भिक्टोरियामा कोरोनाभाइरसका कारण १० जनाको मृत्यु र थप ४५९ जनामा कोभिड-१९ सङ्क्रमणको पुष्टि भएको छ।
अधिकारीहरुका अनुसार गत २४ घण्टा भित्र ज्यान गुमाउनेहरुमा ७ पुरुष र ३ महिला रहेको र उनीहरुको उमेर ४० देखि ८० वर्ष सम्मको रहेको छ।
आइतवार बिहान आयोजना भएको एक पत्रकार सम्मेलनमा बोल्दै प्रिमियर डानियल एन्ड्रुजले भने कि ज्यान गुमाउनेहरु मध्ये सात जना वृद्ध स्याहार केन्द्रहरुसंग सम्बन्धित रहेका छन्।
यसका साथ् भिक्टोरियामा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेहरुको कुल संख्या ७१ पुगेको छ भने राष्ट्रियस्तरमा उक्त संख्या १५५ रहेको छ।
एन्ड्रुजका अनुसार हाल कोरोनाभाइरस सङ्क्रमित २२८ जनाको भिक्टोरियाली अस्पतालमा उपचार भैरहेको र ती मध्ये ४२ जना सघन उपचारमा रहेका छन्।

शनिवार मात्र ३५७ जनामा कोभिड -१९ सङ्क्रमण पुष्टि भएको घोषणा गरेका भिक्टोरियाली प्रिमियरले एक दिन पछिको संख्या "एकदमै धेरै" रहेता पनि सङ्क्रमित वृद्धि दरमा चाहिं "केहि स्थिरता" देखिएको बताएका छन्।
"दैनिक सङ्क्रमण वृद्धि दर दोब्बर हुँदै नजानुले सापेक्ष रूपमा केहि स्थिरता देखिएको संकेत दिएता पनि नयाँ सङ्क्रमण दर घटाउन धेरै जरुरी रहेको छ," उनले भने।
राज्यमा देखिएको दोस्रो लहरको कोरोनाभाइरस सङ्क्रमणमा वृद्ध स्याहार केन्द्रहरु पनि धेरैनै प्रभावित भएका छन्।
प्रिमियरका अनुसार हाल राज्यमा शक्रिय रहेका ५६० केस उक्त केन्द्रहरुसंग सम्बन्धित रहेका छन् ती मध्ये ३८१ जना स्याहार केन्द्रका कर्मचारीहरु रहेका छन्।
साथै भिक्टोरियाका सबैले मास्क प्रयोग गर्दै भाइरस सङ्क्रमण घटाउन सहयोग गर्नु जरुरी रहेको एन्ड्रुजले जोड दिए।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे थप जानकारी यहाँ उपलब्ध छ।
रुघा खोकी वा चिसो लागेको लक्षण देखा परे तपाईंले घरमा नै बसेर आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गरी परीक्षणका लागि समय मिलाउनुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो भने वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा भने ००० (ट्रिपल जिरो)मा फोन गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

