सिड्नी व्यापारी एडी क्यांगलाई सन् २०१७ सालमा ११ जना अन्तराष्ट्रिय विद्यार्थीहरुलाई ४५७ भिसा मिलाउने प्रलोभन देखाई हजारौं डलर ठगी गरेको आरोपमा १२ महिने जेल सजाय सुनाइएको थियो।
तर क्यांगले अदालतको उक्त फैसला विरुद्ध अपील सुरु गरेपछि उनि हाल जमानतमा रहेका छन्। जमानतमा रहँदा उनी एक मात्र प्रमुख रहेको संस्थाको तर्फ बाट कुनै पनि भिसाको लागि आवेदन हाल्न नपाउने शर्त पनि अदालत द्वारा राखिएको छ।
न्यू साउथ वेल्स फेयर ट्रेडिंगले पनि केहि समय अगाडी गोल्डम्यान पिन्टेक्स म्यानेजमेन्ट र उक्त संस्थाका निर्देशक यून सियोक "जोसेफ" चोइसँग कुनै कारोबार नगर्न चेतावनी जारी गरेको थियो।
तर एबीसी द्वारा प्रकाशित एक पछिल्लो समाचारमा भने एडी क्यांगले अझै पनि विद्यार्थीहरुलाई ठगी रहेको आरोप लगाइएको छ।
र केहि कम्पनीहरु जसमा उनी प्रमुख रहेका छैनन् त्यस्ता कम्पनीहरुका माध्यमबाट पनि उनले गैरकानूनी क्रियाकलापलाई निरन्तरता दिएको न्यु साउथ वेल्स फेयर ट्रेडिंग विभागले प्रेस विज्ञप्ती मार्फत जनाएको छ।
अदालत द्वारा ठगीको आरोपमा दोषी ठहर गरिए पछि पनि क्यांगले कम्तिमा १० जना विद्यार्थीहरु बाट पैसा लिएको एबीसीको भनाइ छ।
सिड्नीमा केहि वर्ष देखि बस्दै आएका नेपाली सुनिल थपलिया पनि ती पीडित विद्यार्थीहरु मध्येका एक हुन्।

के भएको थियो सुनिल थपलियासँग :
लेखा विषयमा स्नातक गर्न २०१४ मा अस्ट्रेलिया आएका थिए सुनिल।
तर उक्त विषयबाट पीआर पाउन गाह्रो हुने देखेर उनले आफूभन्दा डेढ दुई वर्ष ढिला अस्ट्रेलिया आएकी आफ्नी श्रीमतीलाई डेन्टल टेक्निसियन पढाउने निर्णय गरेका थिए।
श्रीमतीको पढाइ सकिएपछि ४५७ भिसाको लागी आफूहरु योग्य भएको भन्ने सुनेर अनलाइनमा एजेन्टहरुको खोजि गर्ने क्रममा एडी क्यंगसम्म पुगेको सुनिलले एसबीएस नेपालीलाई बताए।
नर्थ सिड्नीमा रहेको गोल्ड म्यान पिन्टेक्स नामक कम्पनीमा उपलब्ध रहेको क्यंगको नम्बरमा सम्पर्क गरेर सुनिलले पहिलो पटक क्यंगलाई भेटेका थिए।
एक हप्ता पछिको दोस्रो भेटमा २०१७ अगस्टमा क्यंगसँग उनले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
"त्यसमा उसले पहिलो किस्ता मलाई ५ हजारको लागी कुरा गरेको थियो, मैले ४ हजार दिएको थिए।"
तर क्यांगबारे समाचारहरु सुने पछि आफूले तिरेको चार हजार डलर फिर्ता माग्ने प्रयास गर्दा उल्टै क्यांगका गालीगलौजपूर्ण म्यासेजहरु पाएको सुनिल बताउँछन् ।
"म्यासेजमा क्यांगले आफ्नो व्यवसायलाई सक्काउन खोजेको आरोपका साथै फोहोरी संस्कृतिमा हुर्किएको र न्युन जीवनस्तर भएको व्यक्ति भनि अपशब्दहरुको प्रयोग गरेका थिए।"
कसरी क्यांगबारे थाहा भयो भन्ने प्रश्नको जवाफमा सुनिल भन्छन् ,"म नियमित त्यहाँ जाने क्रममा उनी बाट ठगिएका अरु व्यक्तिहरु पनि मैले भेटें। कुराकानी गर्ने क्रममा उनी जेल बाट छुटेको बारे समाचारहरु पनि मैले इन्टरनेटमा देखे।"
सुनिलका अनुसार पहिले श्रीमतीको भिसाको कुरा भएपनि पछि क्यंगले उनलाई आर पी एल सर्टिफिकेट बनाउने र आफ्नो कम्पनीबाट स्पोन्सरशिप गर्न प्रस्ताव गरेका थिए।
तर पढाइ र काम पनि असली भएकोले उनले श्रीमतीबाट नै भिसा आवेदन हाल्ने अडान राखेका थिए।
"धेरै पटक उसको कार्यालयमा गएर रकम फिर्ता पाउन कोशिश गरे। सेक्युरिटीलाई यसलाई भित्र छिर्न नदे भन्यो। मैले म्यासेज गरेर अनुरोध गर्दा उसले गालिगलौज गर्न थाल्यो।"
सुनिलले एसबीएस नेपालीलाई क्यंगसँग आफ्नो रकम फिर्ता गर्ने आग्रह पश्चात क्यंगले पठाएको म्यासेज पनि उपलब्ध गराएका छन्।
जसमा क्यंगले उनलाई आफ्नो व्यवसायलाई सक्काउन खोजेको आरोप साथै फोहोरी संस्कृतिमा हुर्किएको र न्युन जीवनस्तर भएको व्यक्ति भनि अपशब्दहरुको प्रयोग गरेका छन्।

