भँगेरा शब्द सुन्दा नै आफै हलुका भएको भान हुन्छ। त्यसमाथि साँच्चैको चरा देख्दा त मनमा रमाइलो लाग्छ।
सानी चरी। बुरुक्क, बुरुक्क उफ्रिने, अनि फुत्त उड्ने। सुकाएको बिस्कुन चोर्ने, ‘ह हा’ भनी कराउँदा उड्ने, तर अटेर गरी फेरि आउने। दिक्क लगाउने, तर त्योभन्दा बढी माया लाग्ने।

पूर्वी तराईमा हुर्केको मलाई भँगेरासँग निकै लगाव थियो। माघ-फागुनको साँझमा पर्खाल माथि लहरै हामी ठिटाहरू जस्तै बस्थे भँगेराहरू पनि। एक आपसमा तिनीहरूले कुरा गरेजस्तो पनि लाग्थ्यो।
हुन त भँगेरा भन्दा आकर्षक अरू धेरै चराहरू हुन्छन्।
मेरो छिमेकीको घरमा रहेको ठुलो जग्गामा छम्म-छम् नाच्दै मयूर हिँड्थ्यो। त्यसको प्रत्येक पाइला लोभ लाग्दो हुन्थ्यो। मकै फल्दा बारीमा आउने हरिया सुगाहरुको रङ्गले हेर्ने मानिसहरुको मननै पोतिदिन्थ्यो।

कोइली चरीको स्वरको त कुरै भएन। तर पनि भँगेराको ठाउँ कसैले लिन सकेन। अमोल पालेकर झैँ सोझो देखिने भँगेरा, आफ्नै परिवारको सदस्य जस्तै लाग्दथ्यो।
पछिल्लो चोटि नेपाल जाँदा त्यति साह्रो भँगेरा देखिन। त्यति याद पनि भएन र खोजी नीति पनि गरिन। चराप्रतिको स्नेह सिध्दिसकेकोले होला।
सांसारिक व्यस्तताले हृदय नै निचोर्दो रहेछ।

तर, हालै उत्तरी अमेरिकाको आकाशबाट ३ अर्व चराहरू गत पचास वर्षमा मासिएको समाचार आउँदा म झस्किएको छु।
फेरि त्यो चराप्रतिको व्याकुलता पलाएको छ।
यसरी आकाश रित्तिनुमा धेरै कारणहरू रहेका छन्। तर मुख्य भने विषादीको प्रयोग र बढ्दो सहरीकरण भनिएको छ।
एकाबिहानै चराले गर्ने चिरबिर चिरबिर पनि योसँगै धेरै कम भएको छ। युरोपमा पनि यो समस्या विकराल हुँदै गएको छ।

अस्ट्रेलियामा शहरहरु बढ्दै जाँदा यो समस्या पनि बढेको अनुमान गरिँदै छ।
२०० वर्ष अघि बेलायतबाट भित्रिएका भँगेराहरू, अस्ट्रेलियाको विभिन्न भागहरूमा पातलिँदै छन्। हालै मात्र ब्रिसबेनमा चराहरू हराएकोमा निकै चिन्ता व्यक्त गरिएको थियो।
नयाँ घरमा रुख-पात रोप्ने ठाउँहरू कम हुने, र उभ्रेको जमिनमा पनि नयाँ भवन बनाउने भएकाले चराले गुँड लगाउने ठाउँहरू बिलाउँदै गएका छन्। बचेरीहरु फस्टाउन पाएकै छैनन्।

तर ३ अर्व चराहरू एउटै महादेश मात्रबाट हराउनु निकै नै चिन्तनिय विषय हो।
विज्ञहरूले यसलाई “महासंकट”नै भनी संज्ञा दिएका छन्।
सन् १९७० देखि राखिएका जानकारीहरू केलाउँदै जाँदा अन्वेषकहरूले स्थितिको गम्भीरता पाएका थिए।
दुई भिन्दा-भिन्दै अध्ययनहरुका अनुसार रसिया र अमेरिकाको पक्षी जनसंख्यामा उल्लेखनीय ह्रास आएको बताईदै गर्दा वैज्ञानिकहरुले यस खोजीलाई समयमै पाएको चेतावनीको रुपमा लिन आग्रह गरेका छन्।

