सन् २०२२ भित्र मेलबर्न विमानस्थलसम्म रेल सेवा पुराउने लक्ष्यका साथ सङ्घीय र भिक्टोरिया सरकारद्वारा एक सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ।
मेलबर्नमा आयोजित एक समारोहमा प्रधानमन्त्री स्कट मरिसन र भिक्टोरियाली प्रिमियर ड्यानियल एण्ड्रुजले करिब १३ बिलियन डलरको लागतमा नौ वर्षको समय सीमा तोकिएर उक्त रेल लिङ्क परियोजना सुरु गर्ने सहमति जनाएका थिए।

केन्द्रीय तथा राज्य सरकार दुवैले यसका लागि ५-५ अर्ब डलर खर्च गर्नेछन् भने थप ५ अर्ब डलर मेट्रो ट्रेन, मेलबर्न विमानस्थल र सदर्न क्रस स्टेसन सम्मिलित एक निजी गठबन्धनले दिने घोषणा गरेको छ।
यो रेल लाइन विमानस्थल देखि पश्चिमी मेलबर्नको सनशाईन नामक सबर्ब हुँदै सहरको सदन क्रस स्टेसनसम्म पुग्नेछ।
मेलबर्नलाई एक वैश्विक सहरको उपाधि दिँदै प्रधानमन्त्री मरिसनले यहाँका बासिन्दाहरूको दशकौँ देखि रेल चढेर हवाईजहाज चढ्ने सपना पुरा हुन लागेको बताएका छन्।
“मेलबर्न जस्तो सहरले विश्व स्तरीय पूर्वाधारको अधिकार राख्छ," उनले भने।
उनका अनुसार रेल लिङ्क तयार भएपछि सहरमा रहेको गाडीहरूको भिडभाडलाई घटाउन केही सजिलो हुनेछ।

प्रिमियर एण्ड्रुजका अनुसार सनशाईन भएर कुद्ने त्यो रेल सेवाले मेलबर्न बाहेक जीलंग, ब्यालाराट तथा बेण्डिगो जस्ता अन्य भिक्टोरियाली सहरका मानिसहरूलाई पनि फाइदा दिनेछ।
२०१६/१७ आर्थिक वर्षमा करिब साँढे तीन करोड मानिसहरू आवत-आवतजावत गरेको मेलबर्नको टुलामरिन विमानस्थलले सन् २०३८ सम्ममा सात करोडको हाराहारीमा मानिसहरूलाई सेवा दिने बताइएको छ।
जनसङ्ख्या तथा सहरी आधारभूत संरचनाको जिम्मा पाएका सङ्घीय मन्त्री एलन टजले यस घोषणासँगै पूर्वी मेलबर्नका बासिन्दाहरूले विमानस्थलमा पार्किङको समस्याबाट मुक्ति पाउने बताए।
“पाकेन्हाम, फ़्राङ्क्स्टन अवथा रिङ्गवूड तिर बसोबास गर्ने मानिसहरूले आफ्नो नजिकैको रेल्वे स्टेसनबाटै रेल चढेर सदन क्रस स्टेसन हुँदै विमानस्थलसम्म पुग्न सक्नेछन्। समय त उत्तिकै लाग्ला तर विमानस्थल पुगेर पार्किङ गर्ने समस्याबाट चाहिँ छुटकारा पाउनेछन्।”
