सोमबार बिहान भिक्टोरियाली राजधानी मेलबर्नमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा राज्यका अधिकारीहरूले पहिले अनिश्चित ठहर गरिएका चार सङ्क्रमण सहित कुल ७५ जनाले सङ्क्रमित मानिसहरूको सङ्ख्या थपिएको बताएका हुन्।
राज्य सरकारद्वारा जारी गरिएको यो पछिल्लो आँकडा - कुनै एक २४ घन्टे अवधिमा पुष्टि भएका सङ्क्रमणका सङ्ख्या मध्ये कै चौथो ठुलो सङ्ख्या हो।
भिक्टोरियाली स्वास्थ्य मन्त्री जेन्नी मिकाकोसका अनुसार सोमबार बिहान गरिएको घोषणा सहित भिक्टोरियामा हालसम्म २,०९९ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ।
“धन्न, गए राति कसैले पनि ज्यान गुमाएका छैनन्, (कोरोनाका कारण) ज्यान गुमाउनेको सङ्ख्या २० मै अडिएको छ,” उनले भनिन्।
सोमवार बताइएको सङ्क्रमणहरूमा १४ वटा प्रकोपहरूसँग जोडिएका छन् भने ३७ नियमित परीक्षणका क्रममा फेला परेका हुन्।
त्यसै गरी २३ वटा सङ्क्रमण कसरी भए भनेर जाँचबुझ हाल जारी छ र अन्य एक चाहिँ होटेल क्वारेन्टिनमा बसेका व्यक्तिमा देखिएको हो।

भिक्टोरियाका प्रमुख स्वास्थ्य अधिकारी - ब्रेट सटनले यसरी सङ्ख्या बढ्दै जानुलाई निकै गम्भीर अवस्था भनेका छन्।
“मेरो बिचारमा यो अवस्थामा सुधार हुनु अघि यो झन् बिग्रने छ,” सटनले भने।
यो सँग-सँगै उनले सबर्बहरू लकडाउन गर्न सकिने सम्भावनालाई जारी नै राखेका छन्।
“निश्चय पनि त्यो एउटा विकल्प हो र हामीले त्यसलाई प्रयोग गर्न सक्छौँ कि भनेर विचार गरिसकेका छौँ र आवश्यक परेको खण्डमा अवलम्बन गर्ने छौँ।”
तर, उनले उक्त कदम चाल्ने अवस्था आएमा त्यसले मानिसहरूको दैनिकी एवं व्यापारमा भोग्नुपर्ने चुनौतीहरू बारे पनि आफूहरू सचेत रहेको बताए।
मिकाकोस भन्छिन् कि भिक्टोरियाले अस्ट्रेलियामा पहिलो पटक थुकबाट कोरोनाभाइरसको परीक्षण थालेको छ।
“यसले स-साना नानीहरूको परीक्षण थप सहज बनाउने छ - स्वाबबाट गर्ने परीक्षण विधि धेरै असजिलो हुनसक्छ विशेष गरी बालबालिकाका र डिमेन्सियाका बिरामीहरूका लागि, अनि नर्सिङ होममा बस्ने र अपाङ्ग मानिसहरूका लागि।

करिब ३० प्रतिशतले परीक्षण गर्न नमानेको कुरा थाहा पाएपछि सरकारले होटेल क्वारेन्टिननमा रहेका विदेशबाट फर्केका यात्रुहरूको लागि अनिवार्य परीक्षणको नियम लागू गरेको छ।
हाल भिक्टोरियाली सरकारले समुदायमा फैलिएको कोरोना सङ्क्रमणलाई रोक्न र त्यस बारे जानकारी बटुल्ने उद्देश्यका साथ परीक्षण कार्यमा तदारुकता देखाएको छ।
उता, अस्ट्रेलियाका उप-स्वास्थ्य प्रमुख माइकल किडले मेलबर्नमा यसरी सङ्क्रमण फैलिनुका पछाडि युवाहरूको बढी हात रहेको बताएका छन्।
“तपाईँहरू बिरामी हुन वा नहुन पनि सक्नुहुन्छ तर तपाईंले रोग आफ्ना अभिभावक वा हजुरबुवा-आमाहरूलाई सारिदिन सक्नुहुन्छ र उहाँहरू नराम्ररी थला पर्न सक्नुहुन्छ, ज्यानै पनि गुमाउन सक्नुहुन्छ।”
भिक्टोरियाली स्वास्थ्य तथा मानव सेवा विभागले जारी गरेको पछिल्लो परीक्षण स्थानहरूको सूची यस प्रकार छ:
- ब्रोडमिडोज सेन्ट्रल
- केसी फिल्ड्स
- च्याडस्टोन शपिङ्ग सेन्टर
- ड्यानडेनङ ड्राइभ थ्रु सेन्टर
- हाइपोइन्ट शपिङ्ग सेन्टर
- नक्स शपिङ्ग सेन्टर
- कीलर कम्युनिटी हब
- क्रेगिबर्न
- मेलबर्न शोग्राउण्ड्स
- प्यासिफिक वेरीबी शपिङ्ग सेन्टर
- प्यासिफिक एपिङ्ग शपिङ्ग सेन्टर
- नर्थल्याण्ड शपिङ्ग सेन्टर
- वेस्ट फुट्सक्रे बन्निङ्ग्स
अद्यावधिक तथा अधिक जानकारीका लागी यहाँ जानुहोस्

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ। यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

