सिड्नीको मध्य व्यापारिक क्षेत्रमा भएको छुरा हमलामा एक महिलाको मृत्यु र एक महिला घाइते भएको प्रहरी द्वारा बताइएको छ।
न्यु साउथ वेल्स प्रहरीका अनुसार उक्त हमलाको आरोपमा पश्चिम सिड्नीको म्यारेयोंग नामक सबर्बमा बस्ने २१ वर्षीय पुरुषलाई पक्राउ गरिएको छ।
एक महिला माथि छुरा प्रहार गरेको र अन्य मानिसहरु माथि हमला गर्ने प्रयत्न गरेको बताइएका एक पुरुषलाई प्रहरी द्वारा हिरासतमा लिइएको समाचार आइरहंदा नजिक रहेको क्लारेन्स स्ट्रीट स्थित एक अपार्टमेन्टमा एक महिलाको शव भेटिएको थियो।
न्यु साउथ वेल्स प्रहरीका अनुसार करिब ३:१५ मा उक्त महिलाको शव भेटिएको हो।
प्रहरी प्रवक्ताका अनुसार छुरा प्रहारको घटना र उक्त महिलाको मृत्यु बीच सम्वन्ध रहेता पनि पीडित महिलाहरु बीच चाहिं कुनै सम्बन्ध रहेको छैन।
सहर स्थित एक होटेलमा भएको हमलामा घाइते भएकी एक महिलालाई उपचारको लागि अस्पताल लागिएको पनि प्रहरीको भनाइ छ।
पक्राउ परेका पुरुष माथि एक हत्या र एक हमलाको आरोप लगाइने पनि प्रहरी द्वारा बताइएको छ।
घटनास्थल नजिक रहेका आम मानिसहरुले कथित हमलावरलाई आफ्नो नियन्त्रणमा लिइएको प्रहरीको अधिकारीले बताए।
त्यसपछि प्रहरीले उक्त व्यक्तिलाई हिरासतमा लिइएको हो।
सिड्नी समय अनुसार अपरान्हको २ बजे तिर आफ्नो हातमा छुरा बोकेका एक पुरुष योर्क स्ट्रीटमा देखिएको रिपोर्ट आए पछि प्रहरीका साथै एम्बुलेन्स र दमकलहरु पनि त्यहाँ पुगेका थिए।
यसका साथ् सामाजिक सञ्जाल मार्फत न्यु साउथ वेल्स प्रहरीले सहरको किंग र क्लारेन्स स्ट्रिटमा नजान स्थानीयहरू समक्ष आग्रह गरेको थियो।
उक्त घटनाबारे पत्रकारहरुसँग कुरागर्दै न्यु साउथ वेल्स प्रहरीका ग्याभिन वूडले भने कि उक्त हमलाको कारण बारे जानकारी नरहेता पनि अहिलेको लागि खतरा टरेको छ।
वूडले उक्त पुरुषलाई आफ्नो नियन्त्रणमा लिने आम मानिसहरुको बहादुरीको पनि प्रसंसा गरेका थिए।
