प्रमुख विषय:
- कोरोनाभाइरस अन्तर्गत राज्यमा चालिएका सरकारी कदम गलत भएको बिपक्षीको आरोप
- ग्रीन्स पार्टी द्वारा बिपक्षीको प्रस्ताव अस्विकार
कोरोनाभाइरसको महामारी विरुद्ध राज्यमा चालिएका सरकारी कदमहरुलाई लिएर बिपक्षी द्वारा प्रिमियर डानिएल एन्ड्रुज विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिने भएको छ।
मङ्गलबार सम्मको चौबीस घण्टा भित्र राज्यमा थप बाह्र जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुँदा, आज बस्ने संसदीय बैठकको क्रममा एन्ड्रुज विरुद्ध उक्त कदम चालिने बिपक्षी नेता माइकल ओ'ब्रायनले बताए।
साथै प्रिमियर विरुद्धको आफ्नो कदमलाई समर्थन गर्न उनले लेबर सांसदहरु समक्ष आग्रह गरेका छन्।
"आज लेबर सांसदहरुले एकदमै सजिलो निर्णय गर्नुपर्ने छ, एउटा सजिलो छनौट गर्नुपर्ने छ," उनले भने।
"के उनिहरुले डानिएल एन्ड्रुजको जागिर सुरक्षित राख्ने छन्? कि उनिहरुले भिक्टोरियालीहरुको जागिर सुरक्षित राख्न आफ्नो भोट प्रयोग गर्ने छन्?"
"एक साथ् दुबै गर्न मिल्दैन," भन्छन लिबरल नेता ओ'ब्रायन।

अर्को तर्फ एन्ड्रुज सरकारमा वतावतरण मन्त्री रहेकी लिली डि'एम्ब्रोसियो ले चाहिं आफ्ना नेता प्रति अन्य लेबर सांसदहरुको समर्थन रहेको जोड दिंदै, त्यो भन्दा फरक समाचारहरु गलत भएको बताइन।
"प्रिमियरको नेतृत्वका कारणनै हाल राज्यमा रहेको कोरोनाभाइरस सङ्क्रमणको दोर्सो लहर अन्तर्गत संख्या धेरैनै घटेको छ।"
त्यस्तै ग्रीन्स पार्टी द्वारा पनि बिपक्षी द्वारा प्रिमियर विरुद्ध संसदमा चालिएको कदमलाई एक "नाटक" को संज्ञा दिईएको छ।
उक्त पार्टी कि भिक्टोरियाली नेत्री समान्था रतनमले बिपक्षी द्वारा "ट्रम्प को राजनीतिक तरिका" अपनाइएको आरोप लगाइन। ग्रीन्स सांसद एलेन सान्डेलले पनि एन्ड्रुज विरुद्धको अविश्वासको प्रस्तावमा आफ्नो समर्थन नरहने बताइन।
"यस महामारीको क्रममा सरकारले धेरै गल्ती गरेका छन्," उनले भनिन्।
"तर अहिलेको लागि भिक्टोरियालीहरुको आवश्यकता भनेको यस महामारी बाट उम्कनु हो, त्यस पछि यस्ता प्रश्नहरु सोधिन सकिने छ।"

हिजो मात्र राज्यको होटेल क्वारेन्टिन व्यवस्थाको लागि निजि सुरक्षा गार्ड प्रयोग गर्ने कदमलाई लिएर भिक्टोरियाका सबै भन्दा उच्च पदमा रहेका सरकारी कर्मचारीले आफ्नो पद बाट राजिनामा दिएका थिए।
होटेल क्वारेन्टिन सम्बन्धि छानबीन आयोग समक्ष बयान दिने क्रममा क्रिस एकेल्सले त्यस विषयबारे आफुले प्रहरी प्रमुखसंग केहि कुरा नगरेको भनि बताएका थिए।
तर गत मार्च २७ मा होटेल क्वारेन्तिन व्यवस्था स्थापना गरिएकै दिन, एकेल्सले तत्कालिन प्रहरी प्रमुखसंग फोनमा कुरागरेको रेकर्ड सार्वजनिक भए पछि, उनले आफ्नो पद त्यागेका हुन्।
गत महिना मात्र उक्त मामिलालाई लिएर तत्कालिन स्वास्थ्य मन्त्री जेनी मिकाकोसले पनि आफ्नो पद बाट राजिनामा दिनुपरेको थियो।
