सन् १९७४ जुन महिना अस्ट्रेलियाको फुटबल इतिहासका लागि निकै गौरवमय थियो।
किनकि अस्ट्रेलियाली फुटबल टोली सकरूजले पहीलो पटक विश्वकप जस्तो फुटबलको सबैभन्दा ठुलो खेलमा सहभागिता जनाउने मौका पाएको थियो।
र उक्त गौरवशाली टिमको एक सदस्यका रूपमा विराजुरीका आदिवासी खेलाडी ह्यारि विलिम्स् पनि थिए।
केवल ६ वटा खेलमा प्रतिनिधित्व गरेका २३ बर्सिया खेलाडीका लागि विश्वकपमा खेल्नका लागि राष्ट्रिय टोलीमा छनोटमा पर्नु निकै चमत्कारिक थियो।
वरिमीका जोन मेर्नडले खेलको इतिहासलाई समेट्दै लेखेको “दि एबोरजिनल सकर ट्राइब” नामक एक पुस्तकमा आदिवासीहरुको प्रतिनिधित्व हुँदै विश्वकपमा अस्ट्रेलिया सहभागी हुनु एक ऐतिहासिक क्षण भएको लेखेका छन्।
“प्रेरणादायी, बिल्कुल प्रेरणादायी,” उनले एनआइटीभीलाई भने।
“एक जवान आदिवासी पुरुषका रूपमा उनको खेल हेर्नु निकै शानदार थियो।”
'म एकैछिनमा आकर्षित भएँ'
सन् १९५१ मा दरुग कन्ट्रीमा जन्मिएको भएर पनि होला, उनी रग्बी खेलाडी बन्छन् कि भन्ने परिवारको अपेक्षा थियो।
सिड्नीको दक्षिणी क्षेत्र विशेष गरी सेन्ट जोर्ज क्षेत्रमा रग्बी खेल प्रतिको लगावका कारण पनि उनका आफन्त र परिवारको यस्तो अपेक्षा बनेको थियो।
तर ९ वर्षको पुग्दा छिमेकी साथीले सकर खेलमा तालिम लिन पुर्याएपछि भने उनले फुटबललाई नै आफ्नो करिअर रोजे।
“एक दिन छिमेकीको छोराले फुटबल तालिमका लागि लिएर गयो र त्यसैमा मेरो मन बस्यो,” उनले सिड्नी मर्निङ्ग हेरल्ड्ससँग भने।
“मेरो परिवारको एक नजिकका साथीले फुटबल छाडेर, रग्बी खेल्नका लागि सधैँ आग्रह गर्थ्यो तर मैले सकिन, यसैमा मेरो लगाव भयो।”
खेलमा आबद्धता राख्दै जाँदा, कुनै समयमा सिड्नीमा 'ग्लामरस टिम'का रूपमा चर्चित सेन्ट जर्ज पुलिस र सेन्ट जर्ज बुढापेस्टका लागि उनले खेल्न थाले।
उनको खेल हेरेका जोन मेर्नडले उनमा भएको कौशलताका बारेमा जानी सकेका थिए।
“उनी एक हिसाबले वरदान प्राप्त खेलाडी थिए।”
उनको खेल हेर्ने सबैले उनको प्रतिभाको पहिचान गरिसकेका थिए, जसको फलस्वरूप ६ वटा 'फर्स्ट ग्रेड' खेल पश्चात् नै उनी राष्ट्रिय टोलीमा चयन हुन सके।

आदिवासी समुदायको पहिलो सकरूज
राष्ट्रिय टोलीमा छनौटमा परेसँगै आदिवासीहरूले खेल क्षेत्रका लागि एक नायक पाएका थिए।
आफूमा भएको सिपका कारण उनले विश्वका विभिन्न देशमा पुगेर आफ्नो खेल कुशलता पर्दशन गरे।

सन २००६ मा एक अर्न्तवार्तका क्रममा उनले “आफू स्तब्ध रहेको र खेलबाट मनोरंजन लिइरहेको” बताएका थिए।
“इन्डोनेसिया, हंङ्गकङ्ग, चीन, मेक्सिको, इरान लगायत करिब एक दर्जन देशहरूमा हामीले करिब १५ वटा खेल खेल्यौ” उनले भने।
तर यतिले मात्र पुगेको थिएन, उनलाई इतिहास रच्नु थियो।

विश्वकप
१९७४ मा पहीलोपटक अस्ट्रेलिया, फुटबलको महासङ्ग्राम पनि भनिने विश्वकप खेल्नका लागि चयन भयो।
तर वेस्ट जर्मनीमा भएको खेलमा सहभागिताका लागि चयन भएका सबै खेलाडीको, खेलेरै बाच्ने अवस्था थिएन।
सबै खेलाडीका आ-आफ्ना जागिर थिए।
मेर्नड तत्कालीन समयमा अस्ट्रेलियाली टोलीका सबै खेलाडीका लागि खेल्नु पार्ट टायम मात्र भएको सम्झन्छन्।
“उनीहरू सबैको अर्को जागिर थियो, ह्यारिले मसँग लामो टुरमा जानुको अर्थ फर्केर आउँदा आफ्नो जागिर गुमाउने डर रहेको गुनासो गरेका थिए,” उनले भने।
तत्कालीन समयमा विश्वकपमा बलियो मानिएका टोली चिले, इस्ट जर्मनी र वेस्ट जर्मनीसँग सकरूजले खेलेको थियो।
“ह्यारि चिलेसँगको खेलमा अतिरिक्त खेलाडीका रूपमा मैदानमा छिरेका थिए,”
“र आज हामीले यही क्षणलाई सम्झन्छौ, एक आदिवासीले विश्व रङ्गमञ्चमा, विश्वकपमा खेलेको थियो,” मेर्नड भन्छन्।
चिलेसँगको खेल बराबरीमा रोकिँदा सकरूजले अस्ट्रेलियाको पहिलो अङ्क पाएको थियो, र त्यो एक विराजुरी व्यक्तिको महिमाको एक महत्त्वपूर्ण हिस्सा थियो।
मेर्नडका अनुसार प्रभाव “एकदमै ठुलो” थियो।
“उनले संसारको सबैभन्दा ठुलो खेलमा आदिवासीको प्रतिनिधित्व गरेका थिए, जुन उत्साहित पार्ने खालको थियो।”

विरासत जारी राख्ने आशा
मेर्नड यो इतिहासलाई अस्ट्रेलियाले कायम राख्न नसकेकोमा भने दुख व्यक्त गर्छन्।
यद्यपि सकरूज र मटिल्डासमा आदिवासी फुटबल खेलाडीहरूको अविश्वसनीय गौरवमय इतिहास छ।
तर विश्वकपमा सहभागी हुन पाउने अवसर पाउने आदिवासीमा चाहिँ ह्यारी मात्र एक हुन्।
“म निःसन्देह तर्क गर्छु, विलियम्स एक महान् आदिवासी फुटबलर थिए, र अस्ट्रेलियाका लागि खेल्ने महान् खेलाडी मध्ये एक हुन्।”