सहरीकरणले गर्दा फैलिएको घरहरूको निर्माणले पक्षीहरुको वासस्थान खोसिएको छ। हरेक नयाँ घर बन्दा - चराहरूको सम्भावित आहार-विहार केन्द्र ध्वस्त हुने गर्छ। संकुचित हुँदै गरेको वातावरणले गर्दा चराहरूले खुल्ला रुपले पखेटा फिँजाउन पाएका छैनन्।
त्यसमाथि विषादीको प्रयोगले अर्को समस्या थपेको छ। रुख-पातमा छरेको कतिपय कडा विषादीले पक्षीहरुमा नकारात्मक प्रभाव पार्ने गरेको छ। उनीहरूको तौल विषादीका कारणले नबढ्ने, जसका कारणले गर्दा अन्तर महादेशीय यात्रा गर्ने चराहरू पनि बिस्तारै शक्ति गुमाउँदै गरेको तथ्याङ्कहरूले देखाएको छ।
विज्ञहरूले यसरी मासिएको चराहरूको सङ्ख्यामा झनै बढोत्तरी हुन नदिन सबै जना सजग हुनु पर्ने आवश्यकता औँलाएका छन्। विषादीको प्रयोगमा कमी, घर बनाउँदा प्रकृतिको संरचनालाई नबिगार्ने लगायतका कुराहरूले- कम्तीमा यो भइरहेको तहसनहसमा केही कमी ल्याउने छ।

घर बाहिर रहेका बिरालोले पनि चरा झम्टर मार्ने भएकाले, बिरालोहरूलाई चरा भएको ठाउँबाट परै राख्न संरक्षणवादीहरुले आग्रह गर्दै आएका छन्। कतिपय चराहरू घरको सिसाको झ्यालमा झुक्किएर ठोकिन पुगी ज्यानै गुमाउने गर्दछन्।
अनि यसै गरी वातावरण-प्रिय भनिने ‘विन्ड फार्म’को पखेटाबाट धेरै चराहरूको ज्यान जाने गरेको छ। यसबारे पनि सोच्न अपरिहार्य भइसकेको छ।
उता, नेपालमा पनि चराहरू हराउँदै गएका छन्। खास गरी काठमाडौँमा त भँगेरा लगायतका साना चराहरूको सङ्ख्यामा निकै नै कमी आएको तथ्य चरा संरक्षणका लागि काम गर्ने एक संस्था – बर्ड कन्जरभेसन नेपालले केही समय अघि बताएको थियो।

पुरानो शैलीमा ईंटाहरुले बनाइने घरहरूमा ठाउँ-ठाउँमा प्वाल हुने गर्थ्यो, जसमा चराहरू सजिलै गुँड लगाउन सक्थे। अहिले चिल्लो प्लास्टर गरिएका घरहरूले त्यो मौका नै खोसिदिएको छ।
त्यसमाथि दूषित हावा-पानीले चराहरू निसास्सिएका छन्। अनि फोहोरको बिगा-बिगीले कागहरूको सङ्ख्या बढाएको छ। कागहरूको आधिपत्यमा भँगेरा लगायतका साना चराहरू टिक्नै सक्दैनन्।
कठै, भँगेराहरू।

प्रकृतिले हजारौँ वर्षहरू लगाएर हामीलाई सुम्पेको उपहारहरू हाम्रै स्वार्थहरूका कारण छिन्न-भिन्न हुँदै छन्। थप नबिगार्ने त जिम्मेदारी छँदै छ, भत्केकोलाई बनाउने पनि हाम्रै काँधमा आएको छ। अन्यथा भावी सन्ततिहरूले शून्य आकाशमा जिउनु पर्ने छ।
चराहरू एक अर्कासँग कुरा गर्दा पनि गीत गाउँदै कुरा गर्छन् भन्ने भनाई रहेको छ। उनीहरूको खोसिँदै गएको अस्तित्वको आधारमा त अहिले गाइने ती गीतहरू पक्कै वियोगको होला भनी अनुमान गर्न सकिन्छ।
