तीन दशक यताकै पहिलो आर्थिक मन्दीमा फसेको अस्ट्रेलियामा रोजगारीका अवसरहरू घट्दै जाँदा आप्रवासन समीक्षकहरूले यस्तो स्थितिमा आप्रवासन विरुद्ध जनभावना बढ्ने चेतावनी दिएका छन्।
आर्थिक सङ्कटका कारण उत्पन्न हुने आम बेरोजगारीका घटना संसारका लागि नौला होइनन्। अनि विश्वभर त्यस प्रकारका विषम परिस्थिति पश्चात् आप्रवासन विरुद्ध जनभावना बढ्ने गरेको इतिहास पनि छ।
यसै कारण पनि केही विश्लेषकहरू अस्ट्रेलियाले झन्डै ३० वर्ष यता पहिलो पटक भोग्नु परेको आर्थिक मन्दीका कारण बेरोजगारी दर बढ्दै जाँदा मानिसहरूमा अध्यागमनलाई लिएर नकारात्मक सोच बन्ने बारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।

लगातार दुई वटा चौमासिक अवधिमा कुल गृहस्थ उत्पादनमा सङ्कुचन देखिए, अर्थविद्हरूले त्यसलाई मुलुकको अर्थतन्त्र मन्दीमा फसेको भनी परिभाषित गर्ने चलन छ।
अघिल्लो हप्ता ट्रेजरर जस फ्राइडेनबर्गले यो यथार्थलाई अस्ट्रेलियाको हकमा आधिकारिक रूपमा पुष्टि गरेपछि मन्दी जनजिब्रोमा झुन्डिएको विषय बनेको छ।
विश्वव्यापी आर्थिक सहकार्य तथा विकासका लागि कार्यरत अन्तर्राष्ट्रिय संस्था - अर्गनाइजेसन फर इकोनोमिक कुअपरेसन एण्ड डिभलप्मेन्टद्वारा बुधवार सार्वजनिक गरिएको एक प्रतिवेदन अनुसार कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर अस्ट्रेलियाले भोग्नु परेमा यहाँको अर्थतन्त्र ६.३ खुम्चिने छ।

“मानिसहरू अरू माथि औँला उठाउन तत्पर छन्”
वेस्टर्न सिड्नी युनिभर्सिटीकी अध्यागमन विश्लेषक तथा सहप्राध्यापक शान्थी रबर्टसन् खबरदारी गर्दै भन्छिन् कि आप्रवासीहरूलाई “बलिको बोको” बनाउन सजिलो छ - आर्थिक अनिश्चितताको अवस्थामा रोजगारीका घट्दो अवसरहरूलाई लिएर।
“आर्थिक समस्या हल गर्नाका लागि अध्यागमनको सङ्ख्यामा कटौती हुनुपर्छ भन्ने जस्ता सतही रूपमा गरिने टिका-टिप्पणीहरू प्रति हामी सतर्क हुनै पर्छ … विशेष गरी अन्य देशबाट आउने मानिसहरू प्रति त्यसले पुर्याउन सक्ने नकारात्मक प्रभाव र जातिवादलाई त्यसले दिने प्रशयका सन्दर्भमा,” उनले स्पष्ट पार्दै भनिन्।
“इतिहासको यस घडीमा हामीसँग विल्कुलै सुरक्षित एवं सकारात्मक समाज छ भनेर सोच्नु अत्यन्तै जोखिमपूर्ण रहेको छ।”
कोरोनाभाइरस प्रकोपका कारण उत्पन्न विषम आर्थिक परिस्थितिले अस्ट्रेलियाको बेरोजगारी दर ६.२ पुर्याएको मात्र छैन आधिकारिक रूपमै झन्डै ८२३,००० जनाले आफ्नो रोजीरोटी गुमाएका छन्।

मोन्याश युनिभर्सिटीमा एमीरेटस प्रोफेसर रहेका एन्ड्रु मार्कसले स्कान्लन फाउन्डेसनलाई सामाजिक सद्भाव मापन गर्न सहयोग पुर्याएको एक दशकभन्दा पनि बढी भइसक्यो।
मूल रूपमा अस्ट्रेलियालीहरूको आप्रवासी एवं शरणार्थीहरू प्रति हुने धारणा बुझ्ने सम्बन्धी काम गर्ने मार्कस भन्छन् कि आर्थिक मन्दीका बखत आप्रवासी सङ्ख्यामा कटौती हुनुपर्ने र अध्यागमन विरोधी धारणा झनै बढ्ने गर्छ।
“एउटा धारणा के पनि व्याप्त छ भने, यहाँ आउने हरेक आप्रवासीहरूले रोजगारीको एक अवसर खोस्छन् - तर यथार्थ त्यो भन्दा बढी जटिल छ,” उनले भने।

“यदि बेरोजगारी दर उच्च रहिरह्यो भने सरकारलाई अध्यागमन सम्बन्धी कार्यक्रम पुरानै ढङ्गले सञ्चालन गर्न निकै कठिन हुनेछ।”
मार्कसका अनुसार अस्ट्रेलियाले ३० वर्ष अघि भोगेको आर्थिक मन्दीका बखत पनि आप्रवासीलाई लिएर नकारात्मक धारणा ७०-७५ प्रतिशत पुगेको थियो।
“यसको इतिहासलाई केलाएर हेर्ने हो भने जहिले जहिले आर्थिक सङ्कटहरू उत्पन्न भएका छन् - तब तब समुदायका केही मानिसहरू अल्पसङ्ख्यक जनजाति तथा आप्रवासीहरू माथि औँला ठड्याउँछन्।”
तर, कार्यवाहक अध्यागमन मन्त्री एलन टज भने अहिल्यै नै अध्यागमन कार्यक्रम बारे केही पनि भन्नु सही हुने छैन - विशेषतः कोभिड-१९ का कारण अन्तर्राष्ट्रिय आगमन बन्द रहेको बेला।

