चीनमा कार्यरत दुई अस्ट्रेलियाली पत्रकारहरुको सुरक्षा चिन्ताका माँझ, उनीहरुलाई आकस्मिक रूपमा स्वदेश फिर्ता ल्याइएको छ।
अस्ट्रेलियन ब्रोडकास्टिङ्ग कर्पोरेशन (एबीसी) का चीन सम्वादाता बिल बर्ट्ल्स र अस्ट्रेलियन फाइनान्सियल रिभ्यूका माइकल स्मिथलाई सोधपुछका लागि हाजिर हुन स्थानिय प्रहरी द्वारा आदेश दिइए पछि पत्रकार द्वयलाई चीनबाट फिर्ता ल्याइएको हो।
राज्य सुरक्षा सम्बन्धि चिनियाँ मन्त्रालय द्वारा दुबै पत्रकारसंग छुट्टाछुट्टै सोधपुछ गरिएपछि हिजो राती शाङ्घाइ बाट उढेको फ्लाइटमा उनिहरु फर्किएका हुन्।
गत हप्ता राजधानी बेइजिङ्ग स्थित अस्ट्रेलियाली कूटनीतिज्ञहरुले बर्टल्सलाई चीन बाट बाहिर जान सल्लाह दिएका थिए त्यसको केहि दिनमै उनलाई अस्ट्रेलिया फिर्ता ल्याउन फ्लाइटको पनि व्यवस्था गरिएको एबीसीको भनाइ छ।

तर बिहिवारको उनको फ्लाइट भन्दा अगाडी मध्यरातमा सात स्थानीय प्रहरी बर्टल्स बस्ने अपार्टमेन्टमा गई उनलाई देश बाट बाहिर जान प्रतिबन्ध लगाइएको र "एक राष्ट्रिय सुरक्षा" सम्बन्धि मामिलामा सोधपुछ गर्न आगामी दिन उनलाई सम्पर्क गरिने बताएका थिए।
त्यसपछि बर्टल्सले बेइजिङ्ग स्थित अस्ट्रेलियाली दुतावासमा शरण लिएका थिए। साथै आफ्नो "व्यक्तिगत सुरक्षा" माथि रहेको चिन्ताका कारण उनले चिनियाँ प्रहरीसंग कुरागर्न पनि असुइकार गरेको बताइएको छ।
एबीसीका अनुसार उनि माथि कुनै प्रकारको आरोप स्थानीय अधिकारीहरुले लगाएका थिएनन्।
एएफआरका पत्रकार माइकल स्मिथलाई पनि स्थानीय प्रहरी द्वारा सम्पर्क गरिए पछि, उनले शान्घाइ स्थित अस्ट्रेलियाली कन्सुलेटमा शरण लिएका थिए। एएफआरले पनि स्मिथलाई फिर्ता ल्याउने बन्दोबस्त मिलाएको थियो।
अस्ट्रेलियाली दूताबास द्वारा दुबैसंग सोधपुछ गरिए पछि उनीहरु माथि लगाइएको यात्रा प्रतिबन्ध फुकुवा गराउन चिनियाँ अधिकारीहरुसंग सहमती गरिएको हो।
गत हप्ता मात्र चिनियाँ सरकार द्वारा संचालित अंग्रेजी भाषा समाचार च्यानल सीजीटीएन मा कार्यरत अस्ट्रेलियाली पत्रकार चेङ्ग लेइलाई हिरासतमा लिइएको समाचार आएको थियो। लेइलाई हाल कन्सुलर सहायता प्रदान गरिएको अस्ट्रेलियाली सरकारको भनाइ छ।
गत जुलाई महिनामा अस्ट्रेलियाली विदेश मन्त्रालयले चीन जान चाहनेहरुका लागि यात्रा सम्बन्धि चेतावनी जारी गर्दै, चिनियाँ मूलभूमिमा स्थानिय प्रहरी द्वारा "मनमानी रूपमा" अस्ट्रेलियालीहरुलाई हिरासतमा लिइन सकिने बताएको थियो।

आज सिड्नी आइपुगे पछि पत्रकारहरुसंग कुरा गर्दै बिल बर्टल्सले उक्त अनुभव राम्रो नभएता पनि घर फर्कन पाउदा आफु खुसी भएको बताएका थिए।
त्यस्तै भनाइ पत्रकार स्मिथको पनि रहेको थियो।
"रातको समयमा प्रहरीहरु आफ्नो घरमा आउनुले आफुलाई "भयभीत बनाउने" प्रयास गरिएको र उक्त घटनाले चीनमा हाल रहेका विदेशी पत्रकारहरु माथि कतिको दबाब रहेकोबारे पनि प्रष्ट पार्दछ।"
यसैक्रममा विदेश मन्त्री मारिस पेयेनले चीन सम्बन्धि सरकारको यात्रा चेतावनीमा परिवर्तन नभएको बताएकी छन्।
"हाल विदेशमा रहेका वा, यात्रा गर्ने सोचिरहेकाहरुले स्मार्टट्राभलर वेबसाइट माथि निगरानी राख्न हामी प्रोत्साहित गर्दछौं," उनले भनिन्।
त्यस्तै छायाँ विदेश मन्त्री पेनी वोङ्गले पनि बिल बर्टल्स र माइकल स्मिथले सामना गर्नुपरेको अवस्था प्रति चिन्ता व्यक्त गरेकी छन्। लेबर सांसद भन्छिन कि समाचार संस्थाहरुले आफ्ना कर्मचारीहरुलाई फिर्ता ल्याउनपर्ने स्थिति सिर्जना हुनु खेदपूर्ण रहेको छ।
बर्टल्स र स्मिथ चीन बाट फर्कनुको मतलब अब उक्त राष्ट्रमा अस्ट्रेलियाली संचार निकायहरुको एउटा पनि आधिकारीक उपस्थिति रहेको छैन।

