अभिभावकहरूको निम्ति नयाँ भिसा सहित सरकारद्वारा ३ नयाँ भिसाहरूको घोषणा

अस्ट्रेलियाको सङ्घीय सरकारले विभिन्न आप्रवासी समूहहरूको मागलाई ध्यानमा राखेर तीन नयाँ भिसा श्रेणीहरूको घोषणा गरेको छ।

Nepali in Melbourne, Australia

Source: Abhas Parajuli

सङ्घीय अध्यागमन मन्त्री डेभिड कोल्म्यानका अनुसार यी नयाँ घोषणा गरिएका भिसाका श्रेणीहरूद्वारा अस्ट्रेलियाको अध्यागमन नीतिमा पहिलेदेखि नै रहिआएका केही कमी कमजोरीहरू सम्बोधन हुने अपेक्षा सरकारले लिएको छ।

सङ्घीय सरकारले आसन्न चुनावलाई ध्यानमा राखेर आप्रवासीहरूका परिवार पुनर्मिलन, वृद्ध स्याहार तथा धार्मिक पूजा-आजा जस्ता आवश्यकतालाई परिपूर्ति गर्ने किसिमका भिसाहरूको घोषणा गरेको हो।

अस्ट्रेलियाको अध्यागमन प्रणाली चुस्त बनाउन आफू प्रयासरत रहेको पनि मन्त्री कोल्म्यानको भनाइ रहेको छ।

“यो नयाँ घोषणाद्वारा हामीले अस्ट्रेलियाको भिसा प्रणाली प्रभावकारी ढङ्गले काम गरिरहेको छ भनेर पक्का गर्न खोजेका हौँ।”

“विशेष गरेर वृद्धहरूको स्याहार, धार्मिक सङ्गठन तथा अभिभावकहरूको निम्ति भिसाहरू सहजताका साथ उपलब्ध हुन् र हाम्रो अध्यागमन प्रणालीले अस्ट्रेलियाको हित हुने गरेर कार्य गरोस् भन्ने नै हो।”

अभिभावकहरूको निम्ति नयाँ भिसा

सरकारले अस्ट्रेलियामा बसोबास गरिरहेका आप्रवासी पृष्ठभूमिका मानिसहरूलाई आफ्ना अभिभावकहरूलाई लामो अवधि राख्न सजिलो होस् भन्ने हेतुका साथ एक अस्थायी प्रायोजित भिसाको व्यवस्था गरेको छ।

यो नयाँ व्यवस्था अनुसार भिसा आवेदकहरू आफ्ना छोराछोरीसँग पाँच वर्षसम्म लगातार अस्ट्रेलियामा बस्न पाउने छन्। साथै, परेको खण्डमा थप पाँच वर्षको अवधि पुन: थप्न सकिने छ। तर, यसरी समयावधि थप्ने विकल्प रोज्ने आवेदकहरूले छोटो समयका लागि अस्ट्रेलिया भन्दा बाहिर समय व्यथित गर्नुपर्नेछ।

नयाँ व्यवस्था अनुसार, बर्सेनि १५,००० को सङ्ख्यासम्म यो प्रायोजित भिसा प्रदान गर्न सकिने बताइएको छ।

तर, तीन बर्से समयावधि भएको यस श्रेणी अन्तर्गतको भिसा आवेदन शुल्क ५,००० डलर, पाँच बर्से समयावधि भएको भिसाको आवेदन शुल्क १०,००० डलर तथा दस वर्षसम्म बस्न मिल्ने भिसाको आवेदन शुल्क २०,००० डलर तोकिएको छ। यी शुल्कहरूलाई लिएर केही आप्रवासी समुदायका मानिसहरू रुष्ट देखिन्छन्।

“लँग स्टे भिसा फर पेरेंट्स” अवथा अभिभावकहरूका निम्ति लामो समयावधिको प्रवेसाज्ञा नामक एक राष्ट्रिय अभियान नै सुरु गरेका अरविन्द दुग्गलका अनुसार भने सरकारद्वारा सन् २०१६ को आम निर्वाचनका बखत गरेको बाचा पुरा अझै गर्न बाँकी छ।

