सिड्नीको पश्चिमी क्षेत्रमा बस्नेहरूका लागि लेकेम्बा स्थित होल्डन स्ट्रिटमा रमदानका बेला लाग्ने रात्रि मेला नौलो होइन।
तर यस बारेमा थाहा छैन भने चाहिँ यहाँ पुग्नै पर्ने केही कारणहरू छन्।
दक्षिण एसियाली र मध्य पूर्वी खानाका ७० भन्दा बढी स्टल रहने रात्रिकालीन बजारमा पुगेर स्वाद लिनै पर्ने खानाका परिकार चाहिँ के-के होलान् त?

आजकाल घाम डुब्ने बित्तिकै लेकेम्बाको होल्डन स्ट्रिट, निकै अपत्यारिलो तरिकाले सजिन थालेको छ।
सडक भरी राखिएका विभिन्न खाले खानाका स्टलहरू।
अनि रातीमा बालिएका बत्तीहरूको चकमन्न उज्यालो।
त्यहाँ पहिलो पटक पुग्नेलाई यो अस्ट्रेलिया नभएर अन्त कतै पो हो कि भन्ने पनि भान हुन्छ।
“यो त भिन्नै देश जस्तो पो लाग्छ,” त्यहाँ पुगेका एक व्यक्तिले भने।
१७,००० हजार मानिसको बसोबास रहेको सिड्नीको दक्षिण पश्चिममा पर्ने सर्बबका करिब ६०% बासिन्दा मुसलमान समुदायका छन्।
तर रमदानको अवसरमा भने करिब १२ लाख मानिसहरू भित्र्याउने लक्ष्य क्यानटेरबेरी–व्यान्कस्टाउन काउन्सिलले लिएको छ।
रमदानका बेला मुसलमान समुदायका मानिसहरू दिनभर व्रत बस्ने र सूर्यास्त भएपछि मात्र भोजन गर्दछन्।
यसैले पनि सूर्यास्त पछि खानाका ७० भन्दा बढी स्टलहरू लेकेम्बामा राखिएका छन्।
तर यो बजार सबै समुदायका लागि उत्तिकै महत्त्वको भएको स्थानीय मेयर खल अस्फुर बताउँछन्।
“यो बजार अस्ट्रेलियाका सबै समुदायका लागि उत्तिकै महत्त्वपूर्ण छ,” उनले भने।
“हामी सबैले सँगै मनाउनेछौ।”
त्यसो भए होल्डन स्ट्रिट मेलाका विशेषता के हुन त?
आइकोनिक क्यामेल बर्गर
१७ वर्ष अघि होल्डन स्ट्रिटमा मेला लाग्दै गर्दा निकै स्वादिलो मानिएको क्यामेल बर्गर अहिले पनि त्यहाँ आउने मानिसहरू स्वादले खान्छन्।
फेस्टिभलका सहयोजनाकार समेत रहेका अब्दुल ओबिदले तयार पर्ने बर्गर होल्डेन स्ट्रिटकै सबैभन्दा परिचित खाने कुरा भएको उनको दाबी छ।
सिक्रेट सस् राखेर तैयार पारिने भएकाले क्यामेल बर्गर अन्य बर्गरको तुलनामा निकै धेरै मिठो हुने उनको भनाई छ।
अस्ट्रेलियाका चर्चित डिजे मिस्ता सी, क्यामेल बर्गरकै कारण आफू हरेक वर्ष मेलामा जाने बताउँछन्।
“क्यामेल बर्गर त्यो पनि रातिको २ बजे, वाव” उनी आठ वर्ष अघि पहीलोपटक होल्डेन स्ट्रिट मेलामा आएको कुराको सम्झना गर्छन्।

मुर्ताबक
यता अर्का व्यवसायी अनवर साहको स्टलमा पाउने अर्को चाख्नै पर्ने परिकार चाहिँ मुर्ताबक हो, माताबक वा मुग्ला पारथायी पनि भनिने यो परिकार चाहिँ पराठा रोटी जस्तै हो, जसमा स्वाद अनुसार चिकेन, अन्डा, अन्य मासु वा तरकारी हालेर तयार पारिन्छ।
सिंगापुर, मलेसिया, यमन र बङ्गलादेशमा समेत यो परिकार चर्चामा छ।

भाइरल बनेको- नाफी
अहिले सामाजिक सञ्जालमा समेत भाइरल बनिरहेको मोहम्मद जार्काको चिजले भरिएको खाना पनि होल्डन स्ट्रिटको स्वादिलो परिकार भित्र पर्दछ।
केसरवाला चिज र पिस्ता राखिएको उक्त खाना ३० वर्षदेखि बिकिरहेको जार्काको भनाई छ।

सामाजिक संजालमा उनको परिकारले निकै चर्चा समेत कमाएको छ।

गुलाब जामुन
होल्डेन स्ट्रिटको अन्तिम तिरको स्टलमा पाइने गुलाब जामुनले पनि त्यहाँ पुग्ने सबैको मन एक पटक तान्ने गर्दछ।
दूध पाउडरबाट बन्ने उक्त खानेकुरालाई पछिल्लो समय अस्ट्रेलियालीहरूले पनि मन पराउँदै गएको डेकन फ्लेबर्सका मोहम्मद खान बताउँछन्।
“यो त अब बिस्तारै अजी खाना हुदैछ,” खानले गुलाब जामुनको तारिख गरे।
मोहम्मद खानको स्टलमा पाइने अर्को स्वादिलो खाना चिकेन टिक्का पनि हो।

काश्मीरी चाय
होल्डेन स्ट्रिटमा आफ्नो आँखै अगाडी तयार पारिँदै गरेको काश्मीरी चायले पनि धेरैको ध्यान तान्ने गर्दछ।
नवाज रेस्टुरेन्टले नुन, विभिन्न खाले बदाम, सोडा र दूध मिसाएर करिब ९ घण्टा पकाएर बनाइने गुलाबी रङ्गको चियाले धेरैको ध्यान आकर्षण गर्न सक्छ।

काश्मीरबाट आएको भए पनि यो चियालाई भारत र पाकिस्तानमा निकै रुचाइन्छ।

भर्खरै अस्ट्रेलिया आएका पर्यटक र विद्यार्थी एवम् आप्रवासी पनि लेकेम्बा स्थित होल्डन स्ट्रिट पुग्दा छक्क पर्ने गरेका छन्।
दुबईबाट एक महिना मात्र अघि अस्ट्रेलिया आएकी याश्मीनलाई रमदानमा अस्ट्रेलियामा देखिएको माहोलले निकै उत्साहित बनाएको छ।

“म यति बलियो रूपमा सबै खाले समुदायका मानिसहरूको उपस्थिति देखेर अचम्म परेकी छु, यसले निकै ऊर्जा दिएको छ।”
लेकेम्बाको रमदान रात्रि मेला २१ मार्चदेखि २० अप्रिलसम्म हरेक अपराह्न ४ बजेदेखि बिहान ३ बजेसम्म लाग्ने गर्दछ।
