सोमबार बिहान मेलबर्नमा आयोजित एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा भिक्टोरिया राज्यका प्रिमियर ड्यानिएल एन्ड्रुजले उक्त जानकारी दिएका हुन्।
आइतबार एक ७० वर्षीय पुरुषको कोरोनाभाइरसका कारण मृत्यु भएको भिक्टोरियामा, झन्डै दुई हप्ता यता लगातार रूपमा दिन-दिनै १०० भन्दा बढी मानिसहरूमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ।
सोमबार बिहानको घोषणासँगै भिक्टोरियामा हाल १,६१२ जना मानिसहरू सङ्क्रमित अवस्थामा नै रहेका छन् भने महामारी सुरु भए यता हालसम्म झन्डै चार हजारमा सङ्क्रमण पुष्टि भैसकेको छ।
हाल भिक्टोरियामा १७ कोरोनाभाइरसका बिरामी सघन उपचारमा रहेका छन् भने अस्पतालमा कुल ७२ जना भर्ती छन्।
गएको शुक्रवार २८८ सङ्क्रमित भेटिएको आफ्नो राज्यमा सोमबार १७७ जनामा मात्रै सङ्क्रमण देखिन राम्रो कुरा भए पनि एकै दिन झन् धेरै बिरामी भेटिन सक्ने बारे भिक्टोरियाका प्रमुख स्वास्थ्य अधिकारी ब्रेट सटनले सचेत गराएका छन्।
"पिक बेला भन्दा कम बिरामी भेटिनु राम्रो कुरा हो, तर त्यो (शुक्रवार) नै पिक नहुन पनि सक्छ," उनले पत्रकारहरूलाई सम्बोधन गर्दै भने।
न्यु साउथ वेल्सले पनि भिक्टोरिया कै बाटो पछ्याउने डर
भिक्टोरियाली स्वास्थ्य विभागले आफ्नो राज्यका दुई सङ्क्रमित व्यक्तिहरू न्यु साउथ वेल्सका विभिन्न स्थानहरू पुगेको पुष्टि गरे पछि र धमाधम सङ्क्रमणका घटनाहरू बाहिर आउन थाले पछि अस्ट्रेलियाको सर्वाधिक जनसङ्ख्या भएको राज्यमा पनि भिक्टोरिया कै जस्तो दोस्रो लहर देखिने हो कि भन्ने चिन्ता व्यक्त गर्न थालिएको छ।
न्यु साउथ वेल्स राज्यकी प्रिमियर ग्लाडीस बेरिजिक्लियनले क्रसरोड्स होटेल क्लस्टर बढ्दै जाँदा उक्त चिन्ता आइतबार व्यक्त गरेकी हुन्।

उनका अनुसार सिड्नीको दक्षिण पश्चिमी भूभागमा भुसको आगो जस्तै भित्र-भित्रै कोरोना सङ्क्रमण फैली रहेको हुनसक्ने बताइएकी छिन्।
बेरिजिक्लियनले अधिकारीहरूले गत जुलाई ३ तारिख उक्त पब गएका ६०० भन्दा बढी मानिसहरूलाई खोज्न भरमग्दुर प्रयास गरिरहेको बताउँदै भनिन्, "दक्षिण पश्चिमी सिड्नी (भाइरस सङ्क्रमणको) केन्द्रबिन्दु बन्न सक्छ।"
न्यु साउथ वेल्स प्रिमियारका अनुसार १,००० जना भन्दा बढी मानिसहरूले सेल्फ आइसोलेसनमा बस्नुपर्ने अवस्था हुन सक्छ।

राज्यकी प्रमुख स्वास्थ्य अधिकारी केरी च्यान्टले जुलाई ३ देखि १० तारिखको अवधि भित्र उक्त पब गएका वा त्यहाँ काम गरेका मानिसहरूले १४ दिन आइसोलेसनमा बिताउनु पर्ने र कुनै लक्षण नदेखाए पनि जाँच गराउन जानुपर्ने बताएकी छिन्।
उता, अस्ट्रेलियाका उप-प्रमुख स्वास्थ्य अधिकारी निक कोट्सले सो पब, ढुवानीमा संलग्न गाडीका चालकहरू निकै जाने भएकाले, उनीहरू मार्फत अन्य राज्यमा पनि कोरोना फैलन सक्ने बारे सचेत गराएका छन्।

भिक्टोरियाली अधिकारीहरूबाट जानकारी प्राप्त भए लगत्तै, एनएसडब्लु हेल्थले निम्न स्थान तथा मितिमा पुगेका मानिसहरूलाई तत्काल कोभिड-१९ परीक्षणका लागि अगाडी आउन आग्रह गरेको छ:
- कुक @ कर्नेल - जुलाई ५ - लन्चको समय
- हाइफिल्ड करिङ्गबाह - जुलाई ५ - डिनरको समय
- मेरिम्बुला आरएसएल - जुलाई ६ - डिनरको समय
- वाटरफ्रन्ट क्याफे, मेरिम्बुला - जुलाई ७ - ब्रेकफास्टको समय
- मर्री डाउन्स गल्फ क्लब - जुलाई ४ र ५
यसै गरी, कसुलाको क्रसरोड्स होटेलमा देखिएको सङ्क्रमणका कारण दक्षिण पश्चिमी सिड्नीको अर्को एक पब - पिक्टन होटेल पनि सरसफाइका लागि भन्दै बन्द गरिएको छ।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

