भिक्टोरिया राज्यको राजधानी मेलबर्न तथा त्यसको उत्तरमा पर्ने मिचेल शायर काउन्सिल क्षेत्रमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा भिक्टोरियाली सरकारले ती स्थानका बासिन्दाले आफ्नो घर बाहिर निसकंदा अनिवार्य रूपमा नाक र मुख ढाक्नै पर्ने नियम ल्याएको हो।
भिक्टोरियाली प्रिमियर ड्यानिएल एन्ड्रुजका अनुसार नाक मुख ढाक्न मास्ककै प्रयोग भने गर्न जरुरी छैन।
"मास्क नै लाउनुपर्छ भन्ने छैन, तपाईँसँग मास्क छैन भने रुमाल, नकाब वा त्यस्तै किसिमका अन्य कपडाले नाक मुख ढाके पनि हुन्छ," उनले भने।

तर, भिक्टोरियाका प्रमुख स्वास्थ्य अधिकारी ब्रेट सटनले भने मास्क नलगाएको कोही मानिसलाई देखे तिनलाई प्रताडित गर्नु अनुचित हुने बताएका छन्।
"तपाईँले घर बाहिर निस्कँदा कसै-कसैले मास्क नलगाई हिडेंको देख्न सक्नु हुनेछ। ती मध्ये कतिपयले वैध कारण भएर नै मास्क नलगाएका पनि हुनसक्छ," उनले भने।
"जिद्दी भएका कारण उनीहरूले मास्क नलगाएको भन्ने सोच नराख्नु होला।"
चिकित्सकीय, व्यक्ति विशेष आनीबानी वा मनोवैज्ञानिक कारणहरूले गर्दा मानिसहरूले मास्क नलगाउने निर्णय लिन सक्ने सटनको भनाई छ।
उता, राज्य प्रहरीले मास्क नलगाई हिँड्ने मानिसलाई तत्काल २०० डलर जरिवाना गर्ने बताए पनि ती मानिसहरूको कुरा सुनेर दण्ड सजाय गर्ने कि नगर्ने बारे उचित रूपमा विचार गर्ने बताएको छ।

"कोरोनाभाइरसको फैलावटलाई रोक्न मास्क लगाउनु अपरिहार्य छ," भिक्टोरिया प्रहरीकी एक प्रवक्ताले भनिन्।
"भिक्टोरिया प्रहरीले आगामी सात दिन मानिसहरूले मास्क नलगाई हिडेंको देखे विवेक प्रयोग गर्नेछ किनकि हामीलाई थाहा छ यो धेरै मानिसहरूको लागि ठुलो परिवर्तन हो।"
यसको साथै, उनले बहुसङ्ख्यक भिक्टोरियालीहरूले नियमहरूको उचित पालना गर्ने गरेको प्रति राज्य प्रहरीले ध्यान दिँदै आगामी एक हप्ता केही छुट दिने बताइन्।
"तर, फेरी त्यसो भन्दैमा जानी-जानी नियम पालना नगर्नेहरूलाई कानुनको दायरमा ल्याउन कुनै कसर प्रहरीले बाँकी राख्ने छैन।"
सुपरमार्केटहरूको चेतावनी
सुपरमार्केटहरूले यो स्पष्ट गरेका छन् कि मास्क सम्बन्धी नयाँ नियममा उनीहरू ग्राहकहरूसँग कडा रूपमा उपस्थित हुनेछन्।
वूलवर्थ्स, कोल्स, एल्डी, फूड वर्क्स र आईजीए सबैले आजको अखबारमा यसबारे विज्ञापन छपाएका छन्।

"कानूनी अपवाद लागू नभएसम्म, सबै ग्राहकहरू हाम्रो स्टोरहरूमा आउँदा अनुहार छोपेर प्रवेश गर्नेछन् भनेर हामीले आसा गरेका छौँ, " विज्ञापनमा भनिएको छ।
"हाम्रो टोली सदस्यहरूका लागि मास्कहरू पनि अनिवार्य भएको छ, उनीहरूसँग पनि सहि कारण नभएसम्म।"

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे थप जानकारी यहाँ उपलब्ध छ।
रुघा खोकी वा चिसो लागेको लक्षण देखा परे तपाईंले घरमा नै बसेर आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गरी परीक्षणका लागि समय मिलाउनुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो भने वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा भने ००० (ट्रिपल जिरो)मा फोन गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

