अस्ट्रेलिया आउनु अगाडी
यदि तपाईँ एक अन्तर्राष्ट्रिय विद्यार्थी हुनुहुन्छ र अस्ट्रेलियामा अध्ययन गर्न चाहनुहुन्छ भने, तपाईँलाई एक विद्यार्थी भिसा आवश्यक पर्नेछ जसलाई सबक्लास ५०० पनि भनिन्छ।
उक्त भिसाको लागि योग्य हुन तपाईँलाई छोटकरीमा क्राइक्रोस भनिने कमनवेल्थ रजिस्टर अफ इन्स्टिच्युसन्स एण्ड कोर्सेस फर ओभरसिज स्टुडेन्ट्स नामक एक सङ्घीय सूचीमा परेको पाठ्यक्रममा अध्यापन गराउन कुनै एक अधिकार प्राप्त अस्ट्रेलियाली अध्ययन प्रतिष्ठानले स्वीकार गरेको हुनुपर्छ।

होल्डिङ्ग रेडलिच नामक एक ल फर्ममा कानुन विशेषज्ञ तथा अध्यागमन एजेन्टका रूपमा कार्यरत मारिया भन्छिन् कि भिसाको लागि आवेदन हाल्नु अगाडी नै दर्ता भएको कुनै एक अस्ट्रेलियाली शैक्षिक सेवा प्रदायकबाट भर्ना भएको पुष्टि गर्ने र कन्फरमेसन अफ एन्रोलमेन्ट भनिने पत्र पाउनु जरुरी छ।
“तपाईँ क्राइक्रोसको वेबसाइट गएर त्यसमा समाविष्ट कोर्सहरूको बारेमा थाहा पाउन सक्नुहुन्छ,” उनले स्पष्ट पार्दै भनिन्।
भर्ना सम्बन्धी पत्रको अलावा तपाईँसँग खर्च, स्वास्थ्य र आचरण बारे खुलाउने आवश्यक कागजातहरू पनि हुनु जरुरी छ।

त्यसै गरी निजी स्वास्थ्य बिमा र अङ्ग्रेजी भाषामा राम्रो दक्खल भएको देखाउने परीक्षाको नतिजा सम्बन्धी कागजपत्र पनि तपाईँलाई अस्ट्रेलियाली अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदनका क्रममा आवश्यक पर्छन्।
भिसा आवेदन शुल्क कम्तीमा पनि ६२० अस्ट्रेलियाली डलर पर्छ भने अस्ट्रेलियाको सरकारले विद्यार्थी भिसाको हकमा न्यूनतम सङ्ख्या तोकेको छैन।
अस्ट्रेलिया आइपुगे पछि

अस्ट्रेलियामा आफ्नो खर्च पानी जुटाउन सरकारले तपाईँलाई पाक्षिक रूपमा ४० घण्टासम्म काम गर्न अनुमति दिन्छ। छुट्टीको समयमा भने तपाईंले पुरै समय काम गरेर बिताउन सक्नुहुनेछ।
अस्ट्रेलियाको विद्यार्थी भिसामा तपाईंले आफ्नो परिवारको सदस्यलाई पनि समावेश गर्न सक्नुहुन्छ। यसरी आफ्नो आवेदनमा उल्लेख गरिएका व्यक्ति तपाईँको अध्ययनको अवधिभर तपाईँसँगै अस्ट्रेलियामा बस्न सक्छन्।
तपाईंले पढ्न चाहेको कोर्स अनुसार तपाईँको विद्यार्थी भिसाको अवधि तोकिने गरिन्छ र यसको म्याद पाँच वर्षसम्मका लागि बढाउन मिल्ने प्रावधान छ।

मारिया जोकेलका अनुसार भिसा पाउँदा प्राप्त हुने चिठी र भिसा सम्बन्धी नियमहरू राम्ररी बुझ्नु निकै जरुरी छ।
उनी भन्छिन् कि यदि कुनै विद्यार्थीले कुनै सर्तको उल्लङ्घन गरेको पाएमा अध्यागमन विभागले भिसा रद्द गर्न सक्दछ।
“मानिसहरूले प्राय गरेर आफ्नो भिसा सकिने मिति याद गरेका हुँदैनन्। अनि, विद्यार्थी भिसा प्राप्त गर्नुको प्रमुख कारण भनेको अस्ट्रेलिया आएर अध्ययन गर्नु हो न कि काम, त्यस कारण पनि विद्यार्थीहरूले आफ्नो पढाइमा ध्यान दिनै पर्छ।”
पढाइ सकिए पछि

तपाईँको ग्र्याजुएसन समारोह हुने दिन अगाडी नै विद्यार्थी भिसाको म्याद सकिन सक्छ। त्यस्तो अवस्था आइपरेको खण्डमा तपाईंले भ्रमण भिसा (सबक्लास ६००) का लागि आवेदन दिन सक्नुहुनेछ तर त्यसका लागि तपाईँ योग्य चाहिँ हुनुपर्छ।
पढाइ सकिए पछि अझै केही समय अस्ट्रेलियामा नै बिताउन चाहनु हुन्छ भने तपाईंले टेम्पोररी ग्राजुएट भिसा (सबक्लास ४८५) वा स्किल्ड रिकग्नाइस्ड ग्राजुएट भिसा (सबक्लास ४७६) का लागि आवेदन हाल्न सक्नुहुनेछ।
टेम्पोररी ग्राजुएट भिसा (सबक्लास ४८५) भिसाले ग्राजुएट वर्क र पोस्ट स्टडी वर्क गरेर दुई फरक फरक धारलाई सम्बोधन गर्छ।

ग्राजुएट वर्क अन्तर्गत विद्यार्थीहरूले अस्ट्रेलियामा थप १८ महिनासम्म काम तथा अध्ययन गर्न मिल्छ भने पोस्ट स्टडी धारबाट चाहिँ दुई देखी चार वर्षसम्म काम गर्न पाउने प्रावधान छ।
स्किल्ड रिकग्नाइस्ड ग्राजुएट भिसा (सबक्लास ४७६) चाहिँ इन्जिनियरिङ स्नातकहरू लक्षित विशेष भिसा हो जसमा डिग्री वा सो भन्दा माथिको पढाइ तोकिएको शैक्षिक संस्थाबाट पुरा गरेका विद्यार्थीहरू आवेदन हाल्न सक्नेछन्।
थप जानकारीका लागि अध्यागमन तथा सीमा सुरक्षा विभाग एवम् क्राइकोसको वेबसाइट हेर्नुहोस्।
