

Explainer
Published
Updated
यो वर्षको दिवाली वा दीपावली अक्टोबर ४ मा परेको छ।
'बत्तीहरूको चाड' भनेर पनि चिनिने यो पर्व प्राय पाँच दिन सम्म मनाइन्छ।
अस्ट्रेलियामा रहेका १० लाख भन्दा बढी हिन्दु, जैन, बौद्ध र सिखहरूले यो पर्व मनाउँछन्, जसमा तिहार र बन्दी छोड़ दिवस पनि पर्दछन्।
खराबमाथि असलको विजय र अन्धकारमाथि ज्योतिको विजयका रूपमा यो पर्वले आफ्नो महत्त्व राख्दछ।
यो एक अर्कालाई धन्यवाद दिँदै असल स्वास्थ्य र समृद्धिको लागि पुजा अर्चना गर्ने समय पनि हो।

डा जयन्त बापत हिन्दु पुरोहित र मोनाश युनिभर्सिटी मेलबर्नका समाजशास्त्रका अनुसन्धानकर्ता हुन्।
उनि दिवाली शब्द संस्कृतको दीपावलीबाट आएको बताउँछन्।
'दीप'को अर्थ 'बत्ती' र अवालीको अर्थ 'ताँती' भन्ने हुन्छ। र दीपावलीको सबैभन्दा सामान्य अर्थ भनेको 'ताँतीबद्ध बत्तीहरू' हो।डा जयन्त बापत
भारतीय उपमहाद्वीप भरि यसलाई मनाउने तरिका प्रत्येक क्षेत्रको परम्परा अनुसार भिन्न हुने गर्दछ।
प्रत्येक वर्ष, दिवाली हिन्दु पात्रो अनुसार आश्विन र कार्तिक महिनातिर मनाइन्छ, जुन प्राय अक्टोबर र नोभेम्बर महिनामा पर्ने गर्दछ।

पारम्परिक रूपमा माटोले बनेको दियोहरूलाई बालेर, बच्चा र वयस्कहरूले पटका पड्काएर यो पर्व मनाइन्छ।
धेरैको लागि यो उत्सव रंगोली बिना अधुरो हुन्छ, रङ्गीचङ्गी यस्ता आकृतिहरूलाई दक्षिणी भारतमा कोलम भनिन्छ।
यस्ता आकृतिहरू दिवालीको हरेक बिहान बनाउने गरिन्छ, हिन्दु देवी लक्ष्मीलाई स्वागत गर्न र सौभाग्यका लागि।
यो समयमा परिवार र साथीहरू एक साथ जम्मा भई, नाच गान गर्ने, मिठाइहरू बाँड्ने र उपहार साटासाट गर्ने गर्दछन्।
घरहरूमा बत्तीहरू बाल्नु पूर्व घरको सरसफाइ गरिन्छ जसबाट समृद्धि र धन प्राप्ति हुने मान्यता रहेको छ।
केही परिवारहरूले त घरमा नयाँ रङ्ग लगाउने पनि गर्दछन्।

