मेलबर्नबाट प्रकाशित हुने दि एज पत्रिकासँग मिलेर गरिएको उक्त “स्टिङ्ग अपरेसन” का क्रममा भिक्टोरियाली मन्त्रिपरिषद्का तत्कालीन सदस्य रहेका सोम्युरेकले पार्टी शाखा निर्वाचनको लागि आफूले चाहेको उम्मेदवारलाई जिताउन अवैध रूपमा सदस्य सङ्ख्या बढाएको आरोप उक्त रिपोर्टमा प्रस्तुत गरिएको थियो।
साथै, उनले आफ्ना सहकर्मीहरूलाई कथित अपशब्द प्रयोग गर्दै उदृत गरिएको पनि रिपोर्टमा देखाइएको थियो।
तर सोम्युरेकले चाहिँ आफू सम्बन्धी उक्त रिपोर्ट गलत भएको भन्दै आफ्नो बचाउ गरेका छन्।
हुनलाई त यो भिक्टोरियाली लेबरको एक हिस्सासँग सरोकार राख्ने एडेम सोम्युरेकद्वारा कथित रूपमा गरिएको भनिएको अनुचित कार्यहरूको भण्डाफोर थियो।
यस अन्तर्गत सोम्युरेक पछि उक्त घटनाका कारण प्रिमियर ड्यानिएल एण्ड्रुज सरकारका अन्य दुई मन्त्रीहरूले पनि आफ्नो पदबाट राजीनामा दिएका छन्।
तर, सङ्घीय लेबरका नेता एन्थोनी अल्बनिजी भने सोम्युरेक उक्त कार्यक्रममा भनिए झैँ शक्तिशाली नरहेको बताउँछन्।
“भिक्टोरियामा बस्ने बाहेक अन्य कसैले पनि यो मानिसको बारेमा शायदै त्यो कार्यक्रम हेर्नुभन्दा पहिला यो मानिसको बारेमा सुनेका थिए होलान्, यो यति सरल छ,” अस्ट्रेलियन लेबर पार्टीको राष्ट्रिय कार्यकारी समितिका सदस्य समेत रहेका सोम्युरेकको बारेमा अल्बनिजीले सोमबार बेलुकी एबीसीद्वारा सोधिएको एक प्रश्नको जवाफ दिने क्रममा भने।

“कुनै पनि भ्रष्ट वा अनुचित व्यवहार जसले पार्टीलाई विवादास्पद बनाउँछ, त्यस प्रति मेरो शून्य सहिष्णुता छ।”
यसका साथै, विपक्षी दलका नेता एन्थोनी अल्बनिजीले अघिल्लो रात प्रसारण भएको रिपोर्टमा सोम्युरेकको प्रभावमा परेका भनी नाम किटान भएका चार सङ्घीय सांसदहरूको पनि बचाउ गरे।
“उनीहरूले आफ्नो क्षेत्रलाई राम्ररी प्रतिनिधित्व गरिरहेका छन् र ती व्यक्तिद्वारा अलमलिनु भन्दा बढी योग्य छन्।”

ब्रान्च स्ट्याकिङ्गको आरोप
भिक्टोरियाली लेबर पार्टीको उग्र दक्षिणपन्थी धारलाई प्रतिनिधित्व गर्ने एडेम सोम्युरेक माथि लागेको आरोप हो - ब्रान्च स्ट्याकिङ्ग।
ब्रान्च स्ट्याकिङ्ग भनेको के हो भन्नुहोला - सामान्य अर्थमा ब्रान्च स्ट्याकिङ्ग भनेको, पार्टीमा आफ्नो पकड राख्न अवैध रूपमा सदस्यहरू खडा गर्ने कार्य हो।
ती सदस्यहरूको दर्ता शुल्क बेहोर्ने व्यक्तिको चाहना अनुरूप मतदानमा नतिजा हात पार्ने रणनीति रहने गर्दछ।

तर, अस्ट्रेलियाली लेबर पार्टीको सदस्यता लिन शुल्क तिर्नुपर्छ तर त्यसको खर्च सदस्य हुने व्यक्ति स्वयम्ले नै उठाउनु पर्ने नियम छ।
अब मानी लियौँ कि कुनै नेताले तपाईँलाई भने, "शुल्क बारे वास्ता गर्नुपर्दैन - खालि फारममा सही गर्नुहोस्, तपाईंलाई म हाम्रो पार्टीको सदस्य बनाई दिन्छु।"
तपाईँलाई पनि पैसो बच्यो, वाह राजनीतिमा पनि छिरियो भन्ने लागेर सही गरिदिनुभयो।
अब तपाईँलाई पार्टीको मिटिङमा कसैले डाकेन भने तपाईँलाई त्यहाँको कार्यविधि बारे उति थाहा हुने पनि भएन। र, तपाईँको चासो पनि त्यत्तिकै सेलाउने भयो।
अब नुन खाए पछि नुनको सोझो त गर्नै पर्यो - त्यसमा पनि राजनीति जस्तो कुरो।
सहि गराउनेले जता जा भन्छ उतै लाग्नु पर्यो, उसले तपाईं जस्ताको नाममा आफ्नो दुनो सोझ्स्याउने काम गर्ने भयो।
हो - एडेम सोम्युरेकले यस्तै गरी सदस्यहरू भर्ना गर्ने गरेको सिक्स्टी मिनेट र दि एजले आरोप लगाएको हो।

