मुख्य बुँदा
- अस्ट्रेलियामा आपत्कालीन चेतावनी र आगलागीको सम्भावनाका बारेमा जानकारी दिन नयाँ फायर रेटिङ्ग सिस्टमको विकास गरिएको छ।
- फायर डेन्जर रेटिङ्ग र आपतकालिन चेतावनीका लागि प्रयोग हुने कलर कोडहरू एकै प्रकारका छन्।
- फायर डेन्जर रेटिङ्गले आगलागी कतिसम्म खतरापूर्ण हुन सक्छ भनेर बताउँछ।
- अस्ट्रेलियाको चेतावनी प्रणालीले पहिले नै देखा परेको घटना कतिसम्म गम्भीर बन्न सक्छ भनेर जानकारी दिन्छ।
सन् २०१९ मा अस्ट्रेलियामा लागेको डँडेलोले विश्वभरका अखबारमा स्थान पायो, लाखौँ जनावरहरूको मृत्यु र हजारौँ हेक्टर जमिन ध्वस्त भएको उक्त घटनाको केही समय पछि पुन: अर्को आपत् आइलाग्यो।
लगातारको वर्षा र बाढीका कारण आगलागीबाट प्रभावित बनेकाहरू पुन: प्रकृतिको चपेटामा परे।
रब वेब, न्युजिल्यान्ड र अस्ट्रेलियाका लागि नेशनल काउन्सिल फर फायर एन्ड इमर्जेन्सी सर्भिसका प्रमुख कार्यकारी अधिकृत हुन्।
उनका अनुसार पछिल्लो समय ३० भन्दा बढी राज्य र प्रदेशका आप्तकालिन सेवाहरू एकत्रित पारेर समन्वयात्मक दृष्टिकोण स्थापित गर्ने प्रयास गरिएको छ।
“मौसम परिवर्तन भइरहेकाले, हामीले थप प्रकोपहरू देखी रहेका छौ,” उनले बताए।

अस्ट्रेलियाले हालै आफ्नो चेतावनी प्रणालीलाई बुझ सजिलो हुने गरी राष्ट्रिय रूपमा परिमार्जन गरेको छ।
यसले आपत्कालीन सेवामा खटिएका आधिकारी र जुन सुकै स्थानमा रहेका समुदायलाई, प्राकृतिक प्रकोपको खतराका बेला के गर्ने भनेर जानकारी दिन्छ।
राष्ट्रिय रूपमा तैयारी पारिएको चेतावनी प्रणाली सन् २०२० को डिसेम्बर महीनामा लागु गरिएको हो भने फायर डेन्जर रेटिङ्ग सिस्टमलाई भने सेप्टेम्बर २०२२ मा अद्यावधिक गरिएको छ।
फायर डेन्जर रेटिङ्ग र इमरजेन्सी वानिङ्ग सिस्टम उस्तै भए पनि यिनीहरूको प्रयोग भने फरक अवस्थामा हुन्छ।
फायर डेन्जर रेटिङ्ग अन्तर्गतको प्रणालीले आगलागी भएको खण्डमा कुन समयमा तैयारी थालिनु पर्छ भन्ने कुरालाई वर्णन गर्छ भने इमरजेन्सी वानिङ्ग सिस्टमले चाहिँ पहिले नै देखापरिसकेका प्राकृतिक खतराहरूको स्तरहरूका बारेमा सल्लाह दिन प्रयोग गरिन्छ।
आगलागी सम्बन्धी फायर डेन्जर रेटिङ्ग के हुन् र यसले के अर्थ राख्छ?
खतराको स्तर देखाउन प्रयोग हुने फायर डेन्जर रेटिङ्ग सिस्टमले वातावरणीय र मौसममा आधारित भएर आगलागी भएको अवस्थामा कतिसम्म खतरा हुन सक्छ भनेर देखाउँछ।
“यो मूल्याङ्कन प्रणाली विशेष गरी आगोको तैयारीका लागि हो, ...अर्थात् आगलागी भएको खण्डमा यसलाई रोक्न तोकिएका कदम चाल्नु पर्छ भन्ने हो,” राष्ट्रिय मौसम विज्ञान विभागका सामुदायिक संलग्नता प्रबन्धक फियोना डन्स्टनले व्याख्या गरिन्।
रङ्गका आधारमा छुट्टाइएका चार वटा खतराका रेटिङ्गहरु यस प्रकार छन्।
- मध्यम– (हरियो) योजना र तैयारीका लागि
- उच्च– (पहेँलो) आवश्यक कदम चाल्नका लागि वा तैयारी गर्नका लागि
- चरम– (सुन्तला रङ्ग) जीवन र सम्पत्ति बचाउनका लागि तत्काल चाल्नु पर्ने कदमका लागि
- विनाशकारी – (रातो) आफ्नो जीवन बचाउन तत्काल उक्त स्थान छाड्नका लागि
हरियो र पंहेलो रेटिङ्गका दौरान, आफू बसेको स्थानको आपतकालिन सेवाले दिने जानकारीका बारेमा विशेष ध्यान पुर्याउनु पर्छ।
चरम एवम् विनाशकारी रेटिङ्गको खण्डमा भने अग्नी नियन्त्रकहरुले समेत आगो निभाउन मुस्किल पर्ने अवस्थाको सिर्जना हुन सक्छ, यस्तो अवस्थामा तत्काल आफ्नो बचाउमा लाग्नु पर्दछ।

