घरमा प्रयोग हुने भाषाहरूको तथ्याङ्क उपलब्ध गर्दै, अस्ट्रेलियाको सांस्कृतिक र भाषिक जानकारी दिन्छ।
सन् २०१७ देखि २०२१ सम्म, १० लाख भन्दा बढी मानिसहरू (१०,२०,००७) अस्ट्रेलिया भित्रिएका थिए।
यसरी अस्ट्रेलियामा रहेका पहिलो या दोस्रो पुस्ताका बासिन्दाहरूको सङ्ख्या बढेर ५१.५% पुगेको छ।
जन्मको आधारमा भारत तेस्रो स्थानमा
अस्ट्रेलियामा हाल बसोबास गर्ने मानिसहरू मध्य सबैभन्दा धेरै अस्ट्रेलियामा जन्मिएका छन्।
दोस्रो स्थानमा बेलायत छ भने, तेस्रो स्थानमा भारत रहेको छ।
यस नयाँ जनगणनामा भारतमा जन्मिएका २,१७,९६३ मानिसहरू थपिएका छन्। चीन र न्यु जिल्यान्ड ओगट्दै भारत तेस्रो स्थानमा पुगेको हो।

जन्मको आधारमा दोस्रो अधिक वृद्धि नेपालको रहेको छ।
सन् २०१६ को तुलनामा नेपालमा जन्मिएर अहिले अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरूको सङ्ख्या १२३.७% बढ्दै, ६७,७५२ जना थपिएका छन्।
यसै सन्दर्भमा अस्ट्रेलियाको होबार्टमा "द चोक" नाम गरेको पहिलो नेपाली पब खुलेको छ।

वंशको आधारमा भने, तथ्याङ्क पहिलेको जस्तै छ - अङ्ग्रेजी, अस्ट्रेलियाली, आइरिश, स्कटिश र चिनियाँ।
दीर्घकालीन स्वास्थ्य अवस्थाहरू पहिलो पटक समावेश
पहिलो पटक स्वास्थ्य जानकारी सङ्कलन गरिएको यस जनगणनाले ८० लाखभन्दा बढी अस्ट्रेलियालीहरूलाई कुनै दीर्घकालीन स्वास्थ्य समस्या रहेको देखाएको छ।
सबैभन्दा धेरै रिपोर्ट गरिएको - २२,३१,५४३ जनालाई मानसिक स्वास्थ्य समस्या, २१,५०,३९६ जनालाई गठिया अर्थात् जोर्नीहरूको समस्या (arthritis) र २०,६८,०२० जनालाई दम (asthma) रहेको पाइयो।
दीर्घकालीन स्वास्थ्य समस्याहरू पुरुषमा भन्दा महिलामा बढी रहेको तथ्याङ्कले देखाउँछ।
यस जनगणनाले अस्ट्रेलियालीहरूको स्वास्थ्यको बारेमा विस्तृत जानकारी दिन मद्दत गर्ने अस्ट्रेलियाली तथ्याङ्कविद् डाक्टर डेभिड ग्रुएन एओले बताए।
“पहिलो पटक हामीसँग सम्पूर्ण जनसङ्ख्याको दीर्घकालीन स्वास्थ्य समस्याको बारेमा तथ्याङ्क छ,” उनले भने।
“यो महत्त्वपूर्ण तथ्याङ्कले सबै अस्ट्रेलियालीलाई कसरी उपचार र सेवा वितरण गर्ने भन्ने बारे निर्णयहरू बनाउन मद्दत गर्ने छ।”

आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर जनसङ्ख्यामा वृद्धि
सन् २०१६ को जनगणनाको तुलनामा यस पालि आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डरको रूपमा चिनिने मानिसहरू २५.२% ले बढेर ८,१०,००० भन्दा बढी रहेको बताइएको छ।
यो अस्ट्रेलियाको सम्पूर्ण जनसङ्ख्याको ३.२% हो।
सन् २०१६ मा यो सङ्ख्या ६,४९,२००, अर्थात् पूर्ण जनसङ्ख्याको २.८% थियो।
६५ वर्ष र माथिका आदिवासी र टोरेस आइल्यान्डरहरूको सङ्ख्या २०२१ मा बढेर ४७,६७७ पुगेको छ, जुन २०१६ मा ३१,००० र २०११ मा २१,००० थियो।
परम्परागत भाषाहरू पनि आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर घरपरिवारहरूको एक महत्त्वपूर्ण भाग रहन जारी छ।
सन् २०२१ मा ७८,६५६ जना माझ १६७ वटा आदिवासी र टोरेस आइल्यान्डर भाषाहरू घरघर बोलिन्छ।
सबैभन्दा व्यापक भाषिक समूहहरू आर्न्हेम ल्यान्ड ल्यान्ड र डेली रिभर क्षेत्रका भाषाहरू, टोरेस स्ट्रेट आइल्यान्ड भाषाहरू, वेस्टर्न डिजर्ट भाषाहरू, र योंगु माथा र अरान्डिक भाषा हुन्।
इसाई धर्म ८% घटे पनि सबैभन्दा चर्चित
अस्ट्रेलियामा सबैभन्दा धेरै - ४३.९% बासिन्दाहरू इसाई धर्मसँग पहिचान गर्दछन्।
सन् २०१६ मा यो ५२.१% थियो र सन् २०११ मा ६१.१% थियो।
इसाई घर्म मान्नेहरूको सङ्ख्या घटेसँगै, आफ्नो “कुनै धर्म छैन” भन्ने मानिसहरूको सङ्ख्या बढ्दै ३८.९% पुगेको छ।
यो सन् २०१६ मा ३०.१% र सन् २०११ मा २२.३ % थियो।
जनसङ्ख्याको २.७% हिन्दु धर्म मान्दछन् भने ३.२% ले इस्लाम धर्म मान्दछन्।

