गैर आवासीय नेपाली सङ्घ भिक्टोरिया अन्तर्गत रहेको नारी निकुञ्जले गत आइतबार अन्तर्राष्ट्रिय महिला दिवसको दिन मेलबर्नमा पहिलो पटक नेपाली महिलाहरूका लागि उक्त कार्यक्रम सञ्चालन गरेको हो।
नारी निकुञ्ज भिक्टोरियाकी काजलकिरण सिंह भण्डारीले कम समय लगानी गरेर अधिक प्रतिफल दिने सोच राखेर उक्त तालिम कार्यक्रमको अवधारणा बनेको बताइन।
“हामीले यो कार्यक्रम १८ वर्षभन्दा माथिका युवती तथा महिलाहरूलाई लक्षित गरेर ल्याएका हौँ,” उनले भनिन।
विशेष गरेर विद्यार्थी र अन्य कामकाजी महिलाहरू रात्रिको समयमा वा एक्लै एकान्तमा हिंडदा आत्मरक्षा गर्नुपर्ने अवस्था आइपरेमा सिक्न जरुरी तरिकाबारे जनचेतना फैलाउने उद्देश्य रहेको पनि सिंह भण्डारीको कथन थियो।

“प्रभावकारी कार्यक्रम होस् भनेर हामीले यसपालि २५ जनाको सीमा निर्धारण गरेका थियौँ तर मागलाई ध्यानमा राखेर ३० जनाले भाग लिन पाउने बनायौँ। अब निकट भविष्यमा पुनः थप यस्ता शिविरहरू सञ्चालन गर्ने हाम्रो सोच छ,” कोरोनाभाइरसबाट उत्पन्न सङ्कटका कारण अहिल्यै आगामी तालिमको मिति तोक्न अप्ठेरो परिरहेको पनि उनले एसबीएस नेपालीलाई बताइन।
नेपाली समुदायमा उत्ति साह्रो परिचित नाम नभए पनि तालिमकर्ताको रूपमा कार्यक्रममा उपस्थित आइरा जावोर्स्की राज्य स्तरमा स्वर्ण पदक हासिल गर्न सफल अस्ट्रेलियाली तेक्वान्दो खेलाडी हुन्।
उनले आफूद्वारा सिकाइएको कुनै एक कुरा पनि सहभागीहरूले सम्झे त्यो नै आफ्नो लागि सबैभन्दा ठुलो उपलब्धि हुने बताएकी छिन।
“तनावपूर्ण समयमा यहाँ सिकाइएको कुनै पनि कुरा उनीहरूले प्रयोग गर्न सके भने आजको यो कार्यक्रम सफल भएको ठान्नेछु,” उनले भनिन्।

कार्यक्रममा सहभागी समेत रहेकी नारी निकुञ्ज भिक्टोरियामा सबैभन्दा कम उमेरकी पदाधिकारी मेरिना गुरुङले आफू लगायत अन्य युवतीहरूलाई यस्ता तालिमले थप हौसला प्रदान गरेको बिचार राखिन्।
“यो चाहिँ मेरो एक किसिमको इन्ट्रेस्ट पनि भइराखेको तर समय अनि परिस्थितिले गरेर नपाएको भएर र यहाँ आफ्नै टिमले नै यस्तो कार्यक्रम गर्दा म एकदमै उत्साहित छु,” गुरुङले भनिन्।
कुनै बेला कथमकदाचित् आफूलाई गाह्रो परेको खण्डमा आत्मरक्षाका लागि चाहिने सिप सिक्नु जरुरी रहेको पनि उनले बताइन।
“न्युजहरूमा आइराख्छ बेलाबेलामा… एउटा दुइटा कतै-कतै कोहीलाई केही भएको समाचारहरू आउँदा चाहिँ आफूलाई पनि (सेल्फ डिफेन्स) लर्न गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो,” मेरिना गुरुङले आफ्नो प्रेरणा सुनाइन।
“हामी कोही पनि यस्ता घटनाका सिकार हुन् भनेर चाहँदैनौँ तर हाम्रो मात्र होइन अन्य समुदायका महिलाहरू जुनसुकै बेला पनि घर वा काममा जानुपर्ने हुन्छ र यो तालिमबाट अलिकति भए पनि त्यस्तो अवस्थामा आफूलाई कसरी सुरक्षित राख्न सकिन्छ भनेर हेल्प होस् भन्ने नै हाम्रो उद्देश्य हो।”