“अब उहाँहरूको (आवेदक अभिभावकहरूको) स्वास्थ्य बिमा पनि गर्नुपर्ने, उहाँहरूलाई प्रायोजन पनि गर्नुपर्ने तर अस्ट्रेलियामा बसुञ्जेल न कुनै काम गर्न पाउने सुविधा न मेडिकेयर।”

“अघिल्लो निर्वाचन ताका गरिएको वाचा भन्दा अहिले सरकारद्वारा गरिएको घोषणा निक्कै फरक छ।”

“त्यो बेला यसमा कति वटा भिसा दिने भनेर सीमा नतोकिने बताइएको थियो। अब हेर्नुहोस् त, अहिले जम्मा बर्सेनि १५,००० सम्म मात्र यस्ता भिसाहरू प्रदान गर्ने भनिएको छ।”

“यो त सरासर विश्वासघात भइहाल्यो नि!,” दुग्गलले भने।

उता सङ्घीय अध्यागमन मन्त्री कोल्म्यान भने नयाँ व्यवस्था गरिएका भिसाहरूको शुल्क उचित रहेको एसबीएसलाई बताउँछन्।

“भिसाको आवेदन हाल्दा सधैँ शुल्क लाग्छ र यो यथोचित नै हो। साथै, यहाँ बोलाउने परिवारजनहरूले नै आवेदनकर्ताहरुको स्वास्थ्य बिमा गरिदिनुपर्ने पनि न्यायोचित नै हो।"

किनभने, यस्ता कार्यका लागि हामीले अन्य अस्ट्रेलियन करदाताहरू माथि निर्भर हुनु ठिक हो जस्तो लाग्दैन।”

यो भिसा अनुसार, आफ्ना बाबु-आमालाई अस्ट्रेलिया बोलाउँदा उनीहरूको उपचारमा लाग्ने खर्च सबै छोराछोरीले व्यहोर्नुपर्ने नियम लागू हुने बताइएको छ।

वृद्ध स्याहार भिसा

अध्यागमन मन्त्रीद्वारा गरिएको नयाँ घोषणा अनुसार, वृद्ध स्याहार केन्द्रहरूले अबदेखि आप्रवासी पृष्ठभूमिका अग्रजहरूको आवश्यकतालाई ध्यानमा राखेर चाहिने सीप अनुरूपको स्याहारकर्ताहरु अन्य देशबाट मगाउन सक्नेछन्।

यस्तो व्यवस्था गरिदिन वृद्ध स्याहार केन्द्रहरूले लामो समयदेखि सरकारलाई गुहार्दै आइरहेका थिए।

फेडेरेसन अफ एथिनिक कम्युनिटिज काउन्सिल्स भनिने जातीय समुदायहरूको परिषद्की कार्यकारी अधिकृत मेरी पाटेस्टोसले उक्त घोषणाको स्वागत गरेता पनि यहीँ स्थानीय रूपमा उपलब्ध कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न तिर पनि सरकारको ध्यानाकर्षण गरेकी छिन् ।

“हामीलाई खासमा चाहिएको भनेको विभिन्न सांस्कृतिक पृष्ठभूमि समाविष्ट कार्य बल हो जसले उमेर ढल्कँदै गएका हाम्रा अग्रजहरूको राम्ररी ध्यान राख्न सकुन्,” पाटेस्टोसले भनिन्।

अध्यागमन मन्त्री कोल्न्यान भने श्रम सम्झौता माथि हुने कुनै पनि विचार अस्ट्रेलियाको आवश्यकतालाई हेरेर हुने धारणा राख्दछन्।

 

धार्मिक क्रियाकलापका लागि भिसा

अस्ट्रेलियाको राष्ट्रिय इमाम परिषद्ले नयाँ व्यवस्था अनुसारको धार्मिक क्रियाकलापहरूका निम्ति प्रदान गरिने भिसाको स्वागत गरेता पनि यसले अस्ट्रेलियामा चाहिने सङ्ख्यामा उपलब्ध नरहेका धार्मिक काम गर्ने मानिसहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि गर्न खासै सहयोग नपुर्‍याउने धारणा राखेको छ।


Share

3 min read

Published

Updated

By SBS Nepali, Joy Joshi

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now