मुख्य बुँदा
- फिफा विश्वकपका खेलहरू यस अघि भन्दा लम्बिएका छन्।
- इङ्ग्ल्यान्ड र इरानबिचको खेल ११७ मिनेट चलेको थियो।
- इन्जुरी र अन्य कारणले हुने समयको बर्बादीलाई भरपाई गर्ने कोसिस गरिएको छ।
यस पटकको विश्वकपका दर्शकहरूले खेलको अवधि यस अघि भन्दा केही लम्बिएको अनुभव गरेको हुनुपर्छ।
सामान्यतया फुटबल टुर्नामेन्टमा ४५ मिनेटको फर्स्ट हाफ र ४५ मिनेटको दोस्रो हाफ गरी ९० मिनेटमा खेल सकिन्छ।
तर खेलमा इन्जुरी र स्टपेज टाइम भनिने बेला बेलामा विभिन्न कारणले खेल रोकिने समयलाई भरपाई गर्नका लागि प्रत्येक हाफमा अतिरिक्त समय जोडिने गर्दछ।
तर यस पटकका अधिकांस खेलहरू परम्परागत ९० मिनेट भन्दा लामा लाग्छन्।

अहिलेसम्मको खेललाई हेर्ने हो भने स्टपेज टाइम भन्दै तीन घण्टा भन्दा बढी समय विश्वकपका खेलमा दिइसकिएको छ।
यो भनेको दुई वटा खेल बराबरको समय हो।
हाल सम्मकै लामो खेल भने इरान र इङ्ग्ल्यान्डबिचमा भएको खेल हो, ६–२ गोल अन्तरमा इङ्ग्ल्यान्डले जितेको खेल करिब २ घण्टासम्म चलेको थियो।
उक्त खेलमा पहिलो हाफमा १४ मिनेट समय थप गरिएको छ भने दोस्रो हाफमा १३ मिनेटको समय थप हुँदा ११७ मिनेट १६ सेकेन्ड लामो खेल भएको देखिन्छ।

म्याचको लम्बाइका बारेमा फिफा के भन्छ?
गोल गरेपछिको एक छिनको अवरोध होस् या चोटपटकका कारण खेल केही बेर रोकिन सक्ने स्थिति।
भिडियो रेफ्रि, छलफल, खेलाडी परिवर्तन, पेनाल्टी, रातो र पहेँलो कार्ड जस्ता विभिन्न कारणले खेल केही बेर अवरुद्ध हुने गर्दछ।
यसका बारेमा फिफाले दर्शकलाई पनि स्पष्ट पारेको छ।
“गोल गरेपछि खेलमा करिब एक–डेढ मिनेट नै ढिलाइ हुन्छ, र प्रत्येक गोलमा अवरोध हुँदा यो समय पनि लम्बिँदै जान्छ, यसको भरपाई खेलको अन्त्यमा गर्नुपर्छ,” फिफाको रेफ्रिक कमिटीका अध्यक्ष पेरलुगी कोलिनाले भने।

उनका अनुसार सन् २०१८ रसियामा भएको विश्वकपका दौरान खेलको निर्धारित सक्रिय समयलाई कायम राख्ने प्रयासलाई यस पटक दोब्बर बनाइएको छ।
“रसियामा खेल हुँदा, विभिन्न कारणले गुमेको समयलाई भरपाई गर्नका लागि हामीले ६, ७ वा ८ मिनेटसम्म थपेका थियौ,” विश्वकपका पूर्व रेफ्रि कोलिनाले भने।
“यसरी सोच्न सकिन्छ, जस्तो कि पहिलो हाफमा तीन गोल भयो भने गोलको खुसी मनाउँदै ४, ५ मिनेट गइहाल्छ।”
कोलिनाका अनुसार सटिक रूपमा भन्नुपर्दा स्टपेज टाइमको गणना गर्नुको अर्थ “विश्वकप हेर्नेहरूलाई थप सो प्रस्ताव गर्नु पनि हो,”।
“हामीले हाम्रा रेफ्रिहरुलाई बिचमा गुमेको समय खेलमा फिर्ता गर्नका लागि समयको गणना गर्दा ध्यान दिन निर्देशन दिएका छौ,” उनले भने।
“खेलको सक्रिय समय केवल ४२, ४३, ४४ या ४५ मिनेट मात्रै हुने अवस्थालाई हामीले हटाउने कोसिस गरेका छौ, यो हामीलाई स्वीकार्य पनि छैन,” उनले भने।
