स्वस्तिका प्रतिबन्ध बारे भिक्टोरियामा गरिएको मागले सिर्जना गराएको हिन्दु संकट

स्वस्तिका लगायतका नाजी प्रतीकको प्रदर्शन गर्नेलाई ६ महिनासम्मको जेल सजाय हुनुपर्ने माग भिक्टोरियाली प्रतिपक्षले गरेको छ।

Anti-Fascism demonstrators carry a sign with a crossed-out swastika in Dresden, Germany. The Victorian opposition wants to ban the display of Nazi-era symbols.

Source: DPA

भिक्टोरियाको राज्य संसद्मा प्रतिपक्ष भूमिका निर्वाह गरिरहेको लिबरल पार्टीले उक्त राज्यमा स्वस्तिका लगायतका नाजी प्रतीक प्रदर्शन गर्नेलाई कारबाही गर्न प्रहरीलाई थप अधिकारहरू दिइनुपर्ने माग गरेको छ।

उसले हाल उक्त राज्यमा कायमै रहेको गम्भीर मानहानि तथा अपमान सम्बन्धी कानूनकै अनरुप रहने गरी उक्त नयाँ नियम बनाउन आफ्नो माग अगि सारेको हो।

राज्यमा ती प्रतीकहरूको प्रयोग गर्दै केही मानिसहरूले अरू समुदाय प्रति घृणा उत्पन्न गराउने कार्यहरूलाई तीव्रता दिएको भन्दै भिक्टोरियाको रेसियल एन्ड रिलिजियस टोलरेन्स एक्टमा समय सापेक्ष परिमार्जन हुनुपर्ने बताएको छ।

अघिल्लो महिना उक्त राज्यको उत्तर-पश्चिममा पर्ने ब्युलाहको एक निजी निवासमा नाजी स्वस्तिका सहितको झन्डा फरफरीए पछि भिक्टोरियाली लिबरल पार्टीको उक्त प्रस्ताव सार्वजनिक भएको हो।

झन्डा राख्ने चेरिल लडर्नले आफ्नो जर्मन पृष्ठभूमिका कारण उक्त झन्डा राखेको बताएकी छिन्।

तर, लिबरल पार्टीका सांसद डेभिड साउथविकले स्वस्तिकलाई सामूहिक हत्याको प्रतीक भनेका छन्।

“स्वस्तिक कस्तो प्रतीक हो भने हाम्रो कल्पनामा यो भन्दा बढी घृणा फैलाउने अरू कुनै प्रतीक नै छैन। यो हत्या जस्तो जघन्य अपराधको सूचक हो,” आफ्नो पार्टीको तर्फबाट मेलबर्नको यहुदी होलोकोस्ट केन्द्रमा आफ्नो पार्टीको प्रस्ताव सार्वजनिक गर्ने क्रममा उनले भने।

भिक्टोरियाली प्रिमियर ड्यानियल एन्ड्रुले उक्त झन्डा प्रदर्शन गर्ने कार्यलाई निकै तल्लो स्तरको व्यवहार भनेर टिप्पणी गरेता पनि प्रतिपक्षले भने जस्तै प्रचलित कानूनमा तत्काल फेरबदल गरिहाल्ने सङ्केत देखाएका छैनन्।

“घृणाको पराकाष्ठाको रूपमा रहेको उक्त झन्डा प्रदर्शन गर्नु बिलकुलै ठिक होइन, यसलाई जति निन्दा गरे पनि अपुग हुन्छ,” उनले भने।

यदि राज्यको लेबर सरकारले कानुन संशोधन गर्न चासो दिएन भने लिबरल आफैले प्राइभेट मेम्बर्स बिल भनिने प्रस्ताव दर्ता गर्ने स्पष्ट पारेको छ।

हिन्दु धर्मावलम्बीहरु माथिको असर?

Image

लिबरल पार्टीको उक्त प्रस्ताव पारित भएको खण्डमा भिक्टोरिया प्रहरीले त्यसरी ती प्रतिबन्धित प्रतीकहरू सामाजिक खलल उत्पन्न गर्ने वा घृणा फैलाउने कार्यमा प्रयोग गरेको यथोचित रूपमा विश्वास गरेमा तिनलाई घर वा कार्यालयबाट हटाउन सक्नेछ।

तर, प्रस्तावित कानूनले अध्ययन-अध्यापन, शोध तथा कलात्मक प्रयोजनका लागि भने ती प्रतीकहरू प्रयोग गर्न छुट दिने बताइए पनि धार्मिक प्रयोजन बारे भने केही उल्लेख छैन।

मेलबर्नका नेपाली समुदाय माझ ज्योतिष शास्त्र एवं अन्य हिन्दु धार्मिक क्रियाकलापमा संलग्न राजु शर्मा भेटवालले भने जिम्मेवार पदमा आसीन रहेका प्रिमियर तथा विपक्षी पार्टीका नेताले स्वस्तिक जस्तो शुभ प्रतीक बारे एकतर्फी रूपमा त्यसरी नकारात्मक टिप्पणी गर्नु सही नरहेको धारणा व्यक्त गरे।

“स्वस्तिक चिह्नलाई उहाँहरूले नबुझ्नु भएको हो कि। स्वस्तिक चिह्न हिन्दु धर्ममा कुनै पनि (शुभ) कार्य गर्दा प्रयोग हुने चिन्ह हो। अब त्यो हाम्रो घर आँगनमा देखाउन नपाइने हो भने अलि सही भएन नि,” उनले एसबीएस नेपालीसँग भने।

“जुनसुकै देशमा बसे पनि हामीले आफ्नो धर्म निर्बाध रूपमा मान्ने अधिकार हुनुपर्छ। अस्ट्रेलिया त झन् झन् असङ्ख्य आप्रवासीहरू मिलेर बनेको देश हो र यहाँ नीति निर्माण गर्दा सबैको धारणा बुझेर अगाडी बढ्ने चलन छ। यसपालि पनि उहाँहरूले समुदायमा छलफल गर्न हुन्छ कि?”

मेलबर्नमै रहेका पण्डित शंकर गौतमले पनि स्वस्तिक चिन्हलाई नै यसरी तारो बनाउन नहुने बताउँछन्।

“हामीले सिधा राख्छौँ, उनीहरूले भने कोल्टे-कोल्टे पारेर राखेका हुन्छन्। अब उनीहरूले झन्डा एउटा हिसाबले, राजनैतिक हिसाबले राखे तर हाम्रो त यो परापुर्वकालदेखि प्रयोगमा आएको हो। स्वस्तिको अर्थै पनि राम्रो होस् भन्ने हो फेरी,” उनले भने।

हिन्दु धर्ममा र नाजीहरूले उक्त प्रतीक राखेन चलन नै फरक रहेको तथ्यलाई सबैले बुझ्न पनि जरुरी रहेको यस पछिल्लो घटनाक्रमले देखाएको गौतमले बताए।

“यसलाई राजनैतिक आँखाबाट मात्र हर्नु हुँदैन”

यस पटक नेताहरूले स्वस्तिक चिन्ह बारे पर्याप्त जानकारी बिनै यसलाई लिएर टिप्पणी गरेको भन्ने प्रश्न एसबीएसले सरकार तथा प्रतिपक्ष दुवै समक्ष गरेको छ।


Share

Published

Updated

By SBS News
Source: SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand