यसपालिको ट्याक्स रिटर्न गर्दा बिचार पुर्‍याउनु पर्ने कुराहरू

यो वर्ष ट्याक्स रिटर्न गर्दा कोरोनाभाइरस महामारीका कारण केही कुरा अदल-बदल त हुनेछन् तर, तपाईंले सोचे जस्तो यो काम निकै गाह्रो भने नहुने विज्ञहरूको धारणा छ।

Tax Time - Australia

Tax Time - Australia - wooden letters with tax form, magnifying glass, money and calculator Source: Getty Images

अमेरिकी राष्ट्रपिता बेन्जामिन फ्रान्क्लिनले कुनै बखत भनेका थिए रे - मृत्यु र कर अवश्यम्भावी छ भनेर।

सन् २०२० को बिच तिर आइपुग्दा अस्ट्रेलियामा कर बारे कुरा गर्ने समय पनि हाम्रो सामु उपस्थित भएको छ।

कर कार्यालयको भनाई

अस्ट्रेलियामा बस्ने लगभग डेढ करोड मानिसहरूले यसपालि ट्याक्स रिटर्न गर्ने बताइँदै गर्दा अस्ट्रेलियाली कर कार्यालय (एटीओ)का सहायक आयुक्त क्यारेन फोट भन्छिन् कि कोरोनाभाइरस महामारीका कारण सङ्घीय सरकारद्वारा लिइएको आर्थिक कदमहरूका कारण यस वर्षको ट्याक्स रिटर्न अन्य आर्थिक वर्षका भन्दा भिन्नै किसिमको हुनेछ।

“अब हेर्नुहोस्, यसपालि धेरै मानिसहरू फरक परिस्थितिमा छन्, त्यसैले यो भन्दा अघि कहिल्यै पनि नभएको आय स्रोत उनीहरूको हुनसक्छ। मानिसहरूलाई कर छुट पनि विविध शीर्षकमा प्राप्त हुनसक्छ, जुन सामान्य अवस्थामा लागू नहुन पनि सक्थ्यो,” उनले भनिन्।

फोटका अनुसार, यसपालि विशेष रूपमा मानिसहरूले घरैबाट काम गरेको दाबी अन्तर्गत कर छुटका लागि आवेदन बढ्ने अनुमान छ र त्यो सँगसँगै काम सम्बन्धित यात्रा शीर्षकमा भने दाबीहरू कम मात्रामा हुने अपेक्षा कर कार्यालयको छ।

“हामीले थुप्रै मानिसहरूको आयमा कमी भएको पनि देखेका छौँ,” उनी थप्छिन्।

Australian Taxation Office
Australian Taxation Office Source: AAP

अस्ट्रेलियाली कर कार्यालयले यो वर्षको ट्याक्स रिटर्नमा कामसँग सम्बन्धित शीर्षकमा - कर छुटका लागि थुप्रै दरखास्त प्राप्त हुने अपेक्षा गरेको छ।

कर कार्यालय भन्छ कि तपाईँ आफैँले आफ्नो ट्याक्स रिटर्न गर्दै हुनुहुन्छ भने, तपाईंले अनिवार्य रूपमा माइगभ खाता र एटीओको माइट्याक्स सेवालाई जोड्नु पर्छ।

यी विविध परिवर्तनका कारण एटीओले विभिन्न समुदायका मानिसहरूलाई थप सहायता प्रदान गर्ने, सहायक आयुक्त क्यारेन फोट बताउँछिन्।

“व्यक्तिगत रूपमा आफ्नो ट्याक्स रिटर्न तपाईँ आफैँले गर्दा, अक्टोबर मसान्तसम्मको समय छ। यस कारण पनि तपाईँलाई ट्याक्स रिटर्न गर्न मन्नेग्य समय छ,” उनले भनिन्।

“हामीसँग थुप्रै सहयोगी जानकारीहरू र मद्दत विभिन्न भाषाहरूमा उपलब्ध छन्, तपाईँलाई आफ्नो ट्याक्स रिटर्न सहज रूपमा गर्न सहयोग पुगोस् भनेर।”

क्लेम गर्न मिल्ने र नमिल्ने कुराहरू

Tax Nepali
Source: SBS Nepali

अब कुरा गरौँ तपाईंले घरैबाट काम गरिरहनुभएको छ भने के-के कुरामा “क्लेम” गर्न सक्नुहुन्छ भन्ने विषयमा।

आफ्नो मोर्गेज, घर भाडा वा चिया, कफी र खाना जस्ता कुराहरूमा गर्नुभएको खर्चमा कर छुट तपाईंले दाबी गर्न सक्नुहुन्न।

तर, फोन एवं इन्टरनेट खर्चका केही हिस्सा भने तपाईंले क्लेम गर्न पाउनुहुन्छ।

त्यसै गरी, तपाईंले कामका लागि प्रयोग गर्नुभएको कोठा तताउन वा चिस्याउन अनि बत्ती बाल्न प्रयोग गर्नुभएको बिजुलीको महसुलको केही अंश पनि दाबी गर्न सक्नुहुन्छ तर, तपाईंले आफ्नो कामका लागि ती सुविधा प्रयोग गरेको समयका लागि मात्र।

तपाईंले आफूले काम गर्ने कोठाको साफ-सफाइ अनि त्यसका लागि आवश्यक फर्निचरका लागि गर्नुभएको खर्च पनि दाबी गर्न सकिन्छ।

Tax returm
Source: Pixabay

सीपीए अस्ट्रेलियामा कर नीति सल्लाहकारका रूपमा कार्यरत एल्लिनर कसापिदिस भन्छन्, ट्याक्स एजेन्टहरूले तपाईँका परिस्थितिहरूको मूल्याङ्कन गरेर, तपाईँका हकमा ट्याक्स रिटर्न गर्दा लागू हुने सर्वोकृष्ट उपायहरूबारे सल्लाह दिन सक्छन्।

“उनीहरूको भूमिका भनेको मार्ग सहज तुल्याउनु हो - उनीहरूलाई भित्री र बाहिरी सम्पूर्ण कुरा थाहा हुन्छ। कहाँ कर छुट लागू हुन्छ, के-कस्ता कर सुविधाहरू लिन मिल्छ र त्यो ठिक तरिकाबाट कसरी पाउन सकिन्छ भनेर उनीहरूलाई थाहा हुन्छ,” कसापिदिसले स्पष्ट पार्दै भने।

“ट्याक्स रिटर्न कम्प्लीकेटेड प्रोसेस पनि हुनसक्छ।”

उनका अनुसार तपाईंले कारणवश केही वर्षका ट्याक्स रिटर्न गर्न अझ बाँकी रहेको छ वा कर बुझाउन बाँकी छ भने पनि, आफ्नो ट्याक्स एजेन्टको सहयोगमा सो कार्य सम्पन्न गर्न सक्नुहुनेछ।

जबकीपर, जबसीकर र अग्रिम सुपरएन्नुएसन भुक्तानी

म त जबकीपरमा छु अहिले भन्नुहुन्छ र आफ्नो रोजगारदाताबाट तलब जस्तै गरी जबकीपर भुक्तानी प्राप्त गरिरहनुभएको छ भने, तपाईंले यस पाला खासै केही फरक गर्नु पर्दैन।

फरक हुने भनेको तपाईँको आय विवरण हो, जसलाई पहिले पेमेन्ट समरी भनेर चिनिन्थ्यो - अब त्यो तपाईँको माइगभ खाताबाट मात्रै पाउन सकिन्छ।

तपाईंले ट्याक्स एजेन्टको सेवा लिनुहुन्छ भने, उनीहरूसँग पनि त्यो जानकारीको पहुँच हुन्छ तर फोटका अनुसार, तपाईँ “सोल ट्रेडर” हुनुहुन्छ भने चाहिँ परिस्थिति केही फरक हुन जान्छ।

“यदि तपाईंले जबकीपर सोल ट्रेडरको रूपमा प्राप्त गर्नुभएको छ भने तपाईंले त्यसलाई आफ्नो व्यापारिक आम्दानीमा जोड्नुपर्छ। यो एकदमै महत्त्वपूर्ण छ,” उनले भनिन्।

“एक कर्मचारीका रूपमा उक्त भुक्तानी प्राप्त गर्नहुन्छ भने चाहिँ पर्दैन।” 

जबकीपर भुक्तानी उपलब्ध हुनु पूर्व नै तपाईँलाई बेतलबी बिदामा बस्न भनिएको थियो र त्यस बापत केही रकम शोधभर्नाका रूपमा दिइएको थियो भने, ट्याक्स रिटर्नमा सो भुक्तानीलाई पनि तलब वा ज्याला कै रूपमा देखाइने छ।

काम खोज्दै हुनुहुन्छ र जबसीकर भुक्तानी पाई रहनुभएको छ भने पनि, तपाईंले त्यसलाई पनि आय कै रूपमा देखाउनु पर्ने बताउँछिन् कर कार्यालयकी सहायक आयुक्त, क्यारेन फोट।

“जबसीकर पनि कर लाग्ने भुक्तानी हो र एटीओले यसलाई स्वतः तपाईँको ट्याक्स रिटर्नमा समावेश गर्छ,” फोट भन्छिन्।

“साधरणतया यो जुलाईको सुरु तिर तयार भइसक्छ तर तपाईंले जुलाई लाग्दा-लाग्दै नै ट्याक्स रिटर्न गर्न खोज्नुहुन्छ भने चाहिँ, यो जानकारी समावेश भएको छ कि छैन भनेर एक पटक हेर्नुहोस्।”

म त पैसा नभएर आच्छु-आच्छु भएको थिएँ, त्यसैले सुपरएन्नुएसनबाट केही रकम झिकें भन्नेमा पर्नुहुन्छ भने चाहिँ यो “ट्याक्स फ्री” हुने भएकोले, ट्याक्स रिटर्नमा यो बारे केही पनि उल्लेख गर्नु पर्दैन!

इन्भेस्टमेन्ट प्रपर्टी

Nepali Investment Property
Source: Photo by David McBee from Pexels

अस्ट्रेलियामा घर भाडामा लगाउने मानिसहरू मध्येमा तपाईं पर्नुहुन्छ भने, तपाईँका भाडावाल र तपाईंले - कोरोना सङ्कटको सुरु तिर, अझ भनौँ मार्च आखिरी र अप्रिल सुरु तिर - घर भाडा बारे के-कस्तो सहमति गर्नुभएको थियो - एक पटक बिचार गर्नुहोस्।

यदि तपाईँका भाडावालले छुट सहितको घर भाडा बुझाइरहेका छन् भने, त्यो स्वतः पहिले झैँ आय कै रूपमा दरिने भयो।

तर, म अहिले घर भाडा तिर्न सक्दिन - केही महिना पछि स्थिति सुढ्रिढ बन्दै जाँदा तिर्नेछु भनेर तपाईँका भाडावालले भनेका छन् र, हाल केही महिनादेखि घर भाडा प्राप्त गरिरहनु भएको छैन भने - तपाईंले यस पालाको ट्याक्स रिटर्न गर्दा यो कुरामा ध्यान दिनु आवश्यक छ।

यो आर्थिक वर्ष कमाई नभएको रकम, यसपालिको ट्याक्स रिटर्नमा देखाउनु त परेन तर, आयमा भएको ह्रासबाट जोगिने बिमा गर्नु भएको छ र त्यस बापत भुक्तानी बुझ्नु भएको छ भने, त्यो चाहिँ देखाउन छुट्नु भएन।

अस्ट्रेलियाली कर कार्यालयकी फोट, थुप्रै घरधनीहरूका घर भाडा बापतको आय साबिकको भन्दा कम भएको तर खर्च चाहिँ पूर्ववर्ती रूपमै रहने अवस्थाका कारण, उनीहरूले यो शीर्षकमा केही थप घाटा बहन गर्नुपरेको हुनसक्ने बारे आफूहरू सचेत रहेको बताउँछिन्।

अनि आफ्नो “इन्भेस्टमेन्ट प्रपर्टी” को सम्बन्धमा तपाईंले तिर्नुपर्ने मोर्गेज, आफ्नो आय प्रभावित भएका कारण तपाईंको ब्याङ्क ऋण केही समयका लागी धकेलिएको छ भने पनि, त्यसको ब्याज यद्यपि कानूनत: कर छुटका लागि योग्य हुनसक्ने बताइएको छ।

कर सम्बन्धी निःशुल्क सल्लाह

Tax chat
Source: Photo by nappy from Pexels

कर सम्बन्धी विविध समस्या भोगेका मानिसहरू र आर्थिक समस्यामा परेका साना व्यवसायीहरू माथि अध्ययन एवं मूल्याङ्कन गर्दै आएकी डा एन केयिस-कुमार, न्यु साउथ वेल्स विश्वविद्यालयको निःशुल्क कर क्लिनिकको मद्दत लिन सल्लाह दिन्छिन्।

केयिस-कुमार भन्छिन् कि मानिसहरूलाई करसँग सामना गर्ने भन्ने बित्तिकै जसो - मनोवैज्ञानिक भारले पिरोल्न थाल्छ।

“थुप्रै मानिसहरूले धेरै वर्षसम्म ट्याक्स रिटर्न गरेकै हुँदैनन् र त्यो भार यति विघ्न हुन्छ कि त्यसले अनिश्चितताको वातावरण र तनाव सृजना गरिदिन्छ,” उनले भनिन्।

“एटीओद्वारा सञ्चालित ट्याक्स हेल्प कार्यक्रम अनि स्वतन्त्र रूपले व्यावसायिक सल्लाह दिने कर व्यवसायीहरू (ट्याक्स रिटर्न सहयोग हेतु) उपलब्ध त छन्, तर तिनले दिने सेवाहरूमा अन्तर छ।”

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौं कि यहाँ व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।

 

 


6 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now