अस्ट्रेलियामा भारतीय उपमहाद्वीप पृष्ठभूमिका नागरिक र बासिन्दाहरूको सङ्ख्या बढ्ने क्रममा रहेको छ। जसको अर्थ दिवालीलाई अस्ट्रेलियाका प्रमुख सहरहरू र धेरै रिजनल केन्द्रहरूमा मनाइने छ।
तारा राजकुमार ओम, मेलबर्न निवासी प्रतिष्ठित नर्तक र कोरियोग्राफर हुन् र उनी भन्छन् यो चाडको पार्श्वचित्र पछिल्ला शताब्दीहरूमा बढ्दै गएको छ।
"जब म सन् १९८३ मा अस्ट्रेलिया आइपुगेको थिएँ, त्यति बेला दीपावली घरमा वा सानो समूहहरूमा मात्र मनाइन्थ्यो, तर अहिले यसलाई बृहत् रूपमा स्विकारिएको छ।" राजकुमारले भने।
"महाद्वीपबाट बसाइ सर्नेहरूको सङ्ख्यामा वृद्धि हुनुले यसमा ठुलो भूमिका खेलेको छ, र दीपावलीलाई हिन्दु क्यालेन्डरको सबैभन्दा महत्त्वपूर्ण पर्वका रूपमा चिनिएको छ।
अहिले अस्ट्रेलियाभर दीपावलीका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। मेलबर्नको फेडरेसन स्क्वायर देखि विमानस्थलसम्म, हामी महोत्सवका सूचकहरू देख्न सक्छौँ।तारा राजकुमार
"दीपावलीको महत्त्वपूर्ण हिस्सा भनेको अज्ञानतालाई ज्योतिले हटाउँदा हुने आन्तरिक परिवर्तनको सोच नै हो।"
हिन्दु समुदायका सदस्यहरूले प्राय दिवाली पाँच दिनसम्म मनाउने गर्दछन्।
यो धन त्रयोदशी वा धनतेरसबाट सुरु हुन्छ, यस दिन सुन र चाँदीका सरसामानहरू किन्नुलाई शुभ मानिन्छ।
"यो दिन मानिसहरूले बच्चाहरूका लागि उपहार किन्छन्। सबैले नयाँ लुगा लगाउँछन्, घरको सरसफाइ गरिन्छ र मानिसहरूले सुन र चाँदी किन्छन्। यो दिन देवी लक्ष्मीको पूजा अर्चना गरिन्छ।" डा बापत भन्छन्।

दोस्रो दिनलाई चतुर्दशी भनिन्छ, जससँग जोडिएका धेरै किम्बदन्तीहरू भारतीय उपमहाद्वीपभरि रहेका छन्।"
"एक किम्बदन्ती छ, नरकासुर नामका एक राक्षस राजा थिए जसलाई भगवान् कृष्णले हराएर वध गरेका थिए," डा बापत भन्छन्। उनका अनुसार यस दिन धेरै मानिसहरूले आफ्नो घरको ढोका खुल्लै राख्छन् र देवी लक्ष्मीलाई स्वागत गर्न घरको अगाडी साथै नदीको किनारहरूमा पंतिबद्ध गरेर बत्तीहरू राख्छन्।
तेस्रो दिन जसलाई लक्ष्मी पूजा भनिन्छ, र यस दिनलाई धनकी देवीको पूजा गर्ने सबैभन्दा शुभ दिनका रूपमा विश्वास गरिन्छ।
"यस दिन, जस्तै, व्यवसायीहरू आफ्नो खाता पुस्तकहरू र पैसालाई पूजा गर्छन्," डा बापत बताउँछन्।
भारतका विभिन्न स्थानहरूमा, यो दिन १४ वर्षको वनवास सकाएर भगवान् राम आफ्नो भाइ लक्ष्मण र पत्नी सिताका साथ गृह राज्य अयोध्या फर्किएको दिनको रूपमा पनि मनाइन्छ।
चौथो दिन, गोवर्धन पूजा हो, जुन उत्तर भारतमा मनाइने गर्दछ।
"किम्बदन्तीका अनुसार, भगवान् कृष्णले आफ्ना मानिसहरूलाई प्राकृतिक विपदबाट जोगाउन गोवर्धन पर्वतलाई एक औँलामा उठाएका थिए। यो दिन भगवान् इन्द्रलाई भगवान् कृष्णले हराएको दिनको रूपमा मनाइन्छ।"
अन्तिम दिन भनेको भाइ दूज हो। यस दिन दिदी भाइ, दाजु बहिनी बिचको उत्सव हो। जसमा दिदी बहिनीले आफ्ना दाजु भाइको निधारमा रातो टिका लगाएर आफूहरू बिचको माया र सम्बन्धलाई सम्मान दिने गर्दछन्।
भारत विविधताले भरिएको देश भएकाले दिवाली मनाउने तरिका पनि क्षेत्र क्षेत्रबिच फरक रहेको छ।
"जस्तै, लक्ष्मी धनकी देवी हुन्, तर बेङ्गालमा उनीहरूले लक्ष्मीलाई नभएर देवी कालीलाई पूजा गर्छन्। गुजरातमा विष्णु साथ साथै हनुमानलाई पनि पूजा गरिन्छ। कर्नाटकमा कुस्ती वा जिमनास्टिक कार्यक्रमहरू प्राय देखाइन्छ। बालबालिकाहरूले माटोको दरबार बनाउँछन्। " डा बापत भन्छन्।

