भीइटि भिसा: "नयाँ प्रावधानले नेपाली विद्यार्थीलाई खासै फरक पार्दैन"

मे १ देखि लागू हुने गरी गृह मामिला विभागले नेपालबाट व्यावसायिक तालिम (भीइटि) भिसामा आउने विद्यार्थीले पनि अङ्ग्रेजी भाषा ज्ञान र आर्थिक मापदण्ड पुरा गर्नु पर्ने नयाँ नियम ल्याएको छ। तर जानकार यसलाई खासै ठुलो परिवर्तन भने मान्दैनन्।

Free TAFE courses in Victoria

Source: Getty Images

नेपालबाट सर्टिफिकेट देखि एडभान्स डिप्लोमा सम्म पढ्नका लागी भीइटि भिसा आवेदन हाल्ने नेपालीहरूले अङ्ग्रेजी भाषा र आर्थिक विवरण पनि उपलब्ध गराउन गृह मामिला विभागले सूचना जारी गरेको छ।

विभागले शिक्षा सरोकारवालाहरूका लागी जारी गरेको सूचनामा आवेदकको भाषा र आर्थिक जानकारी उपलब्ध गराउन अनलाइन आवेदनमा बाध्यकारी नबनाइएको भए पनि सो जानकारीहरू उपलब्ध गराउनु पर्ने छ।

Nepali Students at an event in Sydney in 2019
Photo: Facebook/Bijaya Sapkota Source: Facebook/Bijaya Sapkota

आफ्नो आवेदनमा ती जानकारीहरू नराखिए आवेदन पूर्ण नहुने र विभागले यसको माग गर्ने जनाइएको छ। विभागले माग गरिसके पछि भाषा ज्ञान र आर्थिक विवरणको प्रमाण पेस गर्दा भिसा प्रक्रियामा ढिलाइ हुने भनिएको छ।

शैक्षिक परामर्शदाता तिर्थ खतिवडा यसलाई धेरै ठुलो परिवर्तनका रूपमा लिनु नपर्नेमा जोड दिन्छन्।

खतिवडाका अनुसार यो नियम लागू हुनु पूर्व पनि विद्यार्थीहरूले शिक्षा प्रदायकहरूको मापदण्ड अनुरूप अङ्ग्रेजी भाषा परीक्षाको नतिजा र आर्थिक विवरण लगायत आवश्यक कागजपत्रहरू तयार पार्ने गरेको बताउँछन्।

"विगतमा पनि आर्थिक र अङ्ग्रेजी भाषा सम्बन्धी कागजात बाध्यकारी नभए पनि सरकारले चाहेको बेला माग्न सक्ने नीति नै थियो त्यसैले यसले नेपाली विद्यार्थीहरूलाई खासै असर गर्छ जस्तो मलाई लाग्दैन।"

नेपालीहरू विद्यार्थी भिसामा अस्ट्रेलिया आउने सङ्ख्यामा निरन्तर वृद्धि भइरहँदा विशेष गरी सर्टिफिकेट वा डिप्लोमा कोर्स गर्न आउनेहरूको सङ्ख्या उल्लेख्य रहेको विभागले जनाएको छ।

यसरी नेपाली विद्यार्थीहरूको सङ्ख्यामा आएको वृद्धिलाई दिगो बनाउन र विद्यार्थीहरूको हितलाई मध्यनजर गर्दै उक्त नियम ल्याइएको बताइएको छ।

Vocational Education and Training (VET)Student visa changes
Vocational Education and Training (VET)Student visa changes. (screenshot of the information provided) Source: Supplied

तिर्थ खतिवडाका अनुसार यस अघि विद्यार्थीहरूले कलेजको मापदण्ड अनुरूप अङ्ग्रेजी भाषा नतिजा नभएको अवस्थामा वैकल्पिक परीक्षा दिएर आफ्नो पढाइ सुरु गर्न सक्थे।

यसले गर्दा अस्ट्रेलिया शिक्षा प्रणालीको गुणस्तर कमजोर हुन सक्ने चिन्ताको बिच यो नियम ल्याइनु अनपेक्षित भने नभएको खतिवडाको भनाइ रहेको छ।

"अस्ट्रेलियामा गुणस्तरीय शिक्षा प्रदान गरिन्छ भनेर जुन अपेक्षा गरिएको हुन्छ त्यसलाई कायम राख्न सायद अस्ट्रेलियाली सरकारले लिएको नीति हो कि भन्ने लाग्छ।"

अकाउन्टिंग, कुकरी, सूचना प्रविधि, नर्सिङ, हस्पिट्यालीटी लगायतका विषयमा डिप्लोमा वा एडभान्स डिप्लोमा गर्न अस्ट्रेलिया आउने नेपालीहरूको सङ्ख्या अधिक रहेको छ।

अस्ट्रेलियामा सबैभन्दा बढी विद्यार्थी भिसामा आउनेहरूमा चिन र भारत पछाडि नेपाल तेस्रो स्थानमा रहेको तथ्याङ्कलाई मध्यनजर गर्दै विभागले नेपालबाट आउने विद्यार्थी भिसा मागलाई दिगो बनाउने उद्देश्य राखेको जनाएको छ।

नयाँ प्रावधान अनुरुप व्यवसायी क्षेत्रका सम्पूर्ण आवेदकहरूले जुन सुकै शिक्षा प्रदायकको मा भर्ना गरेको भए पनि अनिवार्य रुपमा अङ्ग्रेजी भाषा ज्ञान र आर्थिक क्षमताको प्रमाण पेस गर्नु पर्ने छ।


Share

2 min read

Published

Updated

By Sunita Pokharel



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now