वेस्टर्न अस्ट्रेलियाले नौ महिनाको अवधि पछि न्यु साउथ वेल्स र भिक्टोरियाका बासिन्दाहरूलाई क्वारेन्टिन बिना राज्यमा प्रवेश गर्न दिएको छ।
१४ दिन आइसोलेसनमा बस्नु पर्ने नियम हटाउँदै यी दुई राज्यहरूलाई "अधिक कम जोखिम भएका स्थान" भनी तोकिएको छ। यस सँगै अहिलेका लागि साउथ अस्ट्रेलियामा मात्र यात्रा प्रतिबन्धहरू रहेका छन्।
आउँदो शुक्रबारदेखि साउथ अस्ट्रेलियालीहरू पनि वेस्टर्न अस्ट्रेलिया भित्रन पाउने छन्, तर उनीहरू सेल्फ क्वारेन्टिनममा बस्नु पर्ने हुन्छ।
त्यस्तै, एडिलेडमा आउँदा दिनहरूमा कुनै पनि अज्ञात श्रोत भएका सङ्क्रमणका मामिला देखा नपरे, एडिलेड बासीहरू शनिबारदेखि क्वीन्सल्यान्ड भित्रन पाउने छन्।
क्रिसमस नजिकिँदै जाँदा वेस्टर्न अस्ट्रेलियाको सीमा पुनः खोल्ने घोषणाले मानिसहरूलाई आफ्ना परिवार एवं इष्टमित्रसँग भेटघाट गर्न दिने छ। तर सङ्क्रमणको दर बढेमा भने सीमा प्रतिबन्ध फेरी लागु गर्न सकिने उक्त राज्यका प्रिमियर मार्क म्याकगोवनले बताए।
अहिलेको परिस्थिति सजिलो भए तापनि विमानस्थल तथा युक्ला र कुनुनुर्राका सीमा चेकपोइन्टमा प्रहरी उपस्थित रहने उनले बताए।
"सीमा प्रतिबन्ध फेरी पनि कडा बनाउनु परेमा, हामीले तुरुन्तै गर्नेछौँ।", उनले भने।

त्यस्तै, अन्य राज्यहरूको जस्तो हटस्पटलाई तोकेर कदम चाल्ने नियम वेस्टर्न अस्ट्रेलियामा लागु नगरिने पनि उनले बताए।
सिड्नीका एक होटेल क्वारेन्टिन कर्मचारीमा कोभिड-१९ देखा परे यता अन्य सामुदायिक सङ्क्रमण नदेखिए पछि वेस्टर्न अस्ट्रेलियाले यात्रा प्रतिबन्ध हटाएको हो।
त्यस्तै, केही दिन अघि सिड्नी प्रवेश गरेका दुई जर्मनीका यात्रुहरू क्वारेन्टिन नबसी मेलबर्न प्रवेश गरे पछि जोखिम उत्पन्न भएको थियो। ती यात्रुहरू कोभिड-१९ सङ्क्रमित नभएको दुई पटक परीक्षणद्वारा पुष्टि भइसकेको छ, र न्यु साउथ वेल्स पुलिसले उक्त घटनाको लागि जिम्मेवारी लिएको छ।
यही घटनालाई निर्देशित गर्दै प्रिमियर म्याकगोवनले भने, "यस घटनाबाट कोभिड अझै पनि जोखिम नै रहेको छ भन्ने देखिन्छ, त्यसैले हाम्रो सीमामा अझै पनि नियन्त्रण कायम नै रहने छ।"
वेस्टर्न अस्ट्रेलियाले नोभेम्बर १४ देखि यात्रा प्रतिबन्धहरू खुकुलो बनाए देखि ३०,००० व्यक्तिहरू अन्य राज्यहरूबाट प्रवेश गरिसकेका छन्।