नेपाली समुदायमा दिवालीलाई तिहार भनिन्छ।
पाँच दिनसम्म मनाइने यस चाड जनावरहरू जस्तै काग, कुकुर र गाई प्रति पनि समर्पित हुन्छन्।
पहिलो दिन, काग तिहार कागप्रति समर्पित हुन्छ, जसले वातावरण र घरहरूलाई सफा राख्न मदत गर्दछ।
दोस्रो दिन कुकुर तिहार, वफादारीताका लागि चिनिने जनावर कुकुर प्रति समर्पित हुन्छ।
यस दिन कुकुरहरूलाई नुहाएर, पूजा गरिन्छ र मिठा परिकारहरू दिइन्छ।
'गाई तिहार', अधिकांश समय तेस्रो दिनमा पर्ने गर्दछ। र यो दिन मातृत्वको प्रतीक र पवित्र मानिने गाईको पूजा गरिन्छ।

प्राय, गोरु तिहार भनिने चौथो दिनमा, नेपालीहरूले खेत जोत्न मदत गर्ने गोरुहरूको सम्मान गर्दछन्।
त्यही दिन, काठमान्डु र वरपरका नेवार समुदायले म्ह पूजा गर्ने गर्दछन्, जसको अर्थ आफूलाई पूजा गर्ने भन्ने हुन्छ।
'भाइ टिका' तिहारको अन्तिम दिन हो। र यो दिन दाजुभाइ र दिदि बहिनिमा समर्पित हुन्छ।
बन्दी छोड़ दिवसलाई 'सिख दिवाली' भनेर पनि चिनिन्छ, अस्ट्रेलियाको सिख समुदायका महोत्सवहरू आयोजना गर्न अनुभव राख्ने गुरिन्दर कौर भन्छिन्।
१७ औँ शताब्दीमा ग्वालियर बन्दी गृहबाट छैटौँ सिख गुरु, गुरु हरगोबिन्दलाई रिहा गरिएको दिनको स्मरण गर्दै यसलाई 'स्वतन्त्रताको उत्सव'का रूपमा पनि मनाइन्छ।
जब उनलाई रिहा गरिँदै थियो, उनले मुगल सम्राट् जहाँगिरलाई अन्य ५२ बन्धक बनाइएका राजाहरूलाई पनि छोड्न आग्रह गरेका थिए।
सम्राट्ले उक्त कुरामा सहमति जनाएर सबै राजाहरू रिहा गर्ने तर उनीहरूले गुरु हरगोबिन्दको लुगामा समातिराख्न सक्नु पर्ने बताए। उनको लुगा भने ५२ कपडाका त्यान्द्राहरूबाट बनेको बताइन्छ।
बन्दी को अर्थ 'बन्धक बनाइएका' र छोड़ को अर्थ 'रिहा' भन्ने हुन्छ। यो दिनको प्रमुख सन्देश भनेको गुरुले आफ्नो लागि मात्र नभएर अरूको मानव अधिकारको लागि पनि अडिग रहेको भन्ने हो।गुरिन्दर कौर
अस्ट्रेलियाका सिखहरूले बन्दी छोड़ दिवस आफ्नो घर नजिकको गुरुद्वारामा गएर मनाउँछन्।
"यही दिन सिखहरूले गुरुको आशीर्वाद लिन्छन्, गुरुद्वारामा मैनबत्ती बाल्छन् र मिठाइहरू बाँड्छन्।" कौर बताउँछिन्।

"घरमा, मिठाइ र उपहारहरू साटासाट गरिन्छ, र यति सुरक्षित छ र अनुमति प्रदान गरिएको छ भने पटकाहरू पड्काइन्छ।"
थप दिवाली, दीपावली, बन्दी छोड़ दिवस र तिहार सम्बन्धी सामाग्रीहरूको लागि मा जानुहोस्।
थप दिवाली, दीपावली, बन्दी छोड़ दिवस र तिहार सम्बन्धी सामाग्रीहरूको लागि sbs.com.au/tihar मा जानुहोस्।