गत साल अमेरिकाको राजकीय भ्रमणमा आएको बखत फ्रेन्च राष्ट्रपति इम्यानुएल म्याक्रोंले एक कटुसको रुख उपहार स्वरूप आफ्ना अमेरिकी समकक्षीलाई उपहार दिएका थिए।
अगिल्लो सालको अप्रिल २९ तारिख, आइतबारका दिन यी दुई मित्रहरूले आफ्नो मित्रता अटुट रहोस् भन्ने कामना सहित संयुक्त रूपमा रोपेका थिए।
सँगसँगै रहेका उनीहरूका श्रीमतीहरूले पनि बढो चाख पूर्वक आ-आफ्ना श्रीमानहरूले सुनौलो साबेल प्रयोग गर्दै उत्तरी फ्रान्सदेखि ल्याइएको उक्त कटुस रोपिएको चर्तिकला हेरेका थिए र संसारभरका पत्रकारहरूले यसको समाचार पनि बनाएका थिए।
फेरी यो चानचुने कटुस पनि होइन।
पहिलो विश्वयुद्धका बेला करिब दुई हजार अमेरिकी सैनिकहरूले आफ्नो ज्यान गुमाएको उत्तरी फ्रान्स स्थित एक जङ्गलबाट उक्त कटुसको रुख छानिएको थियो।

तर रोपेको केही दिनमै अलप भएको कटुसको रुखले अमेरिकी सञ्चार माध्यमहरूमा चर्चा बटुल्यो।
कहाँ गयो त त्यो उपहार? कतै ट्रम्पलाई औधी मन परेर आफ्नै घर तिर त दौड्याएनन् भन्नुहोला। त्यस्तो भएको हैन।
अमेरिकामा बाहिरबाट ल्याइने हरेक जीवित प्राणीबाट सरुवा रोगको सर्ला कि भनेर केही दिन अलग्गै राखिने प्रक्रिया “क्वारेन्टाइन”का लागि प्रयोगशाला लागिएको कुरा एक फ्रेन्च अधिकारीले ट्विटर मार्फत सफाइ दिए।
जाँचपड्ताल पछि त्यसलाई पुन: रोपिने पनि उनले बताएका थिए तर हालै एक अर्का अधिकारीका अनुसार उक्त कटुसको बिरुवा परीक्षण अवधि मै मर्यो।
