अस्ट्रेलियाको प्राकृतिक स्रोतसाधनको मज्जा लिन देशैभर छरिएर रहेका राष्ट्रिय निकुञ्जहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्।
चाहे तपाईँ ग्रेट ब्यारियर रीफमा डुबुल्की लिनुहोस् कि कङ्गारु द्वीपमा वन्यजन्तुलाई नजिकैबाट नियालेर आनन्द उठाउनुहोस् वा उलुरूमा एबोरिजिनी संस्कृतिको मज्जा लिनुहोस् - आफू तथा पर्यावरणलाई जोगाउँदै यस्ता कार्यहरूमा भाग लिनु निकै जरुरी हुन्छ।
घुम्न जानु भन्दा पहिले इन्टरनेटमा आफूलाई मन परेको राष्ट्रिय निकुञ्ज वा अन्य कुनै प्राकृतिक पार्क, उद्यान लगायतका स्थान बारे सम्बन्धित सरकारी निकायका वेबसाइट मार्फत योजना बनाउन थाल्नुहोस्। यस्ता वेबसाइटको सुची तल छ।
सम्बन्धित निकायका वेबसाइट मार्फत तपाईंले घुम्न मन बनाउनु भएको ठाउँको प्राकृतिक स्वरूप, वातावरण, त्यहाँ उपलब्ध सेवा तथा सुविधाहरू अनि प्रवेश शुल्क, अतिरिक्त क्रियाकलापहरू एवं मौसम सम्बन्धी जानकारीहरू प्राप्त गर्न सक्नुहुनेछ।

ऐतिहासिक एवं एबोरिजिनी स्थानहरू छुने तथा तिनमा हिँड्नु हुँदैन
राष्ट्रिय निकुञ्जहरू प्राय जसो कि त जङ्गली जीवजन्तुको वास स्थल हुन्छन् कि त एबोरिजिनी मानिसहरूका लागि विशेष सांस्कृतिक महत्त्व बोक्छन्।
यस्ता विशेष सांस्कृतिक महत्त्व बोक्ने स्थानहरूमा शिला कला, भेटघाटका निमित्त प्रयोग हुने र उत्सवात्मक कार्यहरू गरिने ठाउँहरू पर्ने गर्दछन्।
अस्ट्रेलियाली सरकारले ६ राष्ट्रिय निकुञ्जहरूका साथ-साथै १३ सामुद्रिक संरक्षण स्थलहरू पारम्परिक आदिवासीहरूसँगको समन्वयमा प्रबन्ध गर्ने गरेको छ।

के मैले शुल्क तिर्नुपर्छ?
थुप्रै राष्ट्रिय निकुञ्जहरुले सवारी साधन चढेर प्रवेश गर्दा शुल्क लिए पनि पनि पैदल वा साइकलमा छिरे पैसा लिँदैनन्।
तपाईँ कुनै एक राष्ट्रिय निकुञ्ज घरी-घरि नै गई राख्नुहुन्छ भने छुट्टी मनाउन मिल्ने, केही दिनदेखि पुरै वर्षको अवधिसम्म समेट्ने पास किन्न सक्नुहुन्छ जसले गर्दा केही आर्थिक राहत पनि मिल्छ।
विभिन्न राज्यहरूले पनि एक भन्दा बढी पार्कहरूमा प्रयोग गर्न मिल्ने पासहरू जारी गर्ने गरेका छन् तर त्यस्ता पासहरू जारी गर्ने राज्य भन्दा अन्यत्र प्रयोग गर्न मिल्दैन।
म कसरी सुरक्षित रहन सक्छु?
यदि दूर दराजमा अवस्थित राष्ट्रिय निकुञ्ज घुम्न जान लाग्नु भएको छ भने आफू निस्कनु अघि कसैलाई यस बारे सूचित गर्नुहोस्।
त्यसरी घुम्न निस्कँदा आफू साथै खाद्यान्न, पानी र न्यानो गराउने लुगाफाटो लिएर जान सिफारिस गरिएको छ।
चिन्ह लगाइएको बाटो छोडेर अन्यत्र नलाग्नुहोस् र सुरक्षाका लागि लगाइएको तार बार नाघेर अर्को तर्फ नजानुहोस्।

घाम र पानी बारे “स्मार्ट” बन्नुहोस्
अस्ट्रेलियामा सूर्यको कडा किरणबाट जोगिनु अति नै आवश्यक छ र त्यसका लागि सन् स्क्रिन क्रिम वा स्प्रे अनि टोपी लगाउनु निकै नै महत्त्वपूर्ण छ।
एकान्तमा पौडी खेल्न जाँदै हुनुहुन्छ भने जल क्रिडा स्थलको गहिराइ, पानीको तापक्रम र धार बारे थाहा पाउनुहोस्।
सामुद्रिक तट वरपर हिँडडुल गर्दा चट्टान एवं ढुङ्गाहरूबाट लड्न सकिन्छ कि भनेर विचार पुर्याउनुहोस्। कतै कतै गोहीहरू पनि हुन सक्छन् भन्ने कुरामा पनि ध्यान दिनुहोस्।
आफ्नो फोहोर आफैँसँग फिर्ता लिएर जानुहोस्
अस्ट्रेलियाको कुल भूभागको करिब चार प्रतिशत जमिन ओगट्ने राष्ट्रिय निकुञ्जहरू संरक्षित क्षेत्रहरू हुन् जहाँ प्रदूषण मुक्त प्राकृतिक परिदृश्यको साथसाथै विविध बोट बिरुवा एवं वन्यजन्तुको आनन्द उठाउन पाइन्छ।
आफ्नो फोहोर त्यत्तिकै ती स्थानमा छोडिदिँदा त्यहाँको पर्यावरणमा गम्भीर असर पर्छ। त्यस कारण तपाईंले आफ्नो बार्बिक्यु वा वनभोजको मजा लिइसकेपछि सबै फोहोर आफूसँगै फिर्ता लिएर जान नभुल्नुहोस्।
थप जानकारीका लागि पार्क्स अस्ट्रेलियाको वेबसाइट हेर्नुहोस्।
यसबारे काम लाग्ने अन्य लिङ्कहरू:
- पार्क्स भिक्टोरिया
- नर्दर्न टेरोटेरी पार्क्स एण्ड वाइल्डलाइफ सर्भिस
- न्यु साउथ वेल्स नेशनल पार्क्स एण्ड वाइल्डलाइफ सर्भिस
- क्विन्सल्याण्ड डिपार्टमेन्ट अफ नेशनल पार्क्स, रिक्रिएसन, स्पोर्ट्स एण्ड रेसिङ्ग
- नेशनल पार्क्स साउथ अस्ट्रेलिया
- वेस्टर्न अस्ट्रेलिया डिपार्टमेन्ट अफ पार्क्स एण्ड वाइल्डलाइफ
- तास्मानिया पार्क्स एण्ड वाइल्डलाइफ सर्भिस
- क्यापिटल टेरोटेरी पार्क्स एण्ड रिजर्भ्स
