मुख्य बुँदा
- अधिकांशको भान्सामा देखिने 'हट सस्' बेचेर एक साधारण व्यक्ति अर्ब पति बने।
- भियतनामबाट शरणार्थीका रूपमा भित्रीएका एक साधारण व्यक्तिले 'श्रीराचा ब्रान्ड' संसारभर पुर्याए।
- भियतनामबाट भाग्न जुन ढुवानी जहाजको प्रयोग गरेका थिए, त्यसैको नाममा राखे कम्पनीको नाम।
अस्ट्रेलियाका अधिकांश सुपर मार्केटहरूमा पाइने रातो रङ्गको हट चिल्ली सस, जसलाई यसको ब्रान्ड नाम 'श्रीराचा' बाट पनि धेरैले चिन्छन्।
तर सामान्य लाग्ने यो सस र यसलाई जन्म दिने मालिकको कथा भने असामान्य छ।
अर्वपति मालिक डेभिड ट्रान
अमेरिकामा बसोबास गर्ने ट्रान उमेरले अहिले ७७ वर्ष पुगिसके।
ट्रान मुलत: चिनियाँ पृष्ठभूमीका हुन्।
भियतनाममा जन्मिएका ट्रान देश छाडेर भाग्न बाध्य पारिएका मानिस थिए।
कुरा के थियो, सन् १९७८ ताका भियतनामी कम्युनिस्ट सरकारले चिनियाँ पृष्ठभूमिका मानिसहरूलाई दमन गर्न थालेको थियो।
ज्यादती धेरै हुन थालेपछि डेभिड ट्रान पनि ३,००० अन्य शरणार्थीसँगै देशबाट भागे।
सुरुमा हङ्गकङ्गमा ६ महिना जति शरण पाएपछि, अमेरिकाको बोस्टन सरेका उनी पछि लस एन्जलसमा आएर बसोबास गर्न थाले।
न्यु योर्क टाइम्ससँगको कुराकानीका क्रममा आफू सन् १९८० को ज्यानुअरी महिनाको पहिलो साता अमेरिकी सहर लस एन्जलसमा उत्रिएको उनले बताए।
“र, फेब्रुअरी लाग्दै गर्दा मैले सस् बनाउन थालिसकेको थिए।”
सन् १९७० मा भियतनाम युद्धका क्रममा ५ वर्ष कुकका रूपमा काम गरेको अनुभवले पनि उनलाई व्यवसाय तिर तान्यो।

शरणार्थीबाट अर्ब पतिसम्मको यात्रा
भियतनाममै हुँदा उनको परिवार खुर्सानीबाट सस् बनाउने योजना बुन्न थालिसकेको थियो।
तर त्यो सपना, तत्कालीन समयमा जारी युद्धका कारण सफल भएन।
अमेरिका आएपछि भने उनले आफ्नो परिवारको सपनालाई पुरा गर्न तर्फ लागे र सस् बनाउने व्यवसाय सुरु गरे।
कम्पनीको नाम, उनी पहीलोपटक देश छाडेर भाग्दै गर्दा यात्रा तय गराएको डुङ्गाको नाममा राखिदिए।
'हुई फङ्ग फुड्स'
चिनिया ज्योतिषी भाषामा हुई फुङ्गले भालेको अर्थ जनाउँछ।
उक्त कम्पनीले उत्पादन गरेको श्रीराचा सस् उनकै भाषामा भन्ने हो भने “गरिबले किन्न सक्ने धनी मानिसहरूको सस्”हो।
उत्पादनका सुरुमा दिनमा शिशुको खानाका बट्टालाई सफा गरेर, त्यसमा सस् भरेर बेच्ने गरिन्थ्यो।
उनको परिवार थोत्रो साइकलमा स–साना पसलहरूमा सस् आफैँ पुर्याउन जान्थे।
“यो सस् मैले एसियाली समुदायका लागि बनाएको हुँ,” उनले भने।
“मलाई थाहा थियो कि भियतनामीहरू यहाँ बसोबास गर्न थालेपछि उनीहरूले प्रयोग गर्दै आइरहेको पिरो सस् खोज्नेछन्,....तर म यस्तो चिज बनाउन चाहन्थे जुन भियतनामी समुदाय बाहेकमा पनि बेच्न सकुँ।”
त्यही उत्पादनले आज उनलाई एक अर्वपतिका रूपमा उभ्याएको छ।

श्रीराचा सस् के बाट बन्छ?
खुर्सानी, लसुन, थोरै चिनी अनि नुन र बफाइएको भिनेगर।
यी सबैको सम्मिश्रण प्लास्टिकको बोतलमा भरिएपछि श्रीराचा सस् तयार हुन्छ।
तर सस्तो भएकै कारण यसको माग उच्च छ।
भाइस मन्चिज नामक एक प्रकाशनसँग कुरा गर्दै ट्रानले मुनाफा कमाउने नाममा उनले आफ्नो उत्पादकको थोक मूल्य कहिल्यै नबढाएको बताए।
'गरिबले किन्न सक्ने धनी मानिसको सस्' उत्पादन गर्ने प्रतिज्ञालाई उनले कहिल्यै नभुलेको बताउँछन्।
सस् उत्पादनको इतिहास खोज्दै जाने हो भने केही दशक अघि, अर्थात् सन् १९४९ तिर थाइल्यान्डको श्री राचा भन्ने स्थानमा बस्ने एक महिलाले, आफू बसोबास गर्ने स्थानको नाम राखेर सस् बनाउन थालेको पाइन्छ।
थाइल्यान्डमा बन्ने श्रीराचा केही गुलियो, पातलो र हल्का स्वादको हुन्छ।
तर ट्रान, थाइल्यान्डको श्रीराचासँग आफ्नो कुनै सम्बन्ध नभएको बताउँछन्।
“मलाई थाहा छ, यो थाई श्रीराचा होइन,” उनले स्पष्ट पारे।
“यो मेरो श्रीराचा हो।”
कति लोकप्रिय छ त सस्?
ट्रानको कम्पनीको बजार मूल्य अहिले डेढ अर्ब अस्ट्रेलियन डलर पुगेको छ।
आइबीइआइस वर्ल्डका अनुसार सन् २०२० मा यसले लगभग २० करोड अस्ट्रेलियन डलर (१९९ मिलियन) बराबरको व्यापार गरेको छ।
प्रत्येक घण्टा कम्पनीले १८,००० श्रीराचा बोतलको उत्पादन गर्छ।
मानिसहरूले आफ्ना शरीरमा सस् ट्याटुहरू बनाएका छन्, कपडाहरू बनाएका छन् र यो अन्तरिक्षमा समेत पुगिसक्यो।
कम्पनीले सस् बोतलको आकारमा साँचोहरु झुन्ड्याउनका लागि की-रिङ पनि बनाउँदै आएको छ।
सुरुमा एलएको सानो घरबाट उत्पादन सुरु भएको सस् अहिले आफ्नै ठुलो उत्पादन केन्द्रमा बन्छ।
विना विज्ञापन, 'वर्ड अफ माउथ' बाट चलेको उनको व्यावसायिक उत्पादन अहिले अमेरिकाको तेस्रो ठुलो लोकप्रिय बनेको छ।
