SKIP TO MAIN CONTENT

हामीले अन्तर्राष्ट्रिय विद्यार्थीका निम्ति गर्नसक्ने धेरै कुराहरु छन्: जेड कार्नी, सङ्घीय सांसद

२० वर्ष भन्दा बढी समय नर्सिङ्ग पेशालाई आफ्नो जीवन समर्पित गरेकी जेड कार्नी, गत मार्च महिनादेखि संघिय संसदमा भिक्टोरिया राज्यको ब्याटम्यान निर्वाचन क्षेत्रलाई प्रतिनिधित्व गरिरहेकी छिन्। मार्च १७मा सम्पन्न भएको उपनिर्वाचनमा सफलता हासिल गरेपछि उनले आफ्नो राजनैतिक जीवनमा नयाँ उचाई हासिल गरेकी हुन्।

Ged Kearney
Source: SBS Nepali/Abhas Parajuli

3 min read

Published

Updated

By Rajish Aryal, Abhas Parajuli, Sunita Pokharel



Skip to article content

यो कुराकानी, अष्ट्रेलियामा नेपाली भाषीहरुको धेरै उपस्थिति रहेको निर्वाचन क्षेत्रहरुबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुसँग गरिएको साक्षात्कार शृंखलाको एक भाग हो।

संघिय सांसद जेड कार्नीले संघिय संसदमा प्रतिनिधित्व गर्ने ब्याटम्यान निर्वाचन क्षेत्रमा ठुलो संख्यामा नेपाली भाषीहरुको बसाइ रहेको प्रेष्टन, किंग्सबरी, रिजर्व्यार र थन्बरी लगायतका सबर्बहरु रहेकाछन् |

उनीसँग एसबीएस नेपालीले गरेको कुराकानीका झलकहरु:

  • अध्यागमन, भिसा लगायतका समस्यामा भएका धेरै मानिसहरु म कहाँ आइ नै रहनुहुन्छ
  • प्रशासनिक झै-झमेलाका कारण मेडिकेयर, सेन्टरलिङ्क तथा एनडीआईयस भनिने राष्ट्रिय अपाङ्गता बीमा योजनासम्मको पहुँचका लागि पनि हामीले सहयोग गर्दै आइरहेका छौँ
  • ठुल्ल-ठुला मुद्दाहरुदेखि ससाना व्यक्तिगत समस्याहरुसम्ममा म तपाइँको मद्दत गर्नसक्छु
  • अन्तर्राष्ट्रिय विद्यार्थीहरु बीच आवासको समस्या रहेको तथा उनीहरुमाथि काममा हुने शोषण समाधान गर्न म पहल गर्दैछु 
  • मैले भेटेका नेपालीहरु धेरैजसो निकै नै पढेलेखेका ज्ञानी जमात हुनुहुन्छ

सन् १९८६ मा भएको नर्सहरुको आन्दोलनमा सहभागिता जनाउदै आफु युनियनमा प्रवेश गरेको सांसद कार्नी बताउँछिन्। उनी अस्ट्रेलियाकै सबैभन्दा बढी सदस्यता भएको युनियन - अस्ट्रेलियन नर्सिङ्ग तथा मिडवाईफरी महासंघको पदाधिकारी पनि भएकी थिइन्।

Ged Kearney
On the occasion of International Womens Day Source: Facebook/Ged Kearney

नर्सिङ्ग यूनियनबाट ट्रेड यूनियनहरुको अस्ट्रेलियन परिषद (एसीटियू) हुँदै राजनीतिमा प्रवेश गरेकी कार्नी, एसीटियूको सभापति हुँदा धेरै थरिका मानिसहरुलाई नजिकबाट नियाल्ने तथा उनीहरुको विभिन्नखाले मुद्दाहरुलाई राम्ररी बुझ्ने अवसर भएको मान्दछिन्। साथै,आफु नर्सका रुपमा कार्यरत रहँदा सिकेका कुराहरु संझदै भन्छिन, "एक नर्सको रुपमा मैले के सिकेको छु भने मानिसहरुको धेरै पक्षका बारेमा तपाइँले जान्नु जरुरी छ।"

"उनीहरुको विचार आफ्नो भन्दा फरक हुँदैमा उनीहरुलाई भिन्नै नजरले हेर्नु उचित छैन। यो संसारमा धेरै मानिसहरु छन् र तदनुरुप धेरै विचारहरु, यो कुरा सबैले बुझ्नु पर्छ जस्तो मलाई लाग्छ।"

अध्यागमन, भिसा लगायतका समस्यामा भएका धेरै मानिसहरु आफुकहाँ आईरहेको सन्दर्भमा, ब्याटम्यान निर्वाचन क्षेत्रमा बसोबास गरिरहनुभएका नेपालीहरूलाई पनि ती लगायत ठुलो-सानो कुनै पनि समस्या भए आफुलाई निर्धक्क भएर सम्पर्क गर्न आव्हान गर्दै सांसद कर्नी अगाडी थप्छिन्,

