SKIP TO MAIN CONTENT

क्यानबेरा स्थित नेपाली दूतावासको आफ्नै समस्या; 'कामको चाप अनुसार कर्मचारी छैनन्'

अस्ट्रेलियाका लागि नेपाली कार्यवाहक राजदूत कुल बहादुर मगर अस्ट्रेलियामा नेपाली समुदाय बढ्दै गएको तर सो अनुपातमा दूतावास कर्मचारीहरू भने नथपिएको र यसले गर्दा कामको चाप अत्याधिक रहने बताउँछन्।

Nepali embassy Canberra
Source: SBS Nepali

4 min read

Published

Updated

By Sunita Pokharel



Skip to article content

भिसा, पासपोर्ट देखि यात्रा कागजात र अन्य अधिकांश नेपाल सरकारसँग सम्बन्धित कार्यहरूका लागि क्यानबेरामा अवस्थित नेपाली दूतावास  जिम्मेवार हुने गर्दछ।

यति धेरै कार्यका लागि दूतावास जिम्मेवार रहँदा कतिपय समयमा अस्ट्रेलिया मात्र नभई फिजी, पपुवा न्यु गिनी र न्यु जिल्यान्ड लगायतका राष्ट्रहरूमा बसोबास गर्ने नेपालीहरूको काम पनि प्रत्यक्ष रूपमा क्यानबेरा स्थित दूतावासले गर्नु पर्ने हुन्छ।

नेपालमा ई-पासपोर्ट प्रयोगमा आएपछि त सेवाग्राहीको चाप झन् बढेको कार्यवाहक राजदूत कुल बहादुर मगरले बताएका छन्।

"२००७ मा दूतावास खोलेको थियो त्यति बेला चाहिँ दरबन्दी राजदूत सहित ४ जना डिप्लोमेट र ४ जना लोकल स्टाफको दरबन्दी थियो। तर अहिले आएर २०२२ मा पनि नेपालीहरूको सङ्ख्या पनि धेरै वृद्धि भइसकेको अवस्था छ। त्यो बेला र अहिलेको कामको त तिन गुणा चार गुणा नै वृद्धि भइसक्यो।"

"तर त्यही जनशक्ति छ। झन् त्यसमा पनि अझ कम छ अहिले त।"

उनले स्थानीय कर्मचारी ४ जना हुनु पर्नेमा अहिले ३ जना मात्र रहेको र त्यसमध्ये पनि एक जनालाई त घन्टाका आधारमा राखिएको बताए।

कार्यवाहक राजदूत मगर नेपाल सराकारले तोकेको तलब दर भन्दा बढी अन्यत्र काम गरेर नै कमाइने भएकोले दूतावासमा काम गर्ने व्यक्ति भेट्टाउन गाह्रो भएको भनाइ राख्छन्।

Kul Bahadur Magar
Acting ambassador to Australia Kul Bahadur Magar. Source: SBS Nepali

"यसले गर्दाखेरि हामीले मन्त्रालयबाट पनि हामीले थप काजको रूपमा एक जना अहिले हामीले बोलाएको छौँ। नेपालबाटै मन्त्रालयबाटै आएर काम गरिराख्नु भएको छ। उहाँको अब सकिनै लागेको छ। उहाँ फर्किसके पछि झन् फेरी अर्को समस्या थप हुन्छ।"

कम कर्मचारी तर सेवाग्राहीको सङ्ख्या भने बढिरहँदा दूतावासमा फोन गर्दा नलाग्ने भन्दै धेरै गुनासोहरू आउने गरेको थियो भन्छन् कुल बहादुर मगर।

"पहिला पहिला चाहिँ धेरैजसो के कम्प्लेन सुनिन्थ्यो भने फोनै लाग्दैन एम्बेसीको फोनै लाग्दैन भन्ने थियो। त्यो हुन पनि हो एउटा फोन लाइनमा १० जना २० जनाले एकै चोटी फोन गर्दा एक जनाको न फोन उठ्छ।"