“विनाशकारी रेटिङ्ग रहेको अवस्थामा आफूले के गर्ने भनेर जानकार रहनुपर्छ, त्यही बस्ने वा सुरक्षित स्थानमा जाने भन्ने बारेमा निर्णय लिनु पर्दछ,” वेबले भने।
“डँडेलोमा कसरी सुरक्षित रहने भन्ने कुरा चाहिँ परिस्थितिहरूमा निर्भर गर्छ, धेरै जनसङ्ख्या रहेका केही स्थान गर्मी महीनामा आगलागीको जोखिममा हुन्छन् भने उत्तरी क्षेत्रहरूमा चाहिँ जाडो महीनामा जोखिम हुन्छ,” उनले भने।

एलिजाबेथ गो न्यु साउथ वेल्सको रुरल फायर सर्भिसमा लामो समयदेखि स्वयंसेवीकाका रूपमा काम गदै आइरहेकी छन्।
उनका अनुसार आपत्कालीन अवस्थाका बारेमा जानकारी राख्न सबैका लागि अति जरुरी छ, समयमै यस्ता जोखिमका स्थानहरू नछाड्नेहरूलाई आपत्कालीन सेवामा खटिएकाहरूको सहयोग चाहीने उनी बताउँछिन्।
“आगलागीको विषम परिस्थितिमा पनि स्थान नछाड्नेहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्नका लागि अग्नी नियन्त्रहरुको श्रोतहरूको खर्च हुन्छ, उनीहरूलाई खतराबाट बाहिर निकाल्न र उनीहरूको ख्याल राख्नुमा बढी ध्यान दिनु पर्ने हुन्छ।”

अस्ट्रेलियाली चेतावनी प्रणाली र हामीले गर्नु पर्ने कार्य
अस्ट्रेलियाको चेतावनी प्रणालीलाई आपत्कालीन वा घटनाको गम्भीरतालाई बुझाउन प्रयोग गरिन्छ।
“बाढी, आगलागी, चक्रवत, अत्यधिक गर्मी लगायतमा चेतावनी दिन यसको प्रयोग हुन्छ,” डन्स्टन थप्छिन्।

अस्ट्रेलियाको फायर रेटिङ्ग जस्तै चेतावनी प्रणाली पनि तीन वटा रङ्गमा व्याख्या गरिएको छ।
डँडेलो र अन्य खतराहरू उत्पन्न भएसँगै तीन स्तरको चेतावनी प्रणाली सुरु हुन्छ।
ती चरणहरू यस प्रकारका छन्।
- सामान्य सल्लाह दिने– (पहेँलो रङ्ग) यसले घटनाको सुरुवात भइसकेको भए पनि तत्काल खतरा नरहेको जानकारी दिन्छ।
- अवस्था हेरेर निर्णय लिन– (सुन्तला रङ्ग) यसले अवस्था परिवर्तन भएको र आफ्नो सर सामान र परिवारलाई जोखिमबाट बचाउन आवश्यक कदम चाल्न अनुरोध गर्दछ।
- आपतकालिन चेतावनी– (रातो रङ्ग) यस्तो रङ्गको अर्थ खतराको अवस्था छ र जीवन जोगाउनका लागि तुरुन्तै कदम चाली हाल्नुहोस् भन्ने हो।
डन्स्टन कस्तो खतरा हो त्यसमा पनि आफूले चाल्ने कदम भर पर्ने बताउँछिन्।
बाढी वा आगलागीको अवस्थामा आफू रहेको स्थानमा तत्काल छाड्नु पर्ने हुन्छ तर अत्यधिक गर्मी वा असिना परेको अवस्थामा आफूलाई कतै सुरक्षित राख्नु पर्ने हुन्छ।
उनका अनुसार, घटना घटेको खण्डमा के गर्ने भन्ने कुरामा पूर्व योजना बनाउनु जरुरी हुन्छ।
उनी सबैलाई निम्न कुराहरूमा पहिल्यै जानकार हुन अनुरोध गर्छिन्।
- कहाँ जाने?
- के लैजाने?
- केटाकेटी र घर पालुवा जनावरहरूलाई कसरी व्यवस्थापन गर्ने?
यता वेब पनि आफू बस्ने स्थानको आपतकालिन सेवामा सम्पर्क गरी खतराका बारेमा जानकारी लिन आग्रह गर्छन्।
बाढी हो वा आँधी हुरी हो कि? त्यस क्षेत्रमा रहेका जोखिमका बारेमा जानकार रहने र खतरालाई कम गर्न के गर्न सकिन्छ भनेर बुझ्ने
“बुझ्नका लागि समय लगानी गर्दा, आफू रहने स्थानका खतराहरूका बारेमा जानिन्छ, जसले जीवन बचाउन सक्छ,” उनले भने।