आप्रवासन ८५ प्रतिशतले ह्रास हुने प्रक्षेपण
सङ्घीय सरकारले अस्ट्रेलियाले निम्त्याउने आप्रवासीहरू सङ्ख्यामा सन् २०१८/१९ को तुलनामा आगामी वर्ष झन्डै ८५ प्रतिशतले ह्रास हुने प्रक्षेपण गरेको छ।
युनिभर्सिटी अफ सिड्नीमा अध्यागमन विषयकी जानकारका रूपमा काम गरिरहेकी अन्ना बाउचर भने सरकारलाई सिमानाहरू पुनः सुचारु भएपछि आप्रवासीहरूको सङ्ख्या घटाउन अहिलेदेखि नै दबाब पर्न थालिसकेको छ।
“दबाब अहिले नै छ - राजनैतिक रूपमा - तपाईंले त्यो बुझ्न सक्नुहुन्छ। तर मेरो बिचारमा प्रश्न कटौतीको भन्दा पनि कहाँ लक्षित हुनेछ भन्ने हो। यदि तपाईंले आप्रवासनलाई कटौती गर्नुभयो भने त्यो स्वयम् एक प्रत्युत्पादक कदम हुनसक्छ।”
डेलोइटका अर्थविज्ञ क्रिस रिचर्डसन् बाउचरसँग सहमत देखिन्छन्।
रिचर्डसन्को बिचारमा अध्यागमन कार्यक्रम निलम्बन हुँदा अर्थतन्त्र माथि करिब ४० अर्व डलरको क्षति पुग्नेछ।

अर्थतन्त्रमा पर्न सक्ने त्यसो किसिमको गम्भीर असरका कारण पनि सरकारले आफ्नो अध्यागमन नीति तथा कार्यक्रममा तत्काल कुनै हेरफेर नगर्ने बाउचरको भनाई छ।
“स्थायी र अस्थायी आप्रवासनको अनुपातलाई लिएर बहस हुनेछ,” उनी भन्छिन्।
“तर म के कुरामा विश्वस्त छु भने, हामीले अध्यागमन कार्यक्रममा मध्यमदेखि लामो समय सीमाका लागि आकस्मिक खालको कुनै पनि परिवर्तनहरू देख्ने छैनौँ।”
पछिल्ला वर्षहरूमा अस्ट्रेलियाको अध्यागमन कार्यक्रम अस्थायी भिसा धारकहरूमा निर्भर हुँदै गएको छ र स्थायी भिसा जारी हुने सङ्ख्या घट्दै गएको देखिएको छ।
लिबरल-नेशनल पार्टीहरूको गठबन्धन सरकार मात्र होइन प्रमुख प्रतिपक्षी दल लेबर पनि आप्रवासन सङ्ख्या घटाउन पर्ने देखिरहेको छ।
लेबरकी क्रिस्टिना कनेलीले केही समय अघि मात्रै, अन्तर्राष्ट्रिय सिमानाहरू खुलेपछि आप्रवासन सङ्ख्यामा लगाम कस्नुपर्ने अभिव्यक्ति दिएकी थिइन्।

शान्थी रबर्टसन् भने दक्ष कामदारको अभाव हुने क्रम जारी नै रहने हुनाले अस्ट्रेलिया अझै आप्रवासी कामदारमा निर्भर रहने बताउँछिन्।
“तर, यदि आर्थिक मन्दीको मारमा परेका जनताहरू आप्रवासन प्रति उदासीन भए भने अवश्य पनि सरकारले त्यसलाई सम्बोधन गर्छ।”
“कथा दोहोरिए जस्तै छ”
Image अघिल्लो दशकको विश्वव्यापी आर्थिक सङ्कटको प्रत्यक्ष मारमा परेका पेत्रोस गिफ्तोपोलोस्लाई अर्थतन्त्र डामाडोल हुँदा पर्ने असरहरू बारे कसैले सिकाउनु पर्दैन। गिफ्तोपोलोस् मेलबर्न बसाई सर्नु पूर्व, उनको आफ्नो देश ग्रिस - जीवित स्मृतिको सबैभन्दा खराब वित्तीय सङ्कटमा थियो। “हामीले हरेक दिन अर्थव्यवस्था खराब हुँदै गएको देख्यौँ,” उनले एसबीएस समाचारलाई बताए। “अहिले मेरो अनुभूति ठ्याक्कै उस बेलाको जस्तै छ, जसरी त्यो बेला पनि रोजगारीका अवसरहरू गुम्दै थिए, अहिले यहाँ पनि उस्तै अवस्था छ, व्यापार-व्यवसाय बन्द हुँदै छन्। यो उही कथा दोहोरिएको जस्तै छ।” पेसाले रसायनशाश्त्री रहेका गिफ्तोपोलोस् राम्रो अवसरका लागि अस्ट्रेलिया आए र हाल उनी एक क्राफ्ट बियर निर्माण गर्ने कम्पनी अन्य साझेदारहरूसँग मिलेर चलाउँछन्। तर उनी भन्छन् कि अस्ट्रेलियामा आर्थिक मन्दीको प्रभाव देखिँदै गर्दा अब के गर्ने भनेर सोच्न उनी बाध्य भएका छन्। “पक्कै पनि, म चिन्तित छु - निकै चिन्तित छु,” पेत्रोस गिफ्तोपोलोस्ले भने। “मलाई फेरी त्यो परिस्थितिबाट हिँड्नु छैन। म धेरै मानिसहरूलाई चिन्छु जो आफ्नो देश फिर्ता जाने विचार गर्दै छन्।”
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्। कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ। यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

