कोरोनाभाइरस: “जनताको दुस्मन नम्बर एक!”

विश्व स्वास्थ्य सङ्गठनले घातक कोरोनाभाइरसलाई “सार्वजनिक दुस्मन नम्बर एक” भनेर घोषणा गर्नुका साथै यसको आधिकारिक नाम COVID-19 रहेको पनि बताएको छ।

Coronavirus 2019-nCoV spreading

Microscopic illustration of the spreading 2019 corona virus that was discovered in Wuhan, China. Source: Getty

कोरोनाभाइरसलाई सार्वजनिक स्वास्थ्य विपत्ति भनेर घोषणा गरेको दुई हप्ता पछि, विश्व स्वास्थ्य सङ्गठनले यसलाई आतङ्कवाद भन्दा पनि ठुलो विश्वव्यापी खतरा मान्दै “पब्लिक एनेमी नम्बर वन” भनेर घोषणा गरेको हो।

मङ्गलवार जेनेभा स्थित आफ्नो मुख्यालयमा आयोजित एक पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेद्रोस अधानोम घेब्रेयेसस्ले कोरोनाभाइरसलाई सबैभन्दा ठुलो दुस्मन भनेका हुन्।

“अब विश्व बिउँझिनु पर्छ र यो भाइरसलाई आफ्नो सबैभन्दा ठुलो दुस्मन हो भनेर बुझ्नुपर्छ,” उनले भने।

Tedros Adhanom Ghebreyesus, Director General of the World Health Organization (WHO).
Tedros Adhanom Ghebreyesus, Director General of the World Health Organization (WHO). Source: Keystone

करिब ४०० वैज्ञानिकहरूले भाग लिई रहेको दुई दिने बृहत् अन्तर्राष्ट्रिय गोष्ठीको पहिलो दिनको बारेमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले चीनमा यसको प्रभुत्व देखिए पनि बाँकी संसारका लागि पनि यो निकै ठुलो चिन्ताको विषय हुनुपर्नेमा जोड दिए।

“९९ प्रतिशत मामला चीनमा सीमित भए पनि संसारभरका खतराको बादल मडारिरहेको छ,” घेब्रेयेसस्ले स्पष्ट पारे।

"सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको प्रकोप रोक्नु र जीवन बचाउनु हो। तपाईँको समर्थनका साथ हामीले त्यसो गर्न सक्दछौँ।"

अबदेखि “कोभिड-१९”

यसका साथै, अस्ट्रेलियाली समयानुसार बुधवार भएको एक अर्को पत्रकार सम्मेलनमा उनले अबदेखि यो कोरोनाभाइरसलाई “कोभिड-१९” (COVID-19) भनेर चिनिने बताएका छन्।

यस अघि नोभेल कोरोनाभाइरस र “२०१९-एनकोभ” भनेर प्रचार गरिएको नयाँ प्रकारको भाइरसबाट उत्पन्न रोगलाई विश्व स्वास्थ्य सङ्गठनले उक्त आधिकारिक नाम दिएको हो।

“यो रोगले अब नाम पाएको छ र त्यो नाम कोभिड-१९ हो,” टेद्रोस अधानोम घेब्रेयेसस्ले भने।

उनका अनुसार कोभिड-१९को नाममा रहेको “को”ले कोरोना, “भी”ले भाइरस र “डी” ले डिजिज (रोग)लाई प्रतिनिधित्व गर्छ भने १९ भनेको उक्त प्रकोप सुरु भएको अङ्ग्रेजी क्यालेन्डर अनुसारको वर्ष हो।

यसरी नाम छान्दा कुनै विशेष भौगोलिक स्थान, जीवजन्तुको प्रजाति वा मानिसहरूको समुदायको पहिचान खुल्ने गरी राख्न नहुने अन्तर्राष्ट्रिय मान्यतालाई ख्याल राखी छानिएको बताइएको छ।

नामकरण गर्दा कुनै सम्प्रदाय, पशुका प्रजाति वा देश माथि आउन सक्ने कलङ्क रोक्नको उद्देश्यले अन्तर्राष्ट्रिय रूपमै हाल तिनका पहिचानसँग सम्बन्ध देखिने शब्दलाई नामका रूपमा प्रयोग गर्न नहुने नीति विश्व स्वास्थ्य सङ्गठनले अङ्गीकार गरेको छ।

सन् २०१५ देखि लागू गरिएको एक निर्देशिकाका अनुसार, इबोला वा जीका जस्ता कुनै स्थान विशेषको पहिचान खुल्ने नाम, रोगव्याधलाई दिन नहुने उसको सुझाव हो।

यसका साथै, मिडल इस्ट रेस्पीरेटोरी सिन्ड्रोम वा स्प्यानिश फ्लु जस्ता साधारण नामको प्रयोग पनि बिस्तारै रोकिँदै छ।

Employees involved in the production of Ebola virus detection reagent in Shanghai ZJ Bio-Tech Co,Ltd,China
Employees involved in the production of Ebola virus detection reagent in Shanghai ZJ Bio-Tech Co,Ltd,China Source: STR

एचवनएनवन भनिने भाइरस पनि स्वाइन फ्लुको रूपमा बढी लोकप्रिय भएपछि यसले सन् २००९ ताका सुँगुरको मासु बेचबिखनमा संसारभर नै ठुलो धक्का दिएको थियो।

चीनको हुबे प्रान्तमा रहेको वुहान शहरबाट सुरु भएको कोभिड-१९ प्रकोपले हालसम्म हजार जनाभन्दा पनि बढीको ज्यान लिनुका साथै कम्तीमा पनि ४२,००० मानिसहरूलाई सङ्क्रमित गरिसकेको छ। 

यस्ता रोग विरोधी खोप निर्माण गर्न साधरणतया वर्षौँ लाग्ने बताइँदै गर्दा हाल अस्ट्रेलिया लगायत ब्रिटेन, चीन,  फ्रान्स, जर्मनी र संयुक्त राज्य अमेरिकाका विज्ञहरू द्रुत रूपमा खोप बनाउन लागिपरेका छन्।


Share

3 min read

Published

Updated

Source: AFP, SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now