भाषिक विविधता निरन्तर बढ्दै
घरमा अङ्ग्रेजी बाहेक अन्य भाषा बोल्ने मानिसहरूको सन् २०१६ को तुलनामा करिब ८ लाख बढेर ५६,६३,७०९ पुगेको छ।
यी मध्य करिब ८,५०,००० ले अङ्ग्रेजी राम्ररी बोल्न नआउने या बोल्दै नबोल्ने बताएका छन्।
अङ्ग्रेजी बाहेक घरमा बोलिने अन्य भाषामा सर्वप्रथम म्यान्डरिन र दोस्रो स्थानमा अरबी भाषा रहेका छन्।
घरमा पन्जाबी भाषा बोल्नेहरूको सबैभन्दा अधिक वृद्धि भएको छ। सन् २०१६ को तुलनामा ८०% बढ्दै अहिले उक्त सङ्ख्या २,३९,००० भन्दा बढी पुगेको छ।
जनगणनाले २५० वटा भन्दा बढी वंश र ३५० भन्दा बढी भाषाको जानकारी सङ्कलन गरेको डाक्टर ग्रुएनले बताए।
कोभिड-१९ महामारी नयाँ आप्रवासीहरूको कमी
अस्ट्रेलियामा सन् २०१७ देखि अहिलेसम्म १०,२०,००७ आप्रवासीहरू भित्रिएका छन्, जस मध्य अधिकांश कोभिड-१९ महामारी सुरु हुनु अघि आएका हुन्।
तथ्याङ्कले ८,५०,००० भन्दा बढी मानिसहरू सन् २०१७ र २०१९ को बीच आएको देखाउँछ।
सन् २०२० र २०२१ मा देश भित्रिनेहरूको सङ्ख्या घटेर १,६५,००० पुगेको थियो।
अस्ट्रेलियाका परिवारहरूको बदलिँदो मुहार
जनगणनाले पहिलो पटक एक जना अभिभावक भएका परिवारको जानकारी सङ्कलन गरेको छ।
यस्ता १०,६८,२६८ वटा परिवारहरूमा हरेक पाँच मध्य चार परिवारमा महिला अभिभावक भएको देखियो।
त्यस्तै, दुई वटा अभिभावक भएका करिब ५५ लाख परिवारमा ५३% का बालबालिकाहरू अभिभावक सँगै बस्ने, र ४७% सँगै नबस्ने तथ्याङ्कले देखाउँछ।
सन् २०१६ मा अरूको बालबालिका हेर्ने ५५ वर्षभन्दा माथि उमेरका मानिसहरूको सङ्ख्या करिब १,४०,००० ले बढेर ८,२५,००० माथि पुगेको थियो।
सन् २०२१ मा उक्त सङ्ख्या ५०,००० ले घटेर ७,७५,००० भन्दा कम भएको छ।
मिलेनियल्सभन्दा बढी बेबी बुमर्स
बेबी बुमर्स (५५-७४ वर्ष) र मिलेनियल्स (२५-३९ वर्ष) उमेर समूहको सङ्ख्यामा सानो फरक मात्र रहेको छ।
दुवै समूहमा ५४ लाख भन्दा बढी मानिसहरू छन्, तर सन् २०२१ को अगस्ट १० तारिख भएको जनगणना अनुसार बेबी बुमर्सहरूको सङ्ख्या ५,६६२ धेरै छ।
गत १० वर्षको अवधिमा मिलेनियल्सको सङ्ख्या बढ्दै सन् २०११ को २०.४% बाट सन् २०२१ मा २१.५% पुगेको छ।
यही समयमा बेबी बुमर्सको सङ्ख्या २५.४% बाट घटेर २१.५% पुगेको छ।
सन् १९६६ को जनगणनामा हरेको पाँच जना व्यक्तिमा दुई जना (३८.५%) बेबी बुमर्स थिए।
जनगणनाको रातमा घरमा बढी मानिसहरू
सन् २०१६ को तुलनामा सन् २०२१ को जनगणना रातमा २१,७८,०९४ जना धेरै मानिसहरू आफ्नो घरमा थिए।
कोभिड-१९ प्रतिबन्धका कारण गणना भएका ९६% मानिसहरू आफ्नो घरमा थिए। यस कारण, सङ्कलित तथ्याङ्कमा धेरै परिवारहरू सँगै थिए, र यसले अस्ट्रेलियाली घरपरिवारको एक अद्वितीय चित्र प्रस्तुत गर्दछ
कोभिड-१९ प्रतिबन्ध र विदेश यात्राको सीमितताको प्रभाव पनि देख्न सकिन्छ।
विदेशी आगन्तुकहरूको सङ्ख्या सन् २०१६ को ३,१५,५३१ बाट घटेर २०२१ मा ६१,८६० पुगेको पाइयो।
प्रतिक्रिया दर र जरिवाना
सन् २०२१ मा १,०८,५२,२०८ जना मानिसहरू कोभिड-१९ महामारीको समयमा अस्थायी या स्थायी बसोबासका लागि निर्मित ठाउँहरूमा बस्ने गरेको देखिएको छ।
सन् २०१६ मा ९५.१% रहेको यो सङ्ख्या अहिले बढेर ९६.१% मा पुगेको हो।

जनगणनामा भाग लिनु अनिवार्य हो। यदि कसैले यसमा भागमा लिन अस्वीकार गरेमा, जनगणना र तथ्याङ्क ऐन अन्तर्गत, अस्ट्रेलियाली तथ्याङ्कविद्ले उनीहरूलाई औपचारिक लिखित सूचना मार्फत फारम भर्न निर्देशन दिन सक्छन्।
यदि कसैले उक्त निर्देशन पछि [अनि जनगणनामा भाग लिन मान्दैनन् भने, उनी माथि कारवाही हुन सक्छ र प्रति दिन २२२ डलर सम्म जरिवाना, र आपराधिक सजाय लागु हुन सक्छ।
सन् २०२१ को जनगणनामा यस्ता १६ वटा मामिलाहरू सार्वजनिक अभियोजनको कमनवेल्थ निर्देशक समक्ष पुगेको छ।
