भिक्टोरियामा प्रदान गरिने महामारी भुक्तानी कसले पाउँछन्?

कोरोनाभाइरसको लक्षण देखा परे जँचाउन जान र पुष्टि भए सेल्फ आइसोलेसनमा बस्न ड्यानिएल एन्ड्रुजको सरकारले दिने भुक्तानी पाउन खासमा योग्य को छन् त?

People are seen wearing face masks in the central business district in Melbourne.

People are seen wearing face masks in the central business district in Melbourne. Source: AAP

विगत केही हप्ता यता भिक्टोरियामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या अभूतपूर्व रूपमा बढ्दै गएको छ र योसँगै "प्यानडेमिक पेमेन्ट" कसले पाउने भन्ने बारे चर्चा।

सोमबार मात्रै राज्यमा नयाँ रेकर्ड स्थापना हुँदै एकै दिन (२४ घण्टाको मापन अवधि)मा ५०० भन्दा बढी सङ्क्रमित भेटिँदा र त्यस अघिको सप्ताहान्तमा झन्डै २० जनाको ज्यान जाँदै गर्दा, प्रिमियर ड्यानिएल एन्ड्रुजको सरकारले केही अघि घोषणा गरेको महामारी भुक्तानी अहिले ज्याला मजदुरी गर्ने वा क्याजुअल काम गर्ने भिक्टोरियालीहरुको चर्चाको विषय बन्न पुगेको हो।

जाँच गराउन जाने १० मध्ये ९ जनाले कोरोनाभाइरसको लक्षण देखिँदा-देखिँदै पनि, परीक्षण पछि काममा गएको गत हप्ता प्रिमियर एन्ड्रुजले आफ्नो दैनिक रूपमा हुने पत्रकार सम्मेलनका क्रममा बताएका थिए।

काममा नगए कामबाट निकालिने डर र काममा नगएको दिन पारिश्रमिक नपाउने कारणले मानिसहरू कोभिड-१९ को लक्षण हुँदा-हुँदै मानिसहरू कार्यस्थल गएको खुल्न आएपछि, उनले केही समय अघि बिरामी बिदा नहुने र सङ्क्रमित पुष्टि भएका व्यक्तिहरू आइसोलेसनमा बस्नुपर्दा उनीहरूको आयमा प्रतिकुल प्रभाव नपरोस् भन्दै जनही १,५०० डलर राज्य सरकारले भुक्तानी दिने व्यवस्था गरेको घोषणा गरेका थिए।

सो १,५०० डलर तपाईँ स्वयम् सङ्क्रमित नभएर तपाईँ "क्लोज कन्ट्याक्ट" मा पर्नुभयो र बिरामी बिदा छैन भने पनि तपाईंले पाउन सक्नुहुनेछ।

तर, फेरी मानिसहरू सोही कारणले परीक्षण गराउन नै नगएको रिपोर्टहरू मिडियामा आउँदै गर्दा भिक्टोरियाली सरकारले आयमा प्रभाव पर्ने कारणले मानिसहरू कोभिड जाँच गराउन हतोत्साहित नहुन् भन्दै अघिल्लो हप्ता जनही ३०० डलर दिने बताएको हो।

तर, तपाईंले आफ्नो रोजगारदाताबाट आइसोलेसनमा बस्दा कुनै अन्य प्रकारको आर्थिक लाभ गरिरहनुभएको छ भने चाहिँ "प्यानडेमिक पेमेन्ट"का लागि तपाईँ योग्य नहुने भिक्टोरियाली सरकारको भनाइ छ।

यसका साथै, तपाईँले जबसीकर वा जबकीपर बापतका भुक्तानी पनि नपाउने हुनुपर्ने व्यवस्था छ।

Jobseeker Jobkeeper Jobmaker Nepali Infographics
Source: SBS Nepali

भन्नु परोइन, यो सुविधा केवल भिक्टोरियामा बसेर भिक्टोरियामा नै काम गर्नेका लागि मात्र हो।

तर यी भुक्तानी पाउन तपाईँसँग अस्ट्रेलियाली नागरिकता वा पीआर नै हुनुपर्छ भन्ने पनि छैन।

"भाइरसले यो मानिस कुन देशको हो, यसको रेसिडेन्सि स्ट्याटस के हो सोध्दैन," भिक्टोरियाली प्रिमियरले गत हप्ता ३०० डलरको भुक्तानी बारे घोषणा गर्दा एक पत्रकारको प्रश्नको जवाफ दिँदै भनेका थिए।

"भाइरसले भेदभाव गर्दैन, त्यसैले हामीले दिने सुविधा प्रभावित हुने सबै भिक्टोरियालीका लागि हो।"

यी भुक्तानी कोरोना सङ्क्रमित पुष्टि वा तिनीहरूसँग नजिकबाट उठबस भएका र १६ वर्ष उमेर मुनिका बालबालिका तथा किशोर-किशोरीका अभिभावकहरूलाई पनि उपलब्ध छ।

लक्षण त छ, तर जँचाउन जानु भएन भने तपाईँ "प्यानडेमिक पेमेन्ट" बापतको भुक्तानीका लागि योग्य ठहरिनु हुँदैन।

भुक्तानी पाउन के गर्नुपर्छ त?

भुक्तानीका लागि तपाईँ योग्य हुनुहुन्छ जस्तो लाग्छ भने, राज्य सरकारको वेबसाइट मार्फत कि त एउटा अनलाइन फाराम भर्नुपर्छ होइन भने कोरोनाभाइरस हटलाइन (१८०० ६७५ ३९८) मा फोन गर्नुपर्छ।

योग्यता जाहेर गर्न तपाईंले आफ्नो पे-स्लिप वा अधिकार प्राप्त मानिसको रोहवरमा काम गर्छु भन्ने खुलाउने वैधानिक घोषणा (स्टयाचुएरी डेक्लेरेसन) को प्रति र कोरोनाभाइरस परीक्षणको प्रमाण बुझाउनुपर्छ।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे थप जानकारी यहाँ उपलब्ध छ।

रुघा खोकी वा चिसो लागेको लक्षण देखा परे तपाईंले घरमा नै बसेर आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गरी परीक्षणका लागि समय मिलाउनुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो भने वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा भने ००० (ट्रिपल जिरो)मा फोन गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि: 

covid-19.png


Share

3 min read

Published

By Caroline Riches

Source: SBS News



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now