त्यही समस्यालाई सम्बोधन गर्दै अहिले भने क्यु सिस्टम वा फोन गरेपछि आफ्नो पालो पर्खिए पछि सेवाग्राहीहरूले दूतावासमा फोन सम्पर्क गर्न सहज भएको उनले बताए।

Acting ambassador to Australia Kul B Magar
Acting ambassador Kul Bahadur Magar showing call qeueing system. Source: SBS Nepali

"१० जनाले २० जनाले एकै चोटी फोन गर्नुभयो उहाँहरू चाहिँ क्युमा बस्नु हुन्छ। र पाँच वटा सेट छ र उठाउन चाहिँ ४ जनाले मिल्ने गरी बनाएका छौँ हामीले।"

दूतावासमा भेटिएका एक सेवाग्राही रजिस श्रेष्ठले टेलिफोन गर्न सहज भएको आफूले पनि महसुस गरेको बताए।

"मेरो पनि पासपोर्ट (को काम) गर्नलाई धेरै वर्ष अगाडी आउँदाखेरि भन्दा अहिले चाहिँ पक्कै पनि इम्प्रुभ चाहिँ भएको छ।"

तर उनले कहिले काहीँ फोन नउठ्ने र काटिने समस्या अझै पनि रहेको भन्दै सुधार गर्नु पर्ने कुराहरू अझै पनि रहेको बताए।

People waiting outside Nepal Embassy in Canberra
People waiting outside Nepal Embassy in Canberra. Source: SBS Nepali

त्यसरी क्यु सिस्टममा बस्दा पनि सेवाग्राहीले धेरै समय पर्खनु परेको गुनासो गर्ने गरेको कुल बहादुर मगर बताउँछन्।

"यदि उहाँहरूले क्युमा पेसेन्टली बस्नु भयो भने सबैको फोन उठ्छ। हामीले चाहिँ ४० मिनेट कुर्‍यौँ ३० मिनेट कुर्‍यौँ भन्नु हुन्छ। तर अवश्य पनि त्यो त कुर्नु परिहाल्यो।"

अस्ट्रेलियाकै अन्य सेवा प्रदायकहरूलाई फोन गर्दा पनि लामो समय कुर्नु पर्ने उनको भनाइ छ।

दूतावासमा झन्डै एक दशक* काम गरिसकेका मोहन लामा पहिले दूतावासका कर्मचारी एउटा लाइनमा कुरा गर्दा अन्य सेवा ग्राहीको फोन नलाग्ने समस्यालाई नयाँ प्रणालीले केही हद सम्म कम गरेको बताउँछन्।

सेवाग्राहीहरूको अत्याधिक फोन आउने गरेको बताउने लामा पासपोर्टबारे नै धेरै प्रश्न सोधिने गरेको बताउँछन्।

"धेरै जस्तो उहाँहरूको पासपोर्ट चाहिँ एक्स्पाएर भएको र त्यो रिन्यु गर्ने सम्बन्धमा उहाँहरूले प्रश्नहरू गर्नु हुन्छ। त्यसबाहेक जस्तै पावर अफ अटोर्नी भयो अनि अरू भिसा रिलेटेड र त्यस्तै रिलेटेड सम्बन्धी चाहिँ फोन हुन्छ। तर मेक्सिमम चाहिँ पासपोर्ट सम्बन्धी नै हो।"

Mohan Lama one of the staffs of Nepal Embassy in Canberra.
Source: SBS Nepali

सेवाग्राहीलाई सामान्य जानकारीहरू पाउन सहज होस् भनेर वेबसाइटमा पनि धेरै सोधिने प्रश्नहरूको उत्तर राखिएको कार्यवाहक राजदूत मगरले बताए।

फोन गर्ने कतिपय सेवाग्राहीहरूलाई त्यस्ता जानकारी वेबसाइटमा छ भनेर पनि अवगत गराइन्छ जसले गर्दा धेरैले फोन काटेर वेबसाइटमा जानकारी खोज्ने गरेको उनले बताए।

*यो सामाग्रीको अघिल्लो संस्करणमा दशकको सट्टा शताब्दी हुन गएकोमा सच्चाइएको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now