SKIP TO MAIN CONTENT

विद्यार्थीहरुको असाइनमेन्ट गर्ने वा परिक्षामा बसिदिनेहरुलाई जेल र जरिवानाको प्रस्ताव

विश्वविद्यालयका विद्यार्थीहरूका लागि ‘चीटिंग सेवा' प्रदान गर्नेहरूलाई जेल सजाए वा लाखौँ डलरको जरिवाना तिराइन सकिने कानूनी प्रस्ताव मोरिशन सरकारले सार्वजनिक गरेको छ।

University student
Source: deseretnews

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

सङ्घीय सरकारद्वारा सार्वजनिक गरिएको एक पछिल्लो प्रस्तावमा विद्यार्थीहरूबाट पैसा लिँदै उनीहरूको सट्टा परीक्षामा बस्ने वा असाइनमेन्ट गरिदिनेहरुलाई दुई वर्षसम्मको जेल सजाय वा २ लाख १० हजार डलरसम्मको जरिवाना तिराइन सकिने देखिएको छ।

“कन्ट्रयाक्ट चीटिंग” भनेर पनि चिनिने त्यस्ता सेवाका लागि विज्ञापन गर्नेहरू माथि पनि उक्त सजाय लागु हुन सक्नेछ।

देशभरका विश्वविद्यालय र शिक्षण संस्थाहरुको समर्थनका साथ उच्च शिक्षा गुणस्तर मापदण्ड समूहद्वारा सङ्घीय सरकार समक्ष यस्ता सेवाहरू माथि रोक लगाउन कानुनी कारबाही गरिनुपर्ने सुझाव दिएपछि उक्त कदम आएको हो।

अस्ट्रेलिया भित्र वा विदेशबाट पनि त्यस्ता ठगीका सेवा प्रदान गर्नेहरू माथि कारबाही गर्ने लक्ष्यका साथ उक्त प्रस्ताव तयार पारिएको शिक्षा मन्त्री डान टिहान बताउँछन्।

उनको अनुसार संगठितरुपमा हुने शैक्षिक ठगिले अस्ट्रेलियाको विश्व स्तरीय शिक्षा व्यवस्थालाई कमजोर बनाइरहेका छन्।

आगामी सङ्घीय चुनाव पछि संसद्मा पेस हुने देखिएको उक्त प्रस्तावबारे बोल्दै शिक्षा मन्त्रीले भने, “अस्ट्रेलियाली विद्यार्थीहरूलाई लक्षित गर्दै पैसा ठग्न लागेकाहरू माथि मोरिशन सरकारले कदम चालेको हो।”

“मोरिशन सरकारको कार्यकालमा पैसा लिएर चीटिंग गर्नुलाई अपराध घोषणा गर्दा, ठगी कार्यमा संलग्नहरू सफल नहुने सन्देश दिनेछ”, उनले भने।

70f51de4-af23-4e01-ba59-a245ce0eb590

तर कानूनी संशोधनको उक्त प्रस्तावमा “चीटिंग सेवा” प्रयोग गर्ने विद्यार्थीहरू माथि चाहिँ आपराधिक कारबाही हुने छैन।

ठगी गर्न विद्यार्थीहरू माथि चाहिँ शिक्षण संस्था वा विश्वविद्यालयहरूको आन्तरिक नीति अन्तर्गत कदम चालिने बताइएको छ।

उक्त प्रस्ताव संसद्मा पारित भए अस्ट्रेलियाको राष्ट्रिय उच्च शिक्षा गुणस्तर माथि निगरानी राख्ने जिम्मा पाएको निकाय टेक्सालाई ठगीमा संलग्नहरू माथि कारबाही गर्न थप अधिकार प्रदान गर्ने छ।

साथै उच्च शिक्षा प्रदायकहरूका लागि शिक्षण सामाग्रीहरूको विकास गर्न, ठगी सम्बन्धी जानकारी आदान प्रदान गर्न र जरुरत परे दोषीहरूमाथि कारबाही सुरु गर्न पनि २०१८-२०१९ को आर्थिक बजेटमा टेक्साका लागि सङ्घीय सरकारले ११ लाख डलर सम्म छुट्टाएको छ।

के छ त कानूनी प्रस्तावमा?

उच्च शिक्षा सम्बन्धी कानुनमा संशोधन गर्ने प्रस्तावमा कुनै विद्यार्थीको पढाइसँग सम्बन्धित काम वा परीक्षामा पैसा लिएर ठगी गर्न सहयोग गरिन्छ।

  • कुनै विद्यार्थीहरूको असाइनमेन्ट वा पढाइसँग सम्बन्धित काम पूरा गर्नु
  • कुनै असाइनमेन्ट वा कुनै कामका केही भाग पनि उपलब्ध गराउनु
  • परीक्षाका पत्रमा रहेका प्रश्नहरूको जवाफ उपलब्ध गराउनु
  • र कसैको लागि परीक्षामा बसिदिनु

तर अपाङ्गता भएका वा विशेष जरुरत रहेका विद्यार्थीहरूलाई वैध रूपमा सेवा प्रदान गर्ने संस्थाहरूमाथि पनि कारबाही नहुने पनि प्रस्ताव रहेको छ।

चीटिंग सेवा प्रदान गर्ने घरेलु र विदेशी वेबसाइटहरूलाई बन्द गराउन टेक्सा समक्ष सङ्घीय अदालतको अनुमति लिने अधिकार पनि प्रदान गरिने छ।

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now