उक्त कार्यक्रममा सोम्युरेकले गत अप्रिल १३ तारिकका दिन एक एटिएमबाट २,००० डलर नगद झिकेर, पार्टीको सदस्यता फारमहरूसँगै भिक्टोरियाली मन्त्रिपरिषद्मा आफ्नो सहकर्मी रहेकी मार्लिन् काइरुजकी एक सल्लाहकारलाई पार्टी मुख्यालयमा बुझाउन दिएको दृश्य प्रसारण भएको थियो।
कथित रूपमा यस्तो कार्य उनले यो भन्दा अघि पनि पटक पटक गरेको ती रिपोर्टहरूमा जनाइएको छ।
अनि सोध्नु होला यस्ता फाल्तुका जोकर किन राख्ने त?
उत्तर सहज छ - जति शक्ति, उति भक्ति।
नीति निर्माणको कार्यमा भन्दा यस्ता क्रियाशील नहुने सदस्यहरूको काम ती सदस्य बनाउने मानिसका लागि स्थानीय स्तरमा पार्टी भित्र आफ्नो प्रभाव एवं पकड जमाउन काम लाग्छ।
यो स्तरमा गरिने सबैभन्दा महत्त्वपूर्ण निर्णय मध्ये एक हो - सार्वजनिक पदका लागि पार्टीको तर्फबाट चुनावमा उठ्न कसले टिकट पाउने भन्ने कुरो।

अब, तपाईँले भनेको मान्ने थुप्रै सदस्यहरू छन् भने आफू शक्तिशाली हुने भइयो। अनि, त्यसैको आडमा तपाईंले पार्टी भित्र आफूले प्रभाव पारेको अन्य मानिसलाई माथि उठाउन सक्नुहुन्छ वा स्वयम् आफूलाई अग्रपङ्क्तिमा स्थापित गर्न सक्नुहुन्छ।
अनि अर्को प्रश्न पनि उठ्न सक्ला - के यो लेबर पार्टीमा मात्र रहेको चलन हो त?
होइन - यो प्रवृत्ति दुवै पार्टीमा देखिन्छ तर लेबरको बनौटले गर्दा उक्त पार्टीमा यसको बढी प्रयोग हुने आरोप लाग्ने गरेको छ।
दि कन्भर्सेसन नामक अनलाइन प्रकाशनमा अनिका गौजा लेख्छिन् कि अस्ट्रेलियन लेबर पार्टीमा यो कार्य अधिक रूपमा प्रयोग गरिएको देखिन्छ किनकि त्यो पार्टीको गुट बाजीसँग यो गाँसिएको छ।

लिबरल पार्टीको कुरा गर्ने हो भने गत साल न्यु साउथ वेल्स शाखा पनि ब्रान्च स्ट्याकिङ्गको आरोपमा फसेको थियो।
उसले क्याम्पियन कलेजका विद्यार्थीहरूलाई पार्टीको सदस्य बने संसदीय कार्यालयमा जागिर दिने प्रलोभन कथित रूपमा दिएको थियो।
सन् २००७ मा त हाल मरिसन सरकारमा अध्यागमन मन्त्री रहेका डेभिड कोल्म्यानले कुक नामक सङ्घीय चुनाव क्षेत्रको टिकट ब्रान्च स्ट्याकिङ्गका कारण आफूले नपाएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।
दुई दिनमा तीन मन्त्री चट
विवादास्पद एडेम सोम्युरेक सहित भिक्टोरियाली मन्त्रिपरिषद्का तीन सदस्यहरूले यो प्रकरण सार्वजनिक भएसँगै आफ्नो पदबाट हात धुनु परेको छ।
भिक्टोरियाली बहुसांस्कृतिक मन्त्री समेत रहिसकेका रविन स्कटले सरकारलाई काम गर्न सहज होस् भन्दै आफ्नो पदबाट सोमबारै राजीनामा बुझाएका थिए भने मङ्गलवार बिहानसम्म मार्लिन् काइरुज पनि भूतपूर्व मन्त्री बन्न पुगिन्।
यी दुबैलाई सोम्युरेकले सघाएको आरोप छ।
काइरुजले पनि आफ्नो उपस्थितिले सरकालाई काम गर्न गाह्रो नहोस् भन्दै मन्त्री पदको जिम्मेवारीबाट पन्छिएको बताएकी छिन्।
सोम्युरेकलाई भने भिक्टोरियाली प्रिमियर ड्यानियल एण्ड्रुजले राजीनामा गर्न आफूले मौका प्रदान नगरेको सोमबार बताएका थिए।
"उनी राजीनामा गर्ने अवसरको योग्य छैनन्। उनलाई बर्खास्त गरिएको हो," उनले भने।

