SKIP TO MAIN CONTENT

संसारकै सर्वाधिक धनी व्यापारी र एक राजकुमार बिचको द्वन्द्वले उब्जाएका प्रश्नहरू

संसारका सर्वाधिक धनीसँग र एक शक्तिशाली व्यक्ति बिच पत्रकारिताबाट उब्जिएको झगडाले नाटकीय मोड लिएको छ।

CEO of Amazon, Jeff Bezos
CEO of Amazon, Jeff Bezos Source: EPA

3 min read

Published

Updated

Source: AFP, SBS



Skip to article content

संसारकै सबैभन्दा धनी मानिसको फोन पनि ह्याक हुँदो रहेछ।

जेफ बेजस, एमेजनका सञ्चालक हुन् जोसँग अहिले १२१ अर्व अमेरिकी डलर बराबरको सम्पत्ति रहेको छ तर, त्यति धेरै पैसा हुनेको फोनबाट पनि निजी सूचना चोरी हुँदो रहेछ।

अनि त्यसरी उनको फोन ह्याक गर्ने पनि कम्ती शक्तिशाली मानिस हैनन् - उनी चाहिँ परे साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमान।

चलचित्रको कथा झैँ लाग्ने गरी घटेको यो घटना हालै प्रकाशमा आएको समाचारहरूले जनाएका छन् र यो विषयको न्यायिक टुङ्गो दिनको लागि माग गर्नेमा अहिले संयुक्त राष्ट्र सङ्घ पनि परेको छ।

यि दुई शक्तिशाली व्यक्तित्वको झगडाको निहुँ चाहि अर्का एक व्यक्ति हुन्- जमाल कशोगी। कशोगी साउदी आरेबियाकै नागरिक थिए र विभिन्न पत्रपत्रिकाको लागि लेख्दथे।

यसैबिच, उनले वाशिङ्गटन पोस्टका लागि समसामयिक विषयहरूमा लेख्न सुरु गरे, र साउदी अरेबियाको शासकको कटु आलोचक बने।

Saudi Arabia Crown Prince Mohammed bin Salman on the second day of the G20 summit in Osaka, Japan, 29 June 2019
Saudi Arabia Crown Prince Mohammed bin Salman on the second day of the G20 summit in Osaka, Japan, 29 June 2019 Source: EPA

विशेष गरी, साउदी राजकुमारको शासन शैलीमा उनले धेरै प्रश्न उठाउने गर्थे, जसलाई त्यहाँको शासन पक्षले मन पराएको थिएन।

उनलाई बेला बेलामा धम्की पनि आउने गर्दथ्यो र उनी साउदी अरेबियाबाट निर्वासित भई अमेरिकामै बस्न थाले।

उता, वाशिङ्गटन पोस्टका समेत मालिक रहेका बेजसले आफ्नो पत्रिकामा छापिने कुराहरूमा प्रश्न नगर्ने अनि कुनै प्रभाव नजमाउने बताउँदै आएका थिए।

यसै बिच, सन् २०१८ को अप्रिल महिनामा साउदी राजकुमार र बेजसबिच अमेरिकाको लस एन्जेलस मा भेटवार्ता भयो।

बिन सलमान त्यहाँ आफ्नो देशमा थप लगानी भित्र्याउने उद्देश्यका साथ पुगेका थिए र दुई बिच आपसी फोन नम्बर त्यही साटासाट भयो।

समाचारमा जनाइए अनुसार, यसको एक महिना हुन नपाउँदै मोहम्मद बिन सलमानको फोनबाट बेजसले व्हाट्स एप मार्फत एक भिडियोको सन्देश पाए र कथित रूपमा उक्त सन्देशमा रहेको सूचना चोर्ने एक कोडले बेजसको फोनमा भएको सबै निजी, व्यावसायिक सूचना चोर्‍यो।

Prominent Saudi journalist Jamal Khashoggi.
Prominent Saudi journalist Jamal Khashoggi. Source: Anadolu

अनि अक्टोबर महिना आइपुग्दासम्म, कशोगीको हत्या भयो।

उनको हत्या टर्कीको ईस्तानुबलमा रहेको साउदी अरेबियाको दूतावासभित्र भएको पुष्टि भयो।

यसको लगतै साउदी अरेबियाको शासन पक्षलाई औला इङ्गित गर्दै समाचारहरू छापिन थाले जसमा वासिङ्टन पोस्ट निकै सक्रिय थियो।

अनि नोभेम्बर महिनामा साउदी राजकुमारको फोनबाट बेजसले आफ्नो निजी र गोप्य सूचनाहरू पाए जसको केही महिना पछि, अमेरिकी पत्रिकामा उनको प्रेम प्रसङ्ग र व्यक्तिगत कुराहरू प्रकाशित हुने क्रम सुरु भयो।

यसको लगत्तै, बेजस र उनकी श्रीमती म्याकेन्जी बेजस बिच सम्बन्ध विच्छेद हुन पुग्यो।

A file image of Jeff and MacKenzie Bezos in happier times
Jeff Bezos' ex-wife MacKenzie Bezos is giving him 75% of their stake in Amazon.com in their divorce. (AAP) Source: AAP

अहिले आएर, संयुक्त राष्ट्र सङ्घका मानव अधिकारकर्मीहरुले, बेजसको फोनमा आएका सूचनाको आधारमा साउदी अरेबियाका राजकुमार सामेल भएको देखिन्छ भनी बताएका छन् र यसैको आधारमा, उक्त विषयमा थप अनुसन्धान हुनुपर्ने माग उनीहरूले गरेका छन्।

बेजसले यस बारे बाहिर केही नबोले पनि उनका सहयोगीहरूका अनुसार थप अनुसन्धानका लागि बेजस अधिकारीहरुसँग सहकार्य गरिरहेको बताउँछन्।

यसअघि पनि साउदी अरेबियाको सरकारले आफ्ना विरोधीहरूको फोनका सूचना चोर्ने गरेको आरोप विभिन्न समयमा लागिसकेको थियो जस्तै की कशोगीका साथी ओमार अब्दुलाजीजको फोन पनि ह्याक भएको समाचार आएको थियो। 

उता, अमेरिका स्थित साउदी अरेबियाको दूतावासले भने कथित रूपमा आफ्नो देशका अधिकारीहरूद्वारा बेजसको सूचना चोरेको भन्ने समाचार खण्डन गरेको छ र साउदी राजकुमारलाई मुछेर लेखिएका समाचारहरूमा सत्यता नभएको दूतावासले जनाएको छ।

बेजसको टोली भने आफ्नो अडानमा अडिग रहेको छ र यस विषयमा थप अन्तर्राष्ट्रिय अनुसन्धान हुनु पर्ने बताउँदै आएको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now