"अध्यागमन, भिसा लगायतका समस्यामा भएका धेरै मानिसहरु मकहाँ आइ नै रहनुहुन्छ। अस्ट्रेलियन नागिरिकता लिने क्रममा ढिलासुस्ती भएको खण्डमा पनि मेरो कार्यालयले सहयोग गरिरहेको छ। प्रशासनिक झै-झमेलाका कारण मेडिकेयर, सेन्टरलिङ्क तथा एनडीआईयस भनिने राष्ट्रिय अपाङ्गता बीमा योजनासम्मको पहुँचका लागि पनि हामीले मद्दत गर्ने गरेका छौँ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरुका अनेकन समस्याहरु बारे आफु निक्कै प्रष्ट रहेको जनाउदै उनी भन्छिन्, "अन्तर्राष्ट्रिय विद्यार्थीहरुले निकै चुनौतीहरुको सामना गरिरहनुपरेको छ। उचित एवं सुलभ वासस्थान उनीहरुको प्राथमिक आवस्यकता हो भने व्यापार व्यवसाय गर्ने केही मानिसहरुबाट हुँदै आएको शोषण र उनीहरुको अनुचित लाभ उठाउने कुरामा पनि हामीले ध्यान दिनुपर्छ।"

"हामीले अन्तर्राष्ट्रिय विद्यार्थीका निम्ति गर्नसक्ने धेरै कुराहरु छन् तसर्थ जो विद्यार्थी एक्लोपनाको महशुस गरिरहनु भएको छ वा समस्याहरुसँग राम्ररी जुध्नु सकिरहनु भएको छैन भने बिना सङ्कोच मलाई भेट्न आउन म उहाँहरुलाई आव्हान गर्छु।"

अन्तर्राष्ट्रिय श्रम संगठनमा काम गर्दादेखि नेपालीहरुसित आफ्नो भावनात्मक सम्बन्ध गाँसिएको बताउने सांसद कार्नी, नेपालीहरुलाई उच्च दर्जामा राख्दै भन्छिन, नेपालीहरु निकै नै पढेलेखेका र ज्ञानी जमात हुनुहुन्छ। मेरो अनुभवमा उहाँहरु एकदमै स्पष्ट सोच भएको, दृढ-निश्चयी तर शिष्टाचर-युक्त स्वभाव हुनुहुन्छ र उहाँहरुसँग काम गर्न पाउँदा मलाई रमाइलो अनुभति हुन्छ।

Ged Kearney, Federal Member
Source: Facebook/Ged Kearney

अस्ट्रेलियाका अन्य स्थानहरु जस्तै, ब्याटम्यानको पनि सबल पक्ष यहाँ बसोबास गर्ने विविध सांस्कृतिक पृष्ठभूमिका मानिसहरु हुन् भन्ने मान्यता राख्ने कार्नी, द्रुत रुपमा बढिरहेको नेपाली समुदायको संख्याले समाजलाई योगदान गर्ने विश्वास लिंदै भन्छिन,

"१६०० भन्दा बढीको संख्यामा रहेको नेपाली समुदाय ब्याटम्यानमा मात्र नभएर भिक्टोरिया राज्यमै सबैभन्दा रफ्तारमा बढिरहेको छ। मलाई थाहा छ उहाँहरुको उपस्थितिले हाम्रो क्षेत्रलाई अझ उचाइमा पुर्यान योगदान गर्नेछ।"

अस्ट्रेलियामा बसोबास गर्ने बृहत नेपाली समुदायलाई के संदेश दिन चहानुहुन्छ भन्ने एसबीएस नेपालीको प्रश्नको जवाफमा उनले भनिन्, " बलियो परिवारले समृद्ध समुदाय तथा त्यसले अन्तत: सशक्त समाज निर्माण गर्छ भन्ने मेरो संदेश छ नेपाली समुदायलाई छ। मैले केही गर्न सक्छु भन्ने लाग्यो भने कृपया मलाई एक चोटी अवस्य सम्झनुहोस्, मेरा ढोका तपाईंहरुका लागि सधैँ खुल्ला छ।"

अस्ट्रेलियन ट्रेड युनियन परिषदको नेतृत्व समेत सम्हालिसकेकी जेड कार्निले, तात्कालिन सांसद डेभिड फेनीले अस्ट्रेलियन नागरिकता बिबाद पस्चात राजिनामा दिए पछि रिक्त पदमा लेबर पार्टीकातर्फबाट बिजय हासिल गरेकी हुन्।


यस शृंखलाका अरु कुराकानी


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now