विविधताले भरिपूर्ण देश भारतको एक सुन्दरी प्रतियोगितामा सहभागी सुन्दरीहरू प्राय सबै गोरो वर्णका देखिए पछि सामाजिक सञ्जालहरूमा यसको चर्चा भएको छ।
विश्व सुन्दरी प्रतियोगिताहरूमा बलियो स्थान रहेको भारतको यस वर्षका मिस इन्डियाका प्रतियोगीहरूको तस्बिरले सुन्दरताको प्रतिनिधित्व गोरो वर्णले गर्ने मानसिकता रहेको देखाउने भन्दै बिचारहरू राखिएका छन्।
यसलाई कतिपयले गोलो छाला प्रतिको अशक्तता भनेका छन् भने कतिपयले सुन्दरी प्रतियोगिताहरू समावेशी बन्न नसकेको आरोप लगाएका छन्।
यो सब चर्चाको सुरुवात एउटा ट्विटर पोस्टबाट भएको थियो।
समीर सेवकले ट्विटरमा 'यो तस्बिरमा के गलत रहेको छ ?' भन्दै प्रश्न सहित मिस इन्डियाका प्रतियोगीहरूको तस्बिर राखेका थिए।
र उनको त्यो पोस्टमा धेरैले आ-आफ़्नो तर्क राख्दै रि पोस्ट गरेका छन्।
एउटा पोस्टमा मिस इन्डियाका प्रतियोगीहरूको समान कपाल, समान छालाको रङ्ग रहेको भन्दै सायद उचाइ र भाइटल स्टेटस पनि एकै हुन सक्ने अनुमान गरिएको छ, र अन्त्यमा भनिएको छ 'विविधता' भएको भारतको लागी "यो त अत्ति भयो।"
त्यस्तै अर्का ट्विटर प्रयोग कर्ताले व्यङ्ग्यात्मक ढङ्गबाट प्रश्न सोधेको पोस्ट देखिन्छ।
"यो वर्षको मिस इन्डियाको उपाधि कसले जित्ला?"
"यति धेरै विविधता भएको समूहबाट कसरी छान्नु?"
त्यसै गरी समीर सेवकको पोस्टमा रहेको प्रश्नको जवाफ दिँदै एक महिलाले लेखेकी छन्, 'मेकअप आर्टिस्टलाई त एउटै शेडको फाउन्डेसन प्रयोग गर्नु पर्दा आनन्द आएको होला।'
मिस इन्डिया प्रतियोगिताबाट भारतीय सिने क्षेत्रले निकै चर्चित नामहरू प्राप्त गरेको छ।
ऐश्वर्य राय बच्चन, प्रियङ्का चोपडा, सुष्मिता सेन, लारा दत्त लगायतले चलचित्र क्षेत्रमा पाएको स्थानका कारण पनि भारतीय युवतीहरूमा मिस इन्डियाको क्रेज रहने गरेको छ।

कलकत्ताको एक स्थानीय प्रेसले १९४७ पहिलो पटक मिस इन्डियाको आयोजना गरेको थियो। पहिलो मिस इन्डिया बनेकी थिइन कलकत्ता कै प्रमीला (एस्थर भिक्टोरिया अब्राहम)
स्थापना देखि धेरै सुधारहरूका साथ मिस इन्डियाका विजेता र उपविजेताहरूले बिस्तारै अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगितामा भारतको प्रतिनिधित्व मात्र गरेनन् धेरै सुन्दरी उपाधिहरू समेत हात पारे।
प्रमुख अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिताहरू मध्ये बहु चर्चित मिस वर्ल्ड मा ६ पटक उपाधि विजेता बनेको भारतले मिस युनिभर्समा २ पटक र मिस अर्थमा १ पटक उपाधि भारत ल्याउन सफल भएको छ।
२०१७ मा पनि भारतीय मानुषी चिल्लरले विश्व सुन्दरी प्रतियोगिताको उपाधि जितेकी थिइन ।
२०१९ मा मिस इन्डियामा सहभागी हुने उत्कृष्ट ३० प्रतियोगीहरूको तस्बिर द टाइम्स अफ इन्डियामा प्रकाशित भए पछि सुन्दरताको प्रतिनिधित्व गोरो छालाले गर्ने सोच देखिएको भन्दै प्रतियोगी छनौट प्रक्रियामा नै प्रश्न उठाइएको थियो।
तर बिबिसी सँग कुरा गर्दै मिस इन्डियामा प्रतियोगिताकी सौन्दर्य विज्ञ शमिता सिंघले हतार र पत्रिकाको छपाइको गुणस्तरका कारणले मात्र सबै एउटै रङ्गको देखिएको बताएकी छन्।
जे जस्तो कारणले सबै प्रतिस्पर्धी समान देखिए पनि यिनै ३० प्रतिस्पर्धीहरू मध्ये एक जनाले आगामी डिसेम्बरमा थाइल्याण्डमा हुन गइरहेको विश्व सुन्दरी प्रतियोगितामा भारतको प्रतिनिधित्व गर्ने भने पक्का छ।
