गत चौबीस घण्टा भित्र कोरोनाभाइरसका कारण छ जनाको मृत्यु हुनुका साथै थप ३८४ जना कोभिड-१९ बाट सङ्क्रमित भएको प्रिमियर डानियल एन्ड्रुज ले बताएका छन्।
कोरोनाभाइरस अवस्थाबारे जानकारी गराउन आयोजना हुने आफ्नो दैनिक पत्रकार सम्मेलनमा बोल्दै एन्ड्रुजले ज्यान गुमाउनेहरु मध्ये ४ जना निजि वृद्ध स्याहार केन्द्रका निवासीहरु रहेको बताए।
उनका अनुसार हाल कोरोनाभाइरस सङ्क्रमित रहेका मध्ये २६० जनाको अस्पतालमा उपचार भैरहेको र ती मध्ये ४५ जना सघन उपचारमा रहेका छन्।
हिजो भिक्टोरियामा ५३२ जनामा कोरोनाभाइरस पुष्टि भएको एन्ड्रुजले बताएका थिए।
र आजको अवस्थामा केहि सुधार भएता पनि भिक्टोरियामा हाल सक्रिय रहेका ४७७५ कोभिड-१९ का केस मध्ये ४१४ जना स्वास्थ्य कर्मीहरु रहेको प्रिमियरले बताए।
अत्यावश्यक बाहेकका शल्यक्रियाहरु बन्द
साथै राज्यका अस्पतालहरुमा कोरोनाभाइरस सङ्क्रमितहरुको उपचारको लागि थप सहयोग प्रदान गर्न अत्यावश्यक बाहेकका शल्यक्रियाहरु हालको लागि बन्द गरिने घोषणा पनि एन्ड्रुज ले गरेका छन्।
मानिसहरुको ज्यान जोगाउन गरिनुपर्ने पहिलो र दोस्रो दर्जा बाहेकका शल्यक्रियालाई रोक्दै वृद्ध स्याहार केन्द्रका बासिन्दाहरुलाई पनि उपचारका लागि अस्पतालमा राखिन सक्ने उनले बताए।
त्यसैगरि वृद्ध स्याहार केन्द्रमा कोरोनाभाइरसको सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन कर्मचारी सङ्ख्या उपयुक्त नरहेकोले पनि तेस्रो र चौथो दर्जाका शल्यक्रियाहरुलाई रोकिएको स्वास्थ्य मन्त्री जेनी मिकाकोसको भनाइ छ।

मेलबर्न बाट सिड्नी आएको फ्लाइटका यात्रुहरुलाई आइसोलेशनमा बस्न निर्देशन
गत २५ जुलाईमा फ्लाइट JQ506 मा मेलबर्न बाट सिड्नी आएका जेटस्टारका यात्रुहरु जो १० देखि १४ सम्मका सीटहरुमा बसेका थिए उनिहौर्ले चौद दिनको लागि आफुलाई आइसोलेशनमा राख्नुपर्ने निर्देशन अधिकारीहरुले दिएका छन्।
न्यु साउथ वेल्स स्वास्थ्य विभागका अनुसार उक्त फ्लाइटमा रहेका एक तीस वर्षीय महिला कोरोनाभाइरस बाट सङ्क्रमित भएको पुष्टि भए पछि उक्त निर्देशन जारी गरिएको हो।
त्यस्तै इन्डोनेसिया बाट गत बुधवार सिड्नी आइपुगेको गरुडा एयरवेजको फ्लाइट GA-712 मा १९ देखि २३ नम्बर सीटमा बसेका यात्रुहरु पनि आइसोलेशनमा जानुपर्ने बताइएको छ।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे थप जानकारी यहाँ उपलब्ध छ।
रुघा खोकी वा चिसो लागेको लक्षण देखा परे तपाईंले घरमा नै बसेर आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गरी परीक्षणका लागि समय मिलाउनुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो भने वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा भने ००० (ट्रिपल जिरो)मा फोन गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

