नेपालमा विशिष्ट व्यक्तिहरुको उपचार खर्चबारे स्पष्ट नियम नहुंदा मनपरी ढंगले राज्यको ढुकुटीबाट करोडौं रकम वितरण हुन थालेपछि स्वास्थ्य मन्त्रालयले त्यसबारे कार्यविधि परिमार्जन प्रकृया थालेको समाचार संस्था बिबिसिले जनाएको छ।
व्यवस्थापिका संसदको अर्थ समितिले एक महिना अगाडि निर्देशन दिएपछि स्वास्थ्य मन्त्रालयले नागरिक राहत क्षतिपूर्ति तथा आर्थिक सहायता सम्बन्धी कार्याविधि परिमार्जन गर्न लागेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन्। हालै नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला स्तन क्यानसरबाट पीडित भएको र सरकार समक्ष १ करोड उपचार सहयोग मागेको कुरा प्रकाशमा आए पछि यो पछिल्लो समाचार आएको हो।
हालको नियम अनुसार कार्याविधिमा भएको व्यवस्था बाहेक मन्त्रिपरिषदले आवश्यक ठानेमा जुनसुकै विशिष्ट व्यक्तिलाई जति पनि रकम वितरण गर्न सक्ने प्रावधान छ। अब हुने छलफलले विदेश उपचारको लागि पनि संशोधन व्यवस्था गर्न सक्ने बताईएको छ। विदेश उपचार गर्न जाने पनि अलि चलन बढेको हो कि जस्तो लागेर नेपालमा जुन उपचार उपलब्ध छ र जसका निम्ति नेपाली चिकित्सकहरु दक्ष छन्, ती बाहेक यहाँ उपचार हुन नसक्ने अवस्थामा मात्र विदेश उपचार गर्नका लागि रकम उपलब्ध गराउने विषय संशोधनमा पर्ने एक अधिकारीले बिबिसिलाई बताएका छन्।