उक्त रकम फिर्ता पाउन सुनिलले गरेका सबै प्रयासहरु असफल भएपछि उक्त रकम माया मारिसकेको बताउँछन्।
उनले यस क्रममा न्यू साउथ वेल्स फेयर ट्रेडिंगसँग पनि सम्पर्क गरेको, संचार माध्यममा आफ्नो कुराहरु पनि राखेको तर यसबाट केहि उपलब्धि हासिल नभएको भन्दै निराशा व्यक्त गरे।
४५७ भिसा दिलाइदिने र जागीरको पनि आश्वासन दिदै विदेशी विद्यार्थीहरुबाट रकम लिएपनि उनीहरुले आश्वासन अनुरुप परिणाम नपाए पछि आफ्नो रकम फिर्ता पाउन प्रयासरत रहेका छन्।
र एसबीएस नेपालीले पनि फेयर ट्रेडिंगसँग यस सम्बन्धि कुरा गर्दा, यो विषयमा फेयर ट्रेडिंगले केहि सहयोग गर्न नसक्ने बरु सहयोगको लागि न्यू साउथ वेल्सको नागरिक तथा प्रशासनिक अदालतमा सम्पर्क गर्न अथवा व्यक्तिगत वकिल राख्न सुझाव दिएको छ।
"दोषी करार भइसकेको व्यक्ति यसरी व्यवसाय संचालन गरेर बस्नु भनेको कानूनलाई मुर्ख बनाउन सक्ने खुबी रहेछ भन्ने बुझे पछि हार नै मानेको", सुनिलले बताए।
अन्त्यमा सुनिलले आफूजस्तै अन्य नेपालीहरुलाई धोखा नहोस भन्नको लागी केहि सुझावहरु पनि दिएका छन्।
भिसा सम्बन्धि बुझ्न मन भए साथिभाइको सुझावमा कोहि एजेन्ट छ भने उसकोमा जान तर आफुले नचिनेको व्यक्तिहरु कहाँ सकेसम्म नजान सुझाव दिन्छन्।
एडी क्यंगको कथित कर्तुत :
समाचारमा जनाइए अनुसार एडी क्यंग प्रमुख रहेको २० भन्दा बढी कम्पनीहरु देखिएको छ। उनले भिन्न नामहरुका साथ् ग्राहकहरुलाई ठग्ने गरेको बताइएको छ।
सिंगापुर आयल, स्काईलेन वर्ल्डवाइड, मिल एण्ड पेन र वोर्डरलेस ग्लोब जस्ता त्यसका उदाहरणका रुपमा प्रस्तुत गरिएको छ।
उनले पछिल्लो समयमा आफ्नो नाम समेत परिवर्तन गरि टेड क्यंग राखेको पनि उल्लेख गरिएको छ।
एडी क्यंगको सामाजिक संजाल लिंक्डइन प्रोफाइल मा उनी सिंगापूर आयल प्रा.ली. का प्रमुख कार्यकारी रहेको उल्लेख गरिएको छ। र उक्त कम्पनी १९८८ देखि अहिले सम्म संचालनमा रहेको देखिन्छ।

४५७ भिसा दिलाइदिने र जागीरको पनि आश्वासन दिदै विदेशी विद्यार्थीहरुबाट रकम लिएपनि उनीहरुले आश्वासन अनुरुप परिणाम नपाए पछि आफ्नो रकम फिर्ता पाउन प्रयासरत रहेका छन्।
आफ्नो वाचा अनुरुप काम नभए पछि फिर्ता पाउनु पर्ने रकम एडी क्यंगबाट लिन प्रयासरत विद्यार्थीहरू नागरिक तथा प्रशासनिक अदालतसम्म पुगे।
अदालतको पटक पटकको आदेश पश्चात पनि क्यंगले रकम नतिरेको एबिसीको समाचारमा उल्लेख गरिएको छ।
यस अघि २०१३ मा एबिसीद्वारा नै प्रकाशित एक समाचारमा उल्लेखित एडी क्यंगद्वारा पीडित भनिएका तिन जना नेपाली विद्यार्थीहरूका भनाइ राखिएको छ।
उक्त समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्।
