मेलबर्नको एक क्वारेन्टिन होटेलमा कोरोनाभाइरस बाट तीन जना सङ्क्रमित भएको पुष्टि हुँदा आगामी हप्ता देखि थप संख्यामा अन्तर्राष्ट्रिय यात्रुहरुलाई आफ्नो राज्यमा प्रवेश गराउने भिक्टोरिया सरकारको योजना अगाडी नबढ्ने भएको छ।
मेलबर्न विमानस्थल स्थित होलिडे इन होटेलमा भेटिएका पछिल्ला सङ्क्रमणका कारण आगामी सोमबार देखि हाल रहेको होटेल क्वारेन्टिनको साप्ताहिक क्षमतालाई ११२० बाट १३१० पुर्याउने योजना स्थगित गरिएको प्रिमियर डानिएल एन्ड्रुजले बताए।
"भिक्टोरियालीहरुले धेरैनै योगदान पुर्याएका छन् र जबसम्म यो बदलिदो भाइरसबाट सिर्जना हुने चुनौतीहरु बारे हामी स्पष्ट हुन सक्दैनौं तब सम्म मैले (क्वारेन्टिन संख्याबारे) जोखिम लिने छैन", बुधबार एन्ड्रुजले पत्रकारहरुलाई बताए।
मङ्गलबार पुष्टि भएका कोरोनाभाइरसका दुई केसहरु मध्ये एक जना विदेशबाट फर्किर १४ दिन होटेल क्वारेन्टिनमा समय बिताइसकेका एक यात्रु र दोस्रो व्यक्ति चाहिं सोहि होटेलका कर्मचारी रहेको अधिकारीहरुको भनाइ छ।
गत आइतबार पनि, अत्यधिक सङ्क्रामक मानिएको युके अंशको भाइरसबाट होलिडे इनका एक अर्का कर्मचारी पनि सङ्क्रमित भएको पुष्टि भएको थियो।
बुधबार पनि थप दुई जनामा भाइरस पुष्टि भए पछि अहिले सम्म उक्त होटेलसंग सम्बन्धित कुल आठ कोरोनाभाइरस केसहरु रहेको बताइएको छ।

प्रिमियर डानिएल एन्ड्रुज भन्छन कि ती तीनै जनाको प्रतक्ष्य सम्पर्कमा आएकाहरुको भाइरसको लागि परिक्षण गरिनुका साथै ती कर्मचारीहरु गएका शहरका बिभिन्न स्थानहरुबारे जानकारी पनि स्वास्थ्य बिभागको वेबसाइटमा प्रकाशित गरएको छ।
कोभिड-१९ को यो पछिल्लो अंशलाई "एक ठुलो चिन्ताको विषय" बताउँदै एन्ड्रुजले उक्त "अत्यधिक सङ्क्रामक भाइरसलाई नियन्त्रणमा ल्याउन गाह्रो साबित भइरहेको" जोड दिए।
"यस अद्वितीय चुनौती विरुद्धको प्रयासलाई हामीले दोब्बर बनाउन जरुरी रहेको छ", उनले भने।

होटेल बन्द
कोभिड-१९ क्वारेन्टिन भिक्टोरिया कि एक प्रबक्ताले "अनिश्चित समयका लागि" होलिडे इन होटेल बन्द गरिएको बताएकी छन्।
होटेलको पूर्ण सफाई र होटेलमा रहेकाहरुको सम्पर्कमा आएका मानिसहरुको पहिचान र परिक्षणका लागि भन्दै गत मङ्गलबार होटेलका झन्डै १३५ कर्मचारीहरुलाई पद बाट हटाइएको थियो।
साथै उनीहरुलाई १४ दिन सम्म आइसोलेशनमा बस्न पनि निर्देशन दिइएको प्रबक्ताले बताइन।
यसका साथ् हाल करिब २२० होटेल कर्मचारीहरु आइसोलेशनमा रहेका छन् भने होलिडे इनमा सङ्क्रमितहरुको प्रतक्ष्य सम्पर्क आएका भनिएका ४८ यात्रुहरुलाई चाहिं थप समयमा लागि मेलबर्नको पुलम्यान होटेलमा क्वारेन्टिनमा राखिएका छन्।

अधिकारीहरुका अनुसार आइतबार क्वारेन्टिन अन्त्य गरेकी महिला होटेलमा रहंदा उनको पटक पटक गरिएको परिक्षण पछि पनि कोरोनाभाइरस नरहेको देखिएको थियो।
तर क्वारेन्टिन सकिएको भोलि पल्ट, वा गत सोमबार, गरिएको परिक्षणले चाहिं उनि कोभिड-१९ सङ्क्रमित रहेको पुष्टि गरेको हो।
उक्त महिलाले प्रायः समय आफ्नो घरमै बिताएकोले उनिबाट सङ्क्रमण फैलनेबारे आफुहरु धेरै चिन्तित नरहेको पनि अधिकारीहरुको भनाइ छ।
