गएको २४ घण्टा यता भिक्टोरिया राज्यमा मात्रै २५ जनाले कोरोनाभाइरस सङ्क्रमणका कारण आफ्नो ज्यान गुमाएपछि सोमबार महामारी सुरु भएदेखि कै सबैभन्दा घातक दिन साबित भएको हो।
यो पछिल्लो तथ्याङ्कसँगै भिक्टोरियामा मात्र कोभिड-१९ का कारण ३३४ जनाको ज्यान गइसकेको छ भने राष्ट्रभर हालसम्म ४२१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ।
मृत्यु हुने २५ जना मध्ये २२ जना वृद्ध स्याहार केन्द्रसँग सम्बन्धित रहेका छन्।
महामारीका कारण मृत्यु हुने क्रम नरोकिए पनि दिनानुदिन सङ्क्रमित हुनेको सङ्ख्या ओरालो लाग्दै गएको देखिएको छ।
तर, प्रिमियर ड्यानिएल एन्ड्रुजले मानिसहरूलाई अझै सतर्क रहन आग्रह गरेका छन्।
"हामी यहाँ सन्तुष्टिको कुनै पनि भावना यहाँ भित्र प्रवेश गराउन सक्दैनौँ," उनले भने।
"यो एक अल्ट्रा म्याराथन हो, र हामीले प्रत्येक दिन अघि बढिरहनुपर्दछ र मलाई लाग्छ भिक्टोरियालीहरले त्यसो गर्नेछन्।"
यसै क्रममा सोमबार थप २८२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको भिक्टोरियाली अधिकारीहरूले गरेका छन्।
प्रिमियरले हाल सक्रिय रहेका कम्तीमा पनि २,००९ सङ्क्रमणका घटनाहरू ११४ विभिन्न प्रकोपहरूसँग जोडिएको पनि पुष्टि गरे।
विशेष आवास गृहका बासिन्दालाई अस्पताल सारिने
भाइरस फैलिएपछि, केन्द्रीय मेलबर्न भन्दा केही दक्षिणमा पर्ने एक विशेष आवास गृहका सबै बासिन्दाहरूलाई अस्पताल सारिएको छ।
एल्बर्ट पार्क स्थित ह्यामबेल्टन हाउसका बासिन्दाहरूले मास्क बिनै नजिकैका बाटोहरूमा हिँडेको भन्दै स्थानीय बासिन्दाहरूले चिन्ता व्यक्त गरेपछि हाल सो आवास गृह बाहिर सुरक्षा गार्डहरू तैनाथ गरिएको छ।

३४ जना मानिस क्षमताको ह्यामबेल्टन हाउसमा मानसिक स्वास्थ्य वा आनीबानीमा समस्या भएका मानिसहरू बस्ने गर्दछन्।
भिक्टोरियाकी स्वास्थ्य मन्त्री जेनी मिकाकोसका अनुसार मङ्गलवार नलाग्दै उक्त आवास गृहका सम्पूर्ण बासिन्दाहरूलाई अस्पतालमा स्थानान्तरण गरिसकिने छ।
प्रिमियरको ध्यान वृद्ध स्याहार केन्द्रका कर्मचारीमा
प्रिमियर ड्यानिएल एन्ड्रुज तथा राज्यका अन्य अधिकारीहरूले भिक्टोरियाली स्वास्थ्यकर्मीहरू बिच रहेको कोरोना सङ्क्रमण दर बारे बुझ्न थप कार्य गरिरहेको बताएका छन्।
सरकारी नर्सहरूलाई वृद्ध स्याहार केन्द्रहरूमा राख्ने निर्णय लगत्तै भिक्टोरियाली अधिकारीहरूको यस विषयमा चासो बढेको हो।

एन्ड्र्यूज भन्छन् कि स्वास्थ्य कर्मचारीका सम्बन्धमा केही आधारभूत प्रश्नहरूको उत्तर यस हप्ताको सुरु तिरै केही विवरणहरू सार्वजनिक हुनेछ।
पछिल्लो तथ्याङ्क अनुसार, १०६४ स्वास्थ्यकर्मीहरूले भाइरस सङ्क्रमित छन्।
"के उनीहरूले कार्यस्थलबाट रोग आफूमा सारे, कि समुदायबाट?"
उनका अनुसार सरकारी विश्लेषणबाट कस्ता प्रकारका स्वास्थ्यकर्मीहरू कहाँ र किन जोखिममा छन् भन्ने कुरा स्पष्ट हुनेछ।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।
